फुकुओका, जापान ।
जापानको फुकुओका प्रिफेक्चरमा प्रहरीहरुले एक जना महिलालाई पक्राउ गरेका छन् । आफूले मन पराएको एक पुरुषलाई छुरा हान्ने धम्की दिएको आशंकामा प्रिफेक्चरल प्रहरीको यानागावा प्रहरी थानाले ३९ वर्षकी मिचियो साकाकी नाम गरेकी महिलालाई पक्रिएको हो ।
संदिग्ध यानागावाको बासिन्दा भएको र उनी नगरको शिक्षा समितिमा काम गर्ने बताइएको छ । पीडित भने रियल इस्टेट कम्पनीका कर्मचारी भएको बताइएको छ ।
साकाकीलाई अरुको चियोचर्चा वा पिछा गर्नु नहुने कानूनको उल्लंघन गरेको आशंकामा अक्टोबर २८ मा पक्राउ गरिएको थियो । उनले फुकुओका प्रिफेक्चरमै बस्ने एक जना २९ वर्षका पुरुषलाई तीन दिनको अवधिमा ४०० भन्दा धेरै म्यासेज पठाएकी थिइन् ।
अक्टोबर ८ देखि १० को बीचमा साकाकीले ती पुरुषलाई ४१३ ओटा म्यासेज पठाएकी थिइन् । यीमध्ये एउटामा भने ‘एक शब्दमा भएपनि जवाफ देउ’ भनेर भनेकी थिइन् ।
अक्टोबर २८ को बिहान उनले ती पुरुष काम गर्ने कार्यालयमा फोन गरेर ‘म तिमीलाई छुरा हान्छु,’ भनेर धम्क्याएकी थिइन् । आफू माथि लागेको आरोप संदिग्धले स्वीकार गरेकी छिन् । आफूले ति पुरुषलाई मन पराएको पनि उनले प्रहरीसमक्ष स्वीकारेकी छिन् ।
यानागावा नगर सरकारका अनुसार साकाकी नगर पुस्तकालयमा पार्ट–टाइम कामदार हुन् । उनीहरुको भेट सेप्टेम्बरतिर भएको थियो । अक्टोबर ११ मा प्रहरी थानाले साकाकीलाई ती पुरुषलाई म्यासेज नपठाउन चेतावनी दिएको थियो ।