जनगायक जीवन शर्माको एउटा चर्चित गीत छ-
यसपाली त यस्तै भो आमा,अर्को साल आउँनेछु दशैँमा…
परदेशी जिन्दगी बाचिरहेका ठुलो हिस्सा मान्छेहरूको जीवनमा मेल खान्छ यो गीत। मनभरी कलिला सपनाहरू बोकेर घर छोड्ने धेरै परदेशीहरूका सपना सपनामै सिमित हुन्छन्। सपना देख्न सजिलो पुरागर्न निक्कै कठिन रहेछ। भन्नेहरूले सजिलै भनिदिन्छन् खोलोतर्यो लौरो विर्सियो।आँफैले तरेको खोला,आँफैले टेकेको लौरो विर्सिन्छु भनेरपनि विर्सिन कहाँ सजिलो छ र! केवल समय बदलियको हो! केवल सपना बदलियका हुन, केवल भुगोल बदलियको हो, हामी जन्मजात नेपाली मान्छे कहिल्यै बदलिन संभव छैन्, भलै त्याग्नेहरूले देशकै नागरिकता त्यागुन तर नेपालीपन,नेपालीमन कहिल्यै बदलिदैन।
केवल बदलिने त सपनाहरू रहेछन्, गाउँमा छदा सहर पस्ने सपना थियो, सहर छिरेपछि विदेश पस्ने सपना देखीयो! ती सपनाहरू बिस्तारै पुराभए! परदेशी बनेपछि फेरी अर्को सपना बुन्यो मनले गाउँ फर्किने, केहीदिन केहिछिनलाई होईन सधैको लागि गाउँ फर्किने! तर परिस्थितिले त्यो सपना पुराहुनै दिदैन! गाउँ त फर्किन मन छ तर गाउँ फर्किनुअघि आँखै अगाडीछन् चुनौतीका पहाडहरू।
आमाको उपचार, बा को औषधी, छोरीको स्कुल फी! घर बनाउदाको ऋण, फगत एउटा कामदारको रूमानी सपनाहरू यस्तै-यस्तै चुनौतिका पहाडहरू अगाडी रूमल्लीई रहन्छन्॥
दशैँ आयो! यो मौसम शब्दले वर्णन गर्न सकिदैन।
त्यो सिरसिर हावा, ति झुलेका धानका लहै-लहैहरू, भर्खर-भर्खर फूल्न तम्तयार गोदावरी र सयपत्रीको सुगन्ध। त्यो सबेरै स्पर्शगर्ने घाम, चाँदी जस्तै टल्किएका अन्नपूर्ण हिमश्रृङ्खला, स्वर्गको एक बान्की धर्तीमा पोखीए जस्तै क्या सुन्दर हुन्थे शरद्का ति बिहानीहरू। पोखराबाट हेम्जाहुदैँ बाग्लुङजाने बाटोमा लुम्ले/
काँडेको शिरमा पर्छ नाउँडाँडा, यस धर्तिमा कही स्वर्ग छ भने त्यही ठाउँ लाग्छ। कल्पनाको स्वर्ग भन्दापनि सुन्दर छ नाउँडाँडा। जुन बाटोहुँदै भेडा-च्याङ्ग्रा लियर गोठालाहरू गाउँ झरेपछि सुरुहुन्थ्यो दशैँ।
चाडबाडको वेला आमाले सेलरोटी पकाउनुहुन्थ्यो मैले रोटीका अग्ला-अग्ला चाङ् लगाउथे र भन्थे आमा यस्तैहुन्छ धरहरा? खै होला! काठमाण्डू म पनि गएकी छैन् क्यारे साने,अब ठुलो भएपछि आँफै गएर देख्लास्।आमा… देख्न त धरहरा भन्दा कयौँ अग्ला महलहरू पनि देखीयो तर किन कुन्नी यति विघ्न सताउँछ त्यही झुपडीको यादले।
मनले जब-जब आफ्नो शैशवकालको त्यो समय सम्झीन्छ खुब नोष्टाल्जिक बनिदिन्छ मान्छे। सोच्छु ५/६ वर्षदेखी १७/१८ वर्षसम्मको समयनै जीवनको स्वर्णीमकाल रहेछ। जुन समयमा मागिदिय पुग्थ्यो, रोईदिय पुग्थ्यो, अरूको रिसराग-ईर्ष्या थिएन, कमाउने लोभ-लालच थिएन, बहन गर्नुपर्ने ज़िम्मेवारी थिएन।
