शेर्पा जातिहरूको बृहत्तर हकहितका लागि देश बिदेशमा संख्यात्मक रूपमा संस्थाहरू स्थापना हुनु आफु पनि शेर्पा भएको नाताले खुसीको कुरा हो । तर स्थापित संघसंस्था र तिनका अगुवा गर्नेहरू ग्याल्पो ल्होसार र महाधिबेशनको बेलामात्र औंसी पुर्णिमाको जुन झै झुल्किने गर्दछन् । बर्षभरि संस्था र संस्थाको नेतृत्व गर्नेहरु कहाँछन् भनेर खोज्दा पनी भेटिन मुस्किल पर्छ । तर ल्होसार र महाधिवेशन लगायत विशेष कार्यक्रम गर्नुपर्दा भने शेर्पा समुदाय खोजि खोजि हिँड्छन् उल्टै संस्थाको नेतृत्व गर्नेहरु ।

३६५ दिनमा अगुवा भनाउदाहरुले सायद २ दिनमात्र होला शेर्पा जातिहरूलाई राज्यले पछि पार्यो भन्दै रोइलो गरेर पहिचानको कुरा गर्दै भाषण गर्ने । के बाँकी ३ सय ६३ दिन चाहिँ राज्यले सम्मान गरिरहेको छ हामीलाई वा २ दिन मात्र राज्यले पछि पारेको भए किन कुर्लिनु पर्यो ?
उपलब्धि मुलक काम, ठोस योजना, भावी कार्य योजना केही नभएका अझ भन्नु पर्दा संस्थाको नाम भजाएर खाने मात्र त्यस्ता संस्थाहरू जन्मिनुभन्दा गर्भ मै तुहिएपनि जाती भन्ने अवस्था आईसकेको छ ।
ल्होसार आउन लागेपछि अनेक कार्यक्रमका नाममा पैसा उठाउन चन्दा आतंक मच्चाउने, महँगो शुल्क, अनावश्यक तडकभडक, देखासिकी र सामान्य मितव्ययी समेत बन्ने कुनै लक्षण नभएका यस्ता संस्थाहरुका कारण समग्र समुदायको छविमा नै कालो दाग लाग्न थालेको छ ।

जसले गर्दा आम शेर्पा समुदायले गर्व गरेर कुनैपनि संघसंस्थामा आवद्ध हुन धेरै सोचबिचार गर्नुपर्ने अवस्था आईपरेको छ ।
ल्होसारको दिनमात्र जनमास बटुलेर महँगा महँगा कोचेनका आंगी बख्खुमा सजिन बाध्य पारी हातगाँसेर स्यब्रु नाँच्न लगाउँदैमा शेर्पा संस्कृतिको संरक्षण हुने भए ल्होसार लार्इ चाडको रुपमा होइन दिवसको रूपमा मानेपनि फरक पर्दैन ।
कार्यक्रमहरू आयोजना हुँदा लागेको लागत र प्राप्त सहयोग तथा आम्दानीहरू आम शेर्पासमुदायले कहिल्यै पाउन सकेका छैनन् । यतिसम्मकी सहयोगी दाताले आफुले गरेको सहयोग बारे सूचना कतै भेट्दैनन् भने कति रकम उठाए र खर्च गरे भन्ने थाहा पाउँदैनन् ।
चाडपर्व मनाउने नाममा खल्ती भर्ने मात्र सोच हो भने भन्नु केही छैन । तर शेर्पा समुदायको नाम भजाएर धर्म र संस्कृतीको नाममा व्यापार नगरियोस् । कम्पनि खोलेर ब्यबसायिक ल्होसार भनेर आयोजना गर्दा राम्रो त्यसमा कसैको केही भन्नु छैन ।
शेर्पा जातिहरूको हकहितका लागि स्थापित संस्थाहरूले ल्होसार मनाउनुहुन्न भन्ने मनासय पटक्कै होइन । ल्होसार शेर्पा समुदायले मिलेर सौहर्दताका साथै सबै नेपाली समुदायसँगै मिलेर मनाअौं । तर ल्होसार मनाउने नाममा व्यापार अनि अरू दिनमा बेखवर हुने संस्थाका नेतृत्वमा रहनेहरु हुनु भएन ।

संस्थाले शेर्पा समुदायको चाड मात्र आयोजना गर्नुपर्छ, ल्होसार मात्र मनाउनुपर्छ भन्ने पनि केही छैन । बिश्वब्यापीकरणको जमानामा समुदाय र देशको माग र आवश्यकतालाई आत्मसाथ गरेरसचेतना तथा जनजागरण अभियान, बिभिन्न सीपमुलक तथा जीवन उपयोगी तालिमहरू, जातिय पहिचान जीवन्त राख्न महत्वपुर्ण स्थानहरूमा शालिक तथा संग्रहलायहरूको स्थापना लगायत काम पनि गर्न सकिन्छ ।
शेर्पा जातिका नाममा खुलेका संस्थाहरूले यी र यस्ता कार्यक्रमहरू गरेको बिरलै सुन्ने गरिन्छ । यस्ता कार्यक्रम गर्दा शेर्पा समुदायलाई मात्रै लक्षित गरेर पनि गर्नुपर्दैन अन्य समुदाय र पिछडिएका समुदायहरूपनि लाभान्वित हुनेगरि कार्यक्रम गरिएमा शेर्पा समुदाय सबै समुदायका लागि भन्ने सौहार्द भावना अन्य समुदायमा समेत पैदा हुन्छ । जुन समग्र शेर्पा समुदायको लागि गर्वको कुरा हुनेछ ।
शेर्पा समुदायमा शिक्षित, प्रतिभावना युवा जनशक्ति नभएको होईन । तर बिदेश पलायन अनि शेर्पा समुदायको नाममा खुलेका संस्थाहरुले उनिहरुलाई समेट्न नसक्दा शेर्पा समुदायमा नै प्रतिभावान र शिक्षित युवाहरू छैनन् कि भन्ने देखिन थालेको छ ।

एउटा जिल्लामा एउटा एनजिअो आइएनजिअो चलाउन स्नातक तह उत्तिर्ण गरेको शेर्पा युवाहरू खोज्दा पाउनै मुस्किल पर्न थालिसकेको छ । अनि कसरी सम्भव छ शेर्पा समुदायको हित तथा हाम्ले माग्ने गरिएको स्वायत्त प्रदेश । कुनै समय शेर्पाहरु राज्यबाट पछि पारिएको सत्य हो तर नेतृत्व सम्हाल्न तथा दाबी गर्ने समयमा क्षमतावान शेर्पा युवा नहुँदा राज्यको प्रशासनिक निकायमा शेर्पा समुदाय नगन्य मात्रामा देखिन थालेका छन् ।
शेर्पा भएकै कारण अवसरको माग गर्न त सिकायौं तर एउटा बाहुनको छोराले जस्तै पानी खाएर टुपी कसेर अध्ययन गर्न तथा ज्ञान आर्जन गरेर क्षमतावान बन्न हामीले कति अभिप्रेरित वा बोध गराएका हाम्रो भावी पुस्ताहरुलाई कहिल्यै आत्मसाथ गरेका छौं ? यो हामी सबैले सोच्नै पर्ने र आम्रा कार्यशैलि, योजना र दिर्घकालीन शेर्पा समुदायको हितको लागि सोच्नै पर्ने बेला आएको छ । मतलब पछि पारियो भनेर अरूलाइ दोष लगाउनुभन्दा के कारणले हामी अझैपनि पछि परिरहेका छौं के त्यो बुझ्नु र आत्मसाथ गरेर अघि बढ्नु बुद्धिमता होइन र ?
थुजिक्षे टसिदेलेक