जब म तिम्रो काखमा जन्मिेएर आंखा खोल्न सुरु गरेदेखि नै मलाई ठूलो भएपछि अमेरिका, अस्ट्रेलिया, जापान जानुपर्छ है मेरो बाबु भन्दै हुर्काईयो ।
त्यही भएर पनि होला बोली फुट्न र म केहि संसार बुझ्नथाले पछि सॅंधै तिमीलाई गाली गर्न थांले । सॅंधै भन्ने गर्थे कि ‘हाम्रो नेपालमा केहि अवसर नै छैन कस्तो नराम्रो देश ।’ सोच्ने गर्थें ‘कहिले कलेज सक्नु र मेरो सपनाको ठूलो अवसर मात्रै भएको देश जानु र कहिल्यै फर्किएर आउनु नपरोस यस्तो देश !’
‘प्लस टु’ सकेको केहि पछि अब नेपाल बस्दिन भन्दै पासपोर्ट बनाएको दिन निक्कै मिठो निन्द्रा मिलेको महसुस भएको थियो । समय बित्दै जांदा हुन पनि मैले सोचेको जस्तै भयो । अरु विदेशिएका नेपाली जस्तै म पनि त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल हुंदै ठूलो विमान चढेर जापान हानिएको पनि ६ वर्ष नाघिसकेछ ।
मैले सॅंधै तिमिलाई गाली मात्र गरे, नराम्रो वचन मात्र बोलें, देशले मलाई केहि दिएन भन्दै रिस मात्र देखाएं । तर मैले कहिल्यै सोचिन कि ‘मैले मेरो देश नेपाल लाई के दिन सकें ? र के दिन सक्छु होला ?’ जब म जापान आएर पिजा बर्गर खान थाले तब मलाई तिम्रै काखमा लडीबडी गर्दै गुन्द्रुक र ढिंडो खाएको याद नै मिठो लाग्न थाल्यो । म जापानका भिडले भरिएका चिल्ला सडकमा हिडिरहेको बेला आफ्नै गांउको खाल्टै खाल्टो भएको बाटोमा हिंडेको यादले सताएर भिडैभिडमा पनि एक्लो महसुस गरायो ।
अनि मात्र मैले सोच्न थांले कि मेरो देशले मलाई सबथोक दिएको रहेछ ।
तिमीले मलाई मेरो पहिचान दियौ, नेपालीत्व सिकायौ तर मैले तिमीलाई सॅंधै धोका मात्र दिंए, सॅंधै गाली मात्र गरिरहें । मैले आजसम्म तिमीलाई दिन सकेको भनेको बेला बेला रेमिट्यान्स मात्र हो ।अरु केहि दिन सकिन । त्यसैले मिल्छ भने मलाई माफ गरिदेउ नेपाल आमा ।
तिमीलाई चिटिक्क पार्छु भन्दै राजनितीमा लागेका तर उल्टै तिमीलाई भित्रभित्रै खोक्रो पारेका केहि ब्वांसाहरुको बुद्धि सपारी देउ नेपाल आमा । होईन भने तिमीबाट बिरक्तिएर विदेशिएका म जस्तै तिम्रा सन्तान तिमी सामू फर्किन मन भएपनि अझै लामो समय कुर्नु पर्ने हुन्छ ।
अहिले म विश्वको उत्कृष्ठ शहरमा गनिने जापानको टोक्यो शहरमा बसेर पनि एक्लो महसुस गरिरहेछु, तर तिमी उही पुरानै स्थितिमा गुज्रिरहे पनि सबैको साथमा खुशी नै देखिन्छौ ।दसैं, तिहार आउॅंदा हामी परदेशिएकाको मन जलिरहेकोछ भने तिमी झलल् बलिरहेकि छौ । ‘भविष्यमा केहि दिन सकेछु भने सकें, अहिले लाई अलिकती रेमिट्यान्स पठाको छु । मिल्छ भने मलाई माफ गरिदेऊ नेपाल आमा !’
…
‘झापाली’ सुमन सुवेदी
हाल : टोक्यो जापान