काठमाडौं, नेपाल ।
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले आईतबार आफ्नो पार्टि सरकारबाट बाहिरिने निर्णयसँगै पार्टि कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनका क्रममा अपेक्षा गरिएभन्दा फरक रुपमा प्रस्तुत भएका लामिछाने कान्तिपुर अनलाईनकै हेडलाईन अनुसार मिडिया माथि खनिए ।
मिडियामाथि खनिने क्रममा पूर्व संचारकर्मी रहेका रवि लामिछाने मुलधारका भनिने एक दर्जन मिडिया र नाम चलेका केही पत्रकारसँगै कान्तिपुर मिडिया, संचालक कैलास सिरोहिया, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिल भुषण पाठकहरुमाथि पनि खनिए ।
आफ्नै मिडिया, साहुजी, सम्पादकहरुमाथि खनिंदा कान्तिपुरले घुमाउरोगरि 'सत्ताबाट बाहिरिनु पर्दाको रिस मिडियामाथि पोखे' भन्ने सन्देश समाचारबाट दिन खोजेको छ । तर लाजमर्दो कुरा मिडियामाथि त खनिए 'के कुरा र आरोप लगाएर खनिए ?' भन्ने लेख्ने हिम्मत कान्तिपुरले गरेको छैन ।
अन्य मिडियाको हकमा नभएपनि आफ्नै मिडिया, सम्पादक लगायत बरिष्ठ पत्रकारहरु र आफ्नै साहुजिमाथि लागेको आरोपको विषय उठान समेत गर्न कान्तिपुरले हिम्मत गरेको छैन । रवि लामिछानेले आरोप लगाएका मुद्दाको खण्डन गर्न त परको कुरा ।
कान्तिपुरले अनलाईनमा समाचार लेख्दै भनेको छ 'उनले कतिपय मिडियाको नाम नै किटान गरेर नानाभाँती आरोप लगाएका छन् ।'
'नानाभाँती' भन्ने शब्दको नेपाली शब्दकोषमा अर्थ खोज्ने हो भने 'जथाभावी मुख छाड्नु, गाली गर्नु, कटुवचन तथा दुर्वाच्य/उपशब्द बोल्नु र दुर्व्यवहारपूर्ण, अपमानजनक बोली बोल्नु हो ।'
कान्तिपुरले भनेजस्तै रवि लामिछानेले 'जथाभावी मुख छाडेर गाली वा दुर्व्यवहारपूर्ण अपमानजनक बोली बोलेको' हो भने 'के कुरा र विषय बोलेको ?' लेख्ने आँट र हिम्मत गर्नुपर्दथ्यो, वा त्यसलाई पुष्टि गर्नेगरि विवरण दिनु पर्दथ्यो । तर कान्तिपुरले खुट्टा कमाउँदै त्यसको एक शब्द उच्चारण गर्ने आँट समाचारमा कतै गरेको देखिएन ।
समाचारमा कान्तिपुरले लेखेको छ 'उनले कतिपय मिडियाका सञ्चालकको नाम किटान गर्दै चुनावी प्रतिस्पर्धामा आउन पनि चुनौती दिए ।'
यतिसम्म लेखिसकेपछि कान्तिपुर जत्तिको मिडियाले हिम्मत गर्नु पर्दथ्यो कि 'कतिपय भनेको कुनकुन मिडियाको नाम किटान गरेको हो, अनि कस कसलाई चुनावी प्रतिस्पर्धामा आउन चुनौती दिएको हो ?' केहि विवरण लेख्ने हिम्मत कान्तिपुरमा देखिएको छैन । हुन पनि कसरी होस् आफ्नै मिडिया, आफ्नै सम्पादक र साहुजिको नाम लेख्ने ल्याकत नेपाली पत्रकारहरुसँग होस पनि कहाँ ?
