टोकियो, जापान ।
'नेपालीहरुले रेष्टुरेण्टहरुमा गएर मेन्यू हेर्छन् अनि अन्तिममा अर्डर गर्छन् मम वा त्यस्तै केही ।' यो नेपाली चर्चित उखान हो । नेपालीहरुमाझ मम कति लोकप्रिय छ भनेर यो उखानले पनि चरितार्थ गर्छ ।
नेपालीहरुको त्यो 'मम' प्रतिको आकर्षण र स्वाद बिदेश आएरपनि फेरिएको छैन । बिदेशी अनेक स्वादको परिकार अघि मम प्रतिको आकर्षण घट्नुपर्नेमा झन बढ्दो मात्र छैन, यसले बिदेशमा नेपाली पहिचान समेत पस्कन थालेको छ ।
जापानमा करिव ५ हजारको संख्यामा नेपालीहरुद्धारा संचालित रेष्टुरेण्टहरु छन् । ति रेष्टुरेण्ट मध्ये लगभग ९९ प्रतिशतमा अन्य नेपाली खाना नराखेको भएपनि मम चाहिँ राखेको भेटिन्छ । भलै रेष्टुरेण्ट अनुसारको केही फरक स्वाद, आकार र 'साइज'का होउन्, तर मम सबैको 'मेन्यू'मा देखिन्छ ।
नेपालीसँगै जापानी मात्र नभई बिदेशीहरुले समेत रुचाउने 'स्न्याक्स'को रुपमा होस् वा भोक लाग्दा अघाउन पनि नेपाली स्वादको मम लाई अन्तर्राष्ट्रिय 'ब्राण्डिगं' दिएर एचएसबि जापान कम्पनी मार्फत व्यावसायिक उत्पादनमा जुटेका छन्, जापानका सफल नेपाली व्यवसायी बिनोद शेरचन ।
'गुन्द्रुक, ढिँडो जस्तो हाम्रो देशको आफ्नै मौलिक खाना होईन मम तर यो हाम्रो पहिचान बनिसकेको छ' शेरचनले भन्नुभयो 'ममको साइनो तिब्बेतियन क्षेत्रसँग जोडिएपनि नेपालमा पाइने मम र उताको स्वादमा आकास जमिनको फरक छ । अहिले विश्वभर जतिपनि मम नेपालीहरुले खाने, बेच्ने र प्रचार गरिरहेका छन् यो छुट्टै ब्राण्डिगंमा चलिरहेको छ । तर यसमा एकरुपता देखिन्न ।'
करिव एकदशक देखि जापानमा रियल स्टेट, रेष्टुरेण्ट लगायत व्यवसाय गर्दै आउनुभएका शेरचनले जापानमा ममको व्यावसायिक उत्पादन थालनी अघि यसबारेमा धेरै जानकारी बटुलेर मात्र लगानी गरेको बताउनुभयो ।
'मैंले तीन स्टेजमा यसको उत्पादन, बजारिकरण र अन्तर्राष्ट्रिय ब्राण्डिगं गर्ने सोच सहित काम थालेको हुँ' जापानी विद्यालय, ट्राभल्स लगायत आधा दर्जन क्षेत्रमा लगानी गर्नुभएका शेरचनले भन्नुभयो 'अहिलेलाई जापानमा मम खाने बानि भएकाहरुको लागि गुणस्तरिय, सर्वसुलभ र छिटो छरितो उपलब्ध गराउनेगरि उत्पादन थालेका छौं । यसलाई क्रमश विस्तार गरेर जापानका कन्भिनियन्स स्टोर, सुपरमार्केटहरुमा सहज उपलब्ध हुनेगरि विक्रि थाल्ने योजनामा छौं । अन्तिम स्टेज भनेको जापानबाटै अन्य देशमा अन्तर्राष्ट्रियस्तरको गुणस्तर, प्याकिगं र स्वादमा नेपाली मम विक्रि गर्छौं ।'
हाल दैनिक ३ लाख गोटा मम उत्पादन क्षमता रहेको मेसिन सहित १५ जना कर्मचारीले नियमित काम गर्न थालेको शेरचनले जानकारी दिनुभयो । नागानो प्रान्तमा व्यावसायिक उद्योगको रुपमा जापानको गुणस्तर मापन प्रणाली पास गरेर मेसिनबाटै मम बन्ने र 'प्याकिगं' हुन थालेको छ । जसको लागि शेरचनले ७ करोड बढि लगानी गरिसक्नुभएको छ भने यसको पूर्ण क्षमता उत्पादनसम्म १० करोड जापानी येन लगानी हुनेछ ।
'गुणस्तर र स्वादमा कहिलेपनि कुनै भिन्नता हुँदैन, किनभने सबै मात्रा नापेर मेसिनले मिक्सिगं गर्छ । मममा मिसाउने सामाग्रीहरु सँधै एउटै गुणस्तरको राखिने हुनाले न स्वाद फरक पर्छ न साइज, तोकेको भन्दा फरक साइज र स्वाद हुन पुगेमा ममका दाना मेसिनले नै छानेर आउट गर्छ हामीले सम्भव भएसम्मका जापानी प्रविधि प्रयोगको प्रयास गरेका छौं ।' व्यवसायी शेरचनको भनाई छ ।
हालको लागि १२ र ३० वटा गरेर दुई आकारको मम 'बक्स' विक्रिको लागि तयार गरिन थालिएको छ । बजार माग अनुसार ममको 'पीस प्याकिगं', 'साइज' समेत उपