आज बाल्यकालको लक्ष्मीपूजा, दीपावलीको झल्झल्ती याद आइरहेको छ । झिस्मिस् साँझमा बत्ती बाल्न शुरु गरिन्थ्यो। माटाका दिया किनेर ल्याएको हुन्थ्यो। सबैमा तेल र बाती हालेर लहरै राखी सल्काएर आगनका सबै सुरमा राखिन्थ्यो।
बिहानै गाईको गोबरले आँगन फराकिलो गरि लिपिएको हुन्थ्यो - घर अगाडिको बाटैसम्म। घरबाट बाटामा निस्कने ठाउँमा दुबैतिर केराका थाम गाडेर माथि बाँसका चेप्टा भाटा लगाएर गेट बनाएको हुन्थ्यो। गेटमाथि लहरै दिया राखिन्थ्यो। मैनबत्ती किन्न थालेपछि, दियाका साथसाथै मैनबत्ती पनि बाल्ने गरिन्थ्यो। गाउँमा विजुली बत्ती पुगेकै थिएन तर पनि दीपावलीको साँझ सबैतिर झिलिमिली हुन्थ्यो।
आफ्नो घरमा बत्ती बालिसकेपछि छिमेकीका घरमा कस्तो गेट बनाएको रहेछ कस्तो डिजाइनमा बत्ती बालिएछ भनी हेर्न गाउँ चहारिन्थ्यो। तराईमा दीपावली साँझमा सन्ठीको आकर्षक लामो मुठो बनाएको ‘हुकाबाती’ (ठाउँअनुसार नाम फरक होला) बालेर खुला ठाउँमा केटाकेटीहरू रमाउने पनि गरिन्थ्यो।
हजुरआमा, आमा सेलरोटी पकाउन व्यस्त हुनुहुन्थ्यो। दिउँसो ढिकीमा पिठो कुट्न हामी पनि सघाउँथ्यौं। हजुरआमाले पिठोलाई नाङ्लामा राखेर नाङ्लो घुमाउँदै खस्रो मसिनो छुट्याउनु हुन्थ्यो। पिठोमा विभिन्न प्रकारका दाउन राखी डल्लो पार्दै मुड्ठीले कुट्दै पिठो मुछ्नु हुन्थ्यो। पिठो तयार गर्न निकै समय लाग्दथ्यो । मुछेर तयार पारिएको पिठो हेररै आजका रोटी कतिको फुल्छन् भनी हजुरआमा अड्कल काट्नु हुन्थ्यो। साँझ पर्नुभन्दा पहिलेदेखि सेल पकाउन थाल्नु हुन्थ्यो।
मुठीले नै पिठो अड्कलेर ताईमा फनक्क घुमाउनु हुन्थ्यो। झिरले चलाउँदै गोलाकार हुन बाँकी रहेको ठाउँमा मिलाउनु हुन्थ्यो र एक पाटो पाकिसकेपछि अर्को पाटो फर्काउनु हुन्थ्यो। पकाएका सेललाई डालामा राख्दै जानु हुन्थ्यो।
लक्ष्मीपूजाको दिन भात खान हुँदैनथ्यो । सेलरोटी, तरकारी, दूधदही र फलफूल खाने गर्दथ्यौं। एक दुई वटा मात्र सेल खाएर उठ्न पाइदैन थियो। "खाएको छोरो मात्र दह्रो हुन्छ" भन्नु हुन्थ्यो, थालभरि खानु पर्थ्यो।
माथ्ला गाउँबाट गाउँले दिदीबहिनीहरू भैलो खेल्दै आउथे – भैलिनी आयौं आगन, गुन्यु चोली मागन ...
गुन्यु चोली मागे पनि दिने भनेको नाङ्लोमा चामल, पैसा, सेटरोटी, अनि सयपत्री फूलका थुँगा हुन्थे। नाङ्लोको वरिपरि धरै आशीष दिदै घुम्थे अनि पैसा चामल पोकामा हालेर रमाउदै जान्थे।
हजुरआमाले असार-साउन महिनातिर नै आगनको वरिपरि र बारीका डिलमा सयपत्री फूल रोप्नु हुन्थ्यो। तिहारमा ढकमक फूल्थे। फूल फूलेको आगन, बारी जता हेरै त्यतै उज्यालो देखिन्थो। मिहनती हातमा प्रकृतिले दिएको अनुपम उपहार देख्दा मन खुशीले गदगद हुन्थ्यो। मिहनती हुने प्रेरणा मिल्दथ्यो।
आज परदेशमा छोराछोरीका साथमा म एक्लै छु। घरदेशको गृह सम्हाल्नका लागि गृहलक्ष्मी अहिले नेपालमा नै भएको हुनाले यो परदेशको गृहमा लक्ष्मीपूजा गर्न मैले एउटा स-सानो पहाड नै फोर्ने गरी संघर्ष गर्नु परो। घरको विशेष सरसफाई गर्न खासै गाह्रो भएन, सधै गरेकै काम पर्यो। सयपत्री फूल पनि आफैले रोपेको फूलेका छन्, ती पनि सजिलै उपलब्ध भए। बाँकी रहे सेल र पूजा विधि। सेल पकाउन मेरो बुताले हुने कुरै भएन। त्यसै हापी दिएँ।
तर लक्ष्मीपूजा सेल बिनै कसरी गर्ने? अनि आज लक्ष्मीपूजाको दिन सेलमात्र खाने मेरो बाल्यकालदेखिको परम्परालाई तिलाञ्जली कसरी दिने? गृह लक्ष्मीसँग इन्टर्नेट संदेशवाहकमार्फत कुरा गर्दा उपाय निस्क्यो – सेलको साटो मालपुवा पकाउने। निर्देश जारी भयो – सोही अनुसारको साग्रगी घरका कुनाकाप्चाबाट खोजखाज गरेर भेलापारी एउटा आरीमा पिठो मुसेर तयार पारें। फ्राईप्यानमा निकै तेल हालेर डाडुले पिठो हालेर learning by doing सिद्धान्त अनुशरण गर्दै जाँदा मालपुवा जस्तै देखिने पक्वान तयार पारें। आलुको तरकारी पनि पकाइयो।
अनि फेरी गृहलक्ष्मीलाई संदेशवाहक (Messenger) मार्फत सम्पर्क गरी लक्ष्मी पूजा सामग्री तयार पारें । दियो, कलश, गणेश स्थापना गरियो। बाल्यकालमा साँच्चिकै खड्कुलाभरि चामल राखेर गरिने लक्ष्मीपूजाको प्रतीकस्वरूप कचौराजत्रो आकारको सजाउने खड्कुलामा चामल पनि भरें। पलेटी मारेर पूर्व फर्किएर मज्जाले लक्ष्मीपूजा गरें। “आज लक्ष्मीपूजा गरेको ठाउँमा आ-आफ्ना सबै पैसा राखेर पूजा गरियो भने पैसा सधैं नै पाइरहिन्छ रे, लक्ष्मी माताले पैसा आउने बाटो बनाइ दिनुहुन्छ रे” भनेपछि छोराछोरी पनि पूजा गर्न आए। पूजा गरेर टीका लगायौं। सम्झनाका लागि फोटो पनि खिच्यौं।
मालपुवा र आलुको तरकारी खायौं। लक्ष्मीपूजा, दीपावलीको धर्म जोगायौं।
...
(प्रस्तुत बिचार डा. वेद काफ्लेले सामाजिक सञ्जालमा लेख्नुभएको व्यक्तिगत बिचार हो । समय सान्दर्भिक भएकाले साभार गरि प्रकाशन गरिएको हो ।)