समाचारको भित्रिकुरा केही लेख्ने हिम्मत नगरेपनि सहती कुरा राख्दै लामिछानेलाई नंग्याउने गरि समाचारको 'एंगल' दिन भने कान्तिपुरले छाडेको देखिंदैन । समाचारमा अगाडी लेखेको छ 'देश बिग्रनुमा पनि प्रमुख भनिएका मिडियाको हात रहेको लामिछानेले पत्रकार सम्मेलनमा आरोप लगाए । यस क्रममा लामिछानेले आफूले जनताको भलाइका लागि काम गरिरहँदा मिडियाले भने आफूलाई पाखा लगाउनमा मात्रै केन्द्रित रहेको आरोप सम्मेलन भर दोहोर्याइ रहे ।'
लामिछानेले पत्रकार सम्मेलनमा आरोप मात्र होइन केही प्रमाण सहित बोलेको भन्ने विवरण चाहिँ कान्तिपुरले देखेनछ, सायद त्यहि भएर समाचारमा अन्तिमतिर लेखेको छ 'लामिछानेले पत्रकार सम्मेलनको सुरुमै आफू 'मिडिया इथिक्स' र 'कन्फ्लिक्ट अफ इन्टरेस्ट'बारे बोल्ने भन्दै मिडियामाथि आरोप लगाएका थिए ।
तर समाचारमा कतैपनि कान्तिपुरले मिडिया ईथिक्स भुलेर चन्द्रागिरि हिल्सको समाचारमा लाभ कसरी लियो र 'कन्फ्लिक्ट अफ इन्टरेस्ट'मा कान्तिपुरका मालिक कैलाश सिरोहियाका जेठो छोराले मादक पदार्थ सेवन गरेर आफैंले चलाएको गाडिको ठक्करबाट मान्छे घाईते बनाएर कसरी फर्जी व्यक्ति खडा गरि घटना सामसुम बनायो भन्ने रवि लामिछानेले प्रस्तुत गरेका प्रमाण कतै उल्लेख गर्न नठान्नु कान्तिपुरको बदमासी कि रवि लामिछानेको 'नानाभाँती' आरोप ?
यो बाहेक रवि लामिछानेले व्यवसायी अजेयराज सुमार्गीको घर जग्गा हत्याउन कान्तिपुर र मालिक कैलाश शिरोहियाले दिएको दबाव र मिडिया हाउसको दुरुपयोग गरि खेदो खनेको गम्भिर प्रशंग पत्रकार सम्मेलनमा उठाएका थिए । तर कान्तिपुर मिडियाले यि सबै विषय र मुद्दालाई समाचारको कुनैपनि भागमा एक शब्द उच्चारण गर्ने आवश्यकता देखेको छैन ।
स्मरणिय छ कान्तिपुर मिडिया हाउसका मालिक कैलाश सिरोहियाले काठमाडौं महानगरपालिका वडा नंं. १० स्थित कित्ता नं.३१८ को नौ रापनी चार आना जग्गा किनिदिन अनुरोध गरेपछि सुमार्गीले उक्त जग्गा किनेको र त्यसपछि सम्बन्ध बिग्रंदा खरिद गरिएको २३ करोड २१ लाख १२ हजार रुपैयाँमा नै रिसोहियाले फिर्ता मागेका थिए ।
पछि किनेको मोलमा जग्गा दिन नसक्ने बताएपछि सिरोहिया सुमार्गी विरुद्ध लागेका थिए । सिरोहियाले नियोजित रुपमा सुमार्गीसँग 'ब्ल्याकमेल' गर्न कान्तिपुर दैनिक, द काठमान्डु पोस्ट र टेलिभिजनमा सुमार्गी विरुद्ध प्रचार गरेका थिए ।
कान्तिपुरले २०७४ पुस ९ को अंकमा ‘सुमार्गीको २२ अर्ब अवैध’ शीर्षकमा कपोलकल्पित र सुमार्गीलाई बदनाम गर्न समाचारनै प्रकाशन गरेका थिए ।
सायद कान्तिपुरले 'कन्फ्लिक्ट अफ इन्टरेस्ट' के हो ? भन्ने बारेमा 'रवि लामिछानेमाथि गृह मन्त्रालय सम्हालेको' र 'कान्तिपुरले यि विषयहरुलाई गुपचुप राखेर मालिकको रक्षा गरेर उदाहारण पेश' गरेको हुनुपर्छ ।