उवेला बा’ले स्कुल जादा खाजा खाएस भनेर दिएको ५ रूपैया खल्तीमा राखेर उफ्रिदै आँगन पुगेपछि मेरो मनले सोच्थ्यो, मेरा बा संसारकै धनी मान्छे हुन! बा जस्तो धनी कोही छैन्। आमाले मधुषमा लुकाएर राखेको नरिवल र मिश्री झिकेर दिदा लाग्थ्यो मेरी आमा जस्तो माया गर्ने संसारमा अरू कसैको आमा छैनन्।
कुखुराको पोथीले फूल पार्दाको दिन, घरमा भैंसी व्याउदाको दिन मन यती खुसी हुन्थ्यो कि, लाग्थ्यो यो दुनियामा म जति खुसी कोही छैन्। यावत खुसीहरूत सबैको घरमा हुन्थेनै, हाम्रो बाल अवचेतनले त्यो कहाँ सोच्थ्यो र, केवल आफ्नै घरमात्र संसार लाग्थ्यो।
गाउँको ५ कक्षा सम्मको प्राथमिक विद्यालय छोडेर जब गा.वि.स. सदरमुकामको माध्यमिक विद्यालय पुगियो, फेरी त्यो छुट्टै संसार लाग्यो। त्यहाँ फरक-फरक गाउँका साथी थिए,एउटै कक्षामा १०० भन्दा धेरै विद्यार्थी हुन्थे। सरहरू धेरै, विद्यार्थी धेरै, पसलहरू धेरै। खेलौनाका पसल, फेन्सी पसल, विभिन्न परिकार पाक्ने खाजाघरहरू। अहो! बल्ल लाग्यो दुनिया त ठुलो रहेछ। आज भन्दा २५ वर्ष पुराना यी अनुभूतिहरू आज लेख्दै गर्दा बहुत आनन्दित त भएको छ मन, तर यी आनन्दका अनुभूतिहरू क्षणिक छन् किनकी मैले बचपनमा भोग चलन गरेको भुगोल र म अहिले बाचीरहेको भुगोल फरक-फरक हुन।
१८ वर्ष पछि बल्ल सुरूभयो जीवनको दौरान। कामको खोजी, कलेजको खोजी, पैसाको खोजी, एक आम मानीषले यो धर्तीमा बाच्नलाई गर्नुपर्ने संघर्षको खोजी। जीवन बाच्ने बहानामा, धन कमाउने बहानामा, परिवार पाल्ने बहानामा म र म जस्तै लाखौ युवाहरू आँफ्नै धर्ती छोडेर परको देशमा परदेशी बनेकाछौ। थाहाछैन् कति पुरा गरिय धन कमाउने बहाना, परिवार पाल्ने बहाना तर भासिन जिन्दगी भासिएकै छ।
केही जेब्राहरूको बथान दलदले माटोमा फसेर निक्लन नसकेको दर्दानक भिडियोहरू डिस्कोभरी च्यानलले कहिलेकाही देखाउँछ,त्यो देखर खुब दुख्छ मन। अनि आफैलाई सम्झीन्छु परदेश भनेको पनि त त्यही दलदले माटो रहेछ,जहाँ फसेपछि आँफै पनि त निक्लन सकिएन।
ऋतुराज वसन्त ऋतु भन्दापनि किन-किन मलाई शरद् ऋतुनै मनपर्छ। बालापनमा मिठो छाप छोडेको समय भएर पनि हुनसक्छ अथवा गर्मीको चिडचिडाहट बाट मुक्त भएको समय! अथवा घर आँगन भरि फूल फुल्ने समय भएर हुनसक्छ अथवा ठुला दुई चाडपर्ने समय भएर हुनसक्छ शरद्का असोज र कार्तीक महिना खुब सुन्दर लाग्छन् मलाई॥
गुँड छोडेको चरी साँझ घर फर्किन्छ! देश छोडेको परदेशी घर फर्किन भने बर्षौ लाग्नेरहेछ। कति परदेशीहरु घर फर्किने आशामा यतै अस्ताई जान्छन् भने थोरैले मात्र अवसर पाउँछन् चाडबाडमा घरजान।
१२ वर्षमा खोलो पनि फर्किन्छ भन्थे बुढा-पाकाहरू म आँफूले भने वितेका १२ वर्षमा केवल २ पटक मात्र आफ्नै घर आँगनमा चाड मनाउन पाएको छु। दुखलाग्छ वितिरहेको समय सम्झेर। लगातार पछिल्ला ४ दसैँ पनि परदेशमै बितिगयछन्।
