लामो समयको अन्तरालपछि केही बिषयवस्तुमा लेख्न मन लाग्यो । हुन त आम संचार पत्रकारितामा स्नातकोत्तर गरेको अनुभव भएपनि धेरै वर्ष कलम नचलाएकोले पनि होला, यो लेख लेखिरहँदा अवस्य पनि त्रुटी हुन सक्छ त्यसैले सुरुवातमै माफी माग्दछु ।
करिब ८ वर्षको जापान बसाईमा कति बिषयवस्तुमा कलम चलाउने मन हुँदा हुँदैपनि समय व्यस्तताले नजर अन्दाज गर्नुपर्यो । कतिपय बिषयवस्तुमा लेख्न मन हुँदाहुँदै पनि बाध्यताले लेख्न सकिएन । अब बिस्तारै लेख्न नसकेका कुरा पनि समय मिलाएर अवस्य लेख्नेछु, तर आज मैले लेख्न लागेको विषयवस्तुले पक्कै पनि कोही न कोही व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्ने आशा राखेको छु ।
...
अब लागौं घटनाक्रम र बिषयवस्तु तर्फ । जापानको जीवनयापन, दैनिकी, यहॉंको काम गर्ने शैली र भिसा धान्नको लागि आप्रवासीहरुले गर्नुपर्ने संघर्षका बारेमा बेला बखतमा धेरै लेखहरू प्रकाशित भईरहेका हुन्छन् । तर पनि नेपालमा रहने साथी भाइ ईष्टमित्र र परिवारलाई अझै बुझाउन नसकेको कारणले जापानमा रहने धेरै नेपालीहरुले तनाव लिने गर्नुहुन्छ ।
एकदिनको कुरा हो, एकजना नेपाली सुरज (नाम परिवर्तन) काम गरिरहेको अवस्थामा एक्कासी टाउको दुखेको बताउनुभयो । त्यो दिनको 'नाईट डिउटी' सकेर अस्पताल आउदा संयोगले मसँग भेट हुन पुग्यो । यसै त विदेशमा कोही नेपालीलाई 'गार्हो परेको छ' भनेपछि सहयोग गर्न अघि सर्ने हामी नेपालीको संस्कार नै हो । त्यसमाथि उहासगॅं भावनाको नाताले पारिवारिक सम्बन्ध जस्तै थियो । ऊहॉंलाई त्यसदिन सिटि स्क्यान गरेर हेर्दा खासै केही नदेखिएपछि दुखाई कम हुने औषधी लिएर हामी घर फर्कियौं । तर ऊहॉंको टाउको दुखाईमा खास्सै परिवर्तन आएन ।
त्यसपछि कहिले ईमरजेन्सीमा त कहिले पुन: त्यही अस्पतालमा चेकजॉंच गराऊने क्रम र सिटि स्क्यान गर्ने क्रम जारी रहयो । अस्पतालले कहिले दुखाई कम हुने औषधी त, कहिले माईग्रेनको औषधी दिएर पठाउने गर्दथ्यो । तर धेरै दिनको असैह्य दुखाईपछि एकदिन रुदै 'म त मर्छु अब ! मलाई निकै गाहो भयो, मलाई छिटो अस्पताल लगि दिनुस्' भन्दै फोन गर्नुभयो र पुन: अस्पताल लग्यौं ।
यस्तो अप्ठ्यारो परिस्थितमा परदेशको ठॉंऊमा न कोही आफन्त न कोही परिवार आफ्ना आँसुहरू दबाऊदै ऊहॉंलाई सान्त्वना दिनु शिवाय केही उपाय थिएन ।
डाक्टरले दुखाई कम हुने सुई लगाईदिनु भयो । स्लाईनबाट दुखाई कम हुने औषधी लगाईदिएपनि केही परिवर्तन भएन । घर फर्काएर ल्याऊ भने परदेशको ठॉंऊ साथि-भाइ, आफन्त कोही छैनन्, कता केही हुने हो कि झै लाग्ने । अस्पतालमा भर्ना गरौं डाक्टरले 'माईग्रेनको टाउको दुखाई भर्ना गर्न मिल्दैन' भने । म आफैलाई पनि माईग्रेन थियो तर ऊहॉंको जस्तो दुखाई कहिल्यै हुँदैनथ्यो । जापानको स्वास्थ्य सेवा राम्रो भएपनि यहॉं नेर चाहिँ मलाई अल्लि राम्रो लागेन । यस्तो बिरामीलाई दश दिन भईसक्यो के भएर यति सार्है टाउको दुख्यो भनेर गम्भिर रुपले नहेर्ने । सामान्य सिटि स्क्यान गरेर दुखाई कम हुने औषधी दिँदै पठाउने ।
