(Japan) 18 th March | 2025 | Tuesday | 6:53:11 AM || (Nepal) 3:38:11 AM
 
 


चुनाव आयो अब भन्नुस् तपाई दलको भक्तबहादुर बन्नेकी व्यक्ति बहादुर बन्ने ?

प्रहार जैशी   POSTED ON : Wednesday, 12 October, 2022 | Views : 1822

चुनाव आयो अब भन्नुस् तपाई दलको भक्तबहादुर बन्नेकी व्यक्ति बहादुर बन्ने ?


प्रहार

देश विकासको फड्कोलाई नविनतम अनि द्रुत गतिमा अघि बढाउन राज्यसत्ता बेलाबेलामा परिवर्तन हुने कुरालाई स्वभाविक मान्न सकिन्छ । त्यसो हुँदा नविनतम सोच, जोस, जाँगर अनि सकारात्मक कार्यशैली र दुरगामी योजनाहरुको आगमन हुन्छ ।

सत्ता परिवर्तन भएर नयाँ नेतृत्व आउन चुनाव जरुर एउटा माध्यम हो तर चुनाव जितेर गइसकेपछि संसद बन्ने व्यत्तिमा दृढ इच्छाशक्ति र इमान्दारिता रहेमा मात्र विकासका खुडकिलाहरु थपिदै जाने हो । मेरो उमेरले भोट हाल्न मिल्ने भैकन पनि हाम्रो देशमा धेरै पटक निर्वाचन भए तर स्वास्थ्य र शिक्षा जस्तो अत्यावश्यक विषयलाई समेत कमाई खाने भाँडो बनाउनु अनि विकासको गति कछुवाको चालमा मात्र अघि बढाएर भ्रष्टाचारमा लिप्त हुनुले समृद्ध नेपाल र सुखी नेपाली कोरा कल्पना बाहेक अरु केही हुन सकेको छैन ।

आखिर यस्तो कहिले सम्म अनि किन भइ रहेको छ ? कतै हामीबाट नै भूल भई रहेको त छैन ? यो प्रश्न अब आफैले आफैलाई गर्ने बेला हो ।

जब निर्वाचन आउँछ, हामीलाई थाहा हुन्छ त्यो व्यक्ति राम्रो हो, उसमा केही गरौं भन्ने भावना छ,  क्षमता पनि छ, तर म उसको पार्टी (दल) को होइन । म के सोच्छु भने मैले मेरो पार्टीलाई नै भोट हाल्नु पर्छ चाहे त्यो खराब नै किन नहोस् । म मेरो दलले नै जित्नुपर्छ भन्ने स्कुलीङ्गबाट हुर्कीएको छु । म राम्रो र असल मान्छेले नै जितोस् भन्ने चाहन्छु तर उसलाई भोट हाल्न सक्दिन किनकी मलाई मेरो दलको चुनाव चिन्ह भन्दा दायाँबायाँ हुन अनुमति नै छैन, म केवल दलको भक्त बहादुर हुँ । मलाई परिचालन गरिएको छ, म आफ्नो विवेक प्रयोग गर्न पाउँदिन किनकी म बस्ने समाजमा यस्ता राजनीतिक अगुवाहरु पनि छन् जो बाघ झैं उभिएर पहरेदारी गरिरहेका छन्, उसले भनेको ठाउँमा भोट नहाल्दा भोली हामीलाई झम्टिन्छ, समस्या पर्दा हेर्दैन भन्ने भयले गाँजीरहेको छ र म दलको भक्तबहादुर बनिरहेका छौं । म र मजस्ता थुप्रै हजारौं यो मनोविज्ञानबाट ग्रस्त छौं र हाम्रै कारणले हजारौं सक्षम अनि देश नै हाँक्न सक्ने क्षमतावान उम्मेद्वारहरु हार स्वीकार्न बाध्य छन् ।

तर अब म भक्तबहादुर बनेर र मेरो सन्ततीको भविष्यलाई अन्यौल बनाउन चाहन्न । अब ब्यक्ति बहादुर बनेर दलको एकोहोरो बाटोमा हिडेर हैन म मेरो विचारले चल्न चाहन्छु । बर्षौ देखिको चुनावको परिणामलाई हेर्दा हेर्दा मैले पनि यो बुझिसके कि पार्टिको भक्तबहादुर बनेर हैन समग्र आफ्नो ठाउको राम्रो मान्छेलाइ जिताएर पठाउन सके नेपालको रोकिएको बिकासको रफ्तार बढने रहेछ भनेर, तेसैले म मेरो क्षेत्रको सर्वाङ्गिण विकासका लागि यस्तो मान्छे, जो यही मेरो क्षेत्रको माटोमा जन्मेर हुर्केको होस, आफ्नो गाउँठाउँ र भूगोल बुझेको होस, हरेक गाउँका भित्री कुनाकुना सम्मका समस्याहरुलाई पहिचान गरि विभिन्न माध्यमबाट समाधानका लागि अनवरत प्रयास गरिरहेको होस, रिसराग, कुण्ठा नभएको, शालिन र बौद्धिक व्यक्तित्व जो समयसँग चल्न सक्ने क्षमता राख्दछ, हो उही मेरो प्रतिनिधीत्व गर्ने मेरो नेता हो । उहि मेरो क्षेत्रको सान हो, अनि उही हो म र मेरो सन्ततीको भविष्य कोर्न सक्ने एक होनहार व्यक्तित्व ।

अनि यस्तै ब्यक्तिलाइ मेरो अमूल्य भोट दिइ आउदो पुस्तासम्म ढुक्क भएर नपछुताइ बस्नेछु । अब तपाइ नै भन्नुस के अझै तपाई पुरानै दल र नेताको भक्तबहादुर नै बन्ने कि आफुबाट नै परिवर्तन को सुरुवात गरेर ब्यक्तिबहादुर बनि सम्बृद्ध नेपालको चित्र कोर्ने ? यो नभुलौ कि हामीले मतदान गरेर जिताएका नेता कमसल भएकै कारण आज बिश्वका धेरै देशहरुको तुलनामा हामी पछि परेका छौ ।

परम्परागत दल र नेताहरुको भक्तीको पछाढि लागिरहेकै कारण पार्टिको राम्रो पकड भएको ठाउमा कमसल, खराब र हर्नु पर्ने मान्छेले जितेको र एउटा होनहार ब्यक्तिले हार्नु परेको घटनाहरु बिगतका चुनावमा हाम्रै कारणले भएका हुन । तसर्थ हामी पार्टिको दाशत्वबाट मुक्त भै अबको नेतृत्वमा तपाइ हाम्रो स्वबिबेक प्रयोग गरौं र युवा सक्षम उम्मेदवार छनौट गरेर मतदान गरौं, तब देश र जनताको बास्तविक हित चाहने नयाँ पुस्ताको जित हुनेछ ।

...

प्रहार

हाल : टोकियो, जापान ।