दशैँको दिन बिहानै कानमा एरफोन ठोसेर मंगलधुन सुन्दै म कयौपटक काममा गएको छु। रेलको एउटै डिब्बामा म जस्तै अर्को नेपाली नदेखीने पनि होईनन्, उनीहरू पनि उसैगरी काममा हिडेका हुन्छन्। मनमा कुरा खेलाउदिन भन्दा पनि याद आउँछ गाउँघरको,मामाघरको,त्यो चञ्चल बालापनको, बुढा भएका बाउ-आमाको! यी यावत सम्झिदा भक्कानो छुटेर आउँछ, सयौ मान्छेको भिडमा एक्लै रोयो भनेपनि किनरोयौ भनेर सोध्ने त कोही हुदैन, तर आफैलाई सरम लागेर मैले कयौ चाडवाडका दिन रेलवे स्टेशनका छेउकुना च्यापेर रोएको छु, बाथरूम गएर रोयको छु। भाइटिकाको विहानै वेड मेकीङको काममा हिडेकी चेली देखेर मन खिन्नहुन्छ! सोध्न मनलाग्छ बैनी यसपाली तिम्रो हात खाली हो! फेरी उल्टै सोध्लीन दाइ हजुरको पनि त निधार खाली रहेछ। खैर समुद्र पारीका देशमा चाडबाड आउछन् जान्छन्, तर एउटा नमिठो आभाष भने सधैजसो छोडेर जान्छन्।
अचेल त भिडियोमा कुरा गर्न पाईन्छ बा-आमाले मोवाईलमै टिका लगाईदिनुहुन्छ। यी केवल खुसी हुने बहानाहुन फोन नराखुञ्जेललाई।म कठोर छु भन्ने छोराका आँखा त यती विध्न रूझ्छन भने, बोल्न नसकेर फोनमा टिलपिल-टिलपिल देखीएका मेरी आमाका आँखा कति बग्छन् होला म सोच्न पनि सक्दीन। फेरी सोच्छु मेरी आमा रोइन भने बा ले सम्झाउलान, डाँडा मुनिका घाम जस्तै भएका बुढा बा! बा नै रोय भने कस्ले सम्झाउला?
खुसी खोज्न सहरनै छिर्नु नपर्ने रहेछ। धन कमाउन परदेशनै पस्नु नपर्दो रहेछ। हाम्रो सोचाई, हाम्रो समाज, हाम्रो संगत त्यस्तै भयो। लहैलहैमा घर छोडियो। किशोरावस्थामा सबैकुरा बुझीएन काँचो माटो जस्तै भइयो! कुनै निश्चित योजना नभइ घर छोडीयो। घर छोड्नेहरूको जिन्दगी आँधा बाटो जस्तै हुनेरहेछ अधुरो-अपुरो। घर छोडेको मान्छे फेरी घरफर्किन धेरै कठिनरहेछ। खुसी त गाउँमै पनि थियनी! बल्ल बुझ्दैछ मनले। ऊवेला चुढेको चप्पलमा नयाँ तोना फेर्दा पनि विघ्न खुसी हुने यो मन, अहिले महंगो जुता लगाएयर हिड्दा पनि पोलिरहन्छ। गाउँमै भैंसी पालेर दुध/ घ्यू बेच्दा पनि त पैसा पर्थ्यो,बाख्रा-कुखुरा पाले पनि त हुन्थ्यो, खेती किसानीनै गरेको भएपनि त हुन्थ्यो तर एक समय यस्तो बनिदियो- गाउँका खुसी, खुसी लागेनन! गाउँको कमाई धन लागेन! रहरै रहरमा फसियो परदेश॥
पैसा तिरेर आँफै मच्चीने पिङ्ग यहाँपनि नभयको होईनन तर साथीले घचेटेर मच्चीने बावीयोको लठोनै खोज्दो रहेछ मनले चाडवाड आउदा। उमरे डल्के पनि चङ्गा उडाउन मन लाग्दो रहेछ। तिम्रै हातले पकाएको मासु र अनरसा खान मन लागिरहन्छ। मन न हो आमा,मन बुढो नहुदोरहेछ।
आमा! परदेशदेखी खुब थाकीसके म!
यी आँखाहरू वर्षौ देखी अनिदाछन्
मन त कति छ कति हजुरको काँखमा चैनको निद्रा निदाउन।
यो साल पनि समयले बाटोभरी काँडा रोपिदियो!!
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैँमा॥
...
दीप पाठक
टोकियो