अल्लि कडा तरिकाले 'मलाई पनि माईग्रेन छ तर यस्तो हुदैन डाक्टर, के-कसरी हुन्छ रोग पत्तालगाउनुपर्यो । एमआरआई वा अन्य विधि प्रयोग गरेर हेरिदिनुहोस्' भनेर आफैले भनेपछि बल्ल एमआरआई गर्ने कुरा भयो । जापानमा सबै कुरा ठीक भएपनि, अस्पतालमा उपचार गर्ने शैलि र पद्धति अत्यन्तै सुस्त र फरक छ । सायद यही कारणले होला विशेषत भाषागत कठिनाइकै कारण धेरैले आफ्ना कुरा राम्रोसँग राख्न नसकेकै कारण विभिन्न समस्या भोग्नु परिरहेको छ ।
अझ भनौं कोही कोहीले त अकालमा ज्यान समेत गुमाउनु परेको छ । ऊहॉंको एमआरआई रिपोर्टमा समस्या देखियो तर के भएको भन्ने गोपनीयताका कारण बाहिर खुलाऊन मिलेन । तर अत्यधिक तनावका कारण दिमाखमा असर परेको रहेछ । समयमै रोग पत्ता लागेर ऊहॉं अहिले टोकियो मेट्रो पुलिस अस्पताल नाकानोमा उपचाररत हुनुहुन्छ । अहिले स्वास्थ्यमा निकै राम्रो सुधार भएको छ ।
ऊहॉं मुत्यूको मुखमा पुगेर मृत्युलाई जितेर आउनु भाको छ भन्दा पनि फरक पर्दैन । अब छिट्टै अस्पतालबाट घर फर्किदै हुनुहुन्छ । माफ गर्नुहोला होला सुरजजी हजुरको बारेमा लेखेकोमा । नलेखी बस्नै सकिन, किनभने यो करिब एक महिनाको अवधिमा तपाईंको विभिन्न समस्याहरुलाई नजिकबाट नियालेकोले लेख्न मन लाग्यो ।
यतिका घटना क्रम बेलिबिस्तार लगाउदै गर्दा दिन खोजेको सन्देश के हो त ? भन्ने प्रश्न जाग्नु स्वभाविक हो । सुरज जीमा देखिएको समस्या, अस्पतालको उपचार प्रक्रिया र उपचार पश्चात चिकित्सकहरु समेतले भनेका कुरा हुन् 'हामीमा शारीरिक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै बलियो हुनुपर्ने' रहेछ । जब मानिसले आवश्यकता भन्दा बढी चिन्ता लिन्छ, अझ भनौ धेरै नै कुरा मनमा खेलाउने र सोच्ने गर्छ त्यसले हार्ट अट्याक, प्यारालाईसिस, मधुमेह र रोग प्रतिरोधात्मक क्षमता कम गराउदो रहेछ ।
लामो समय सम्म पिडा लुकाएर मनमा राख्नाले यसले भित्र-भित्र तपाईलाई सिध्याऊँछ । यस्तो अवस्थामा आफ्ना कोही नजिकका यस्ता व्यक्ति जसले तपाईंलाई के भयो ? कस्तो छ ? म छु नि नआत्तिनुहोस भनेर सोध्ने र सान्त्वना दिने गर्छ, त्यस्ता व्यक्तिलाई आफ्ना मनका कुरा सुनाउनु पर्दो रहेछ ।
तनाव जसलाई पनि जुनवेला पनि पर्न सक्छ । समय हुँदा नै तनावको समस्या पहिचान गरी समाधान गरिएन भने यसले गम्भिर शारिरीक रोग मात्र होईन अकालमा मृत्यु समेत निम्त्याउँछ । यस्तो बेला तनाव कसरी कम गर्ने त ? भन्ने विषयमा मैले मानसिक रोग विशेषज्ञ डा. मुक्ति आचार्यलाई सोधें । उहाँका अनुसार तनाव व्यवस्थापन गर्नका लागी परिवार, साथी भाइ र समाजले हरेक तरिकाले विरामीको मनोबल बढाउन जरूरी छ । उहाँले तनावको वेला दिमाग लाई बिचलित हुन नदिनु जरूरी रहेको बताउँदै खुसी रहने बाटोहरू पहिचान गरी त्यस्ता कुरामा आफुलाई बढि संलग्न गराएर गलत सोचाईलाई मन र दिमागबाट हटाउनुपर्ने बताउनुभयो । विशेषत आफुले तनाव व्यवस्थापन गर्नसक्यो भने जिवन निकै सरल बन्ने उहॉंको भनाई छ ।
मनोरोग भन्ने वित्तिकै हाम्रो समाजमा पागलको संज्ञा दिने गरिन्छ । हामी जतिसुकै पढे लेखेको भएपनि मानसिक रोगका डाक्टरसँग जान अझै हिचकिचाउछौ ।
यसै क्रममा अर्का मनोरोग विषेशज्ञ डा. अनिल सुवेदीलाई 'के अहिले मनोरोग प्रति समाजको धारणा परिवर्तन भएको छ त ?' भनेर जिज्ञासा राख्दा उहाँले मनोरोग भयो भने अन्यन्त्र गएर झार(फुक अथवा अन्य विभिन्न चेक जाँच गरेपछि बल्ल मनोरोग डाक्टरकोमा आउने चलन अझै नेपालमा रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार शारीरीक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य एकदमै महत्वपूर्ण मानिन्छ । डा. सुवेदीका अनुसार जब मानिसको मानसिक स्वास्थ्यले जिवनको रहन-सहनमा असरपर्छ, जस्तैस् खान-पान, पारिवारीक र सामाजिक सम्बन्धहरूमा भने त्यो वेला तुरुन्त मनोरोग चिकित्सकलाई देखाउनु उत्तम हुन्छ ।
मानसिक स्वास्थ्य विग्रीयो भने सबैकुरा बिग्रिदै जाने भएकोले समयमै ख्याल गर्न उहाँको सुझाव छ । अन्त्यमा दुवैजना मनोरोग चिकित्सक डा. आचार्य र सुवेदीले नेपालमा मनोरोग बारेमा अझै जनचेतना कमी भएकोले आ आफ्नो तवरबाट जनचेतना फैलाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
मानिस सामाजिक प्राणी भएकोले उसलाई हरेक प्रकारका सम्बन्धहरूको खाँचो हुन्छ । जापानको अनेक प्रकारको तनाव यसलाई कम गर्न अझ परिवारको विशेष भूमिका हुन्छ । आजभोली धेरैको अनुभव सुन्दा धेरै जसो व्यक्तिहरू पारिवारीक कारणले तनावमा परेको देखे सुनेका छौं । कारण के त ? भनौं भने फलानोले यो गर्यो, यति कमायो, तैले के गर्दैछस् ? इत्यादी ।
जापानको आफ्नो परिस्थिति र भोगाइ बताउँदा कसैले पत्यार नगर्ने कारणले आफ्नो नजिकको मानिसहरुबाट हौसला र सान्त्वना नपाऊँदा आत्मवल घट्दै जान्छ । यस्तै साथी भाइहरुले आवश्यकता भन्दा ठुला गफ गर्ने, अरुलाई निचो देखाउने, सहयोग गर्न भन्दा वढि रिस गर्ने इत्यादि कुराहरूले पनि मानिसको आत्मबल गिराउछ। त्यसैले सके सहयोग गरौं होईन भने कसैको तनावको कारण नबनौं ।
तपाईलाई कसैले जुनसुकै कारणले तनाब दिईरहेको छ भने तनाव दिने विषयवस्तु र मानिसहरूबाट टाढै बसौं । जीवन रहे तपाईको महत्व बुझे ति सबै सम्बन्धहरु पछि तपाईलाई खोज्दै आउनेछ । त्यसैले शारीरिक स्वास्थ्य सँगै मानसिक स्वास्थ्यको पनि ख्याल राखौ । शुभ समय ।
...
लेखक
सरू लम्साल,पोखरा (हाल : टोकियो,जापान)