(Japan) 18 th April | 2026 | Saturday | 11:30:35 AM || (Nepal) 8:15:35 AM
 
 


स्ट्रेट अफ हर्मुज खुलेपछि विश्व तेल बजारमा राहत, मूल्यमा उल्लेख्य गिरावट

  POSTED ON : Saturday, 18 April, 2026 | Views : 144

स्ट्रेट अफ हर्मुज खुलेपछि विश्व तेल बजारमा राहत, मूल्यमा उल्लेख्य गिरावट


एजेन्सी ।

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच अत्यन्तै महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा सञ्चालनमा फर्किएसँगै अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा उल्लेख्य राहत देखिएको छ। एसिया लगायत विश्वभर इन्धन आपूर्तिको मुख्य मार्गका रूपमा रहेको यो जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९८ अमेरिकी डलरबाट घटेर ८८ डलर आसपासमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


पछिल्लो समय इरान र इजरायल बीच बढेको तनाव तथा अमेरिकाले इजरायलसँग मिलेर इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था जटिल बनेको थियो। करिब डेढ महिनाअघि अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि इरानले प्रतिक्रिया स्वरूप स्ट्रेट अफ हर्मुज क्षेत्रमा जहाज आवागमनमा अवरोध सिर्जना गर्दै आएको थियो । यसका कारण विश्वभर कच्चा तेल आपूर्ति प्रभावित भई मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो ।


तर पछिल्लो समय लेबनल र इजरायलबीच युद्धविराम लागू भएपछि तनाव केही कम भएको छ। त्यससँगै इरानले पनि रणनीतिक रूपमा स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको हो। साथै, अमेरिका र इरानबीच दुई साताका लागि अस्थायी युद्धविराम घोषणा गरिएपछि क्षेत्रीय स्थिरताको संकेत देखिएको छ।


विश्लेषकहरूका अनुसार यो समुद्री मार्ग खुलेसँगै विश्व बजारमा तेल आपूर्ति सहज हुने भएकाले इन्धनको मूल्य थप घट्न सक्ने सम्भावना रहेको छ। विशेषगरी एसियाली देशहरू, जसले अधिकांश कच्चा तेल यही मार्गबाट आयात गर्छन्, उनीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।


यद्यपि, मध्यपूर्वको भू-राजनीतिक अवस्था अझै संवेदनशील रहेकोले कुनै पनि समय पुनः तनाव बढ्न सक्ने जोखिम कायम नै रहेको अन्तर्राष्ट्रिय विज्ञहरूले चेतावनी दिएका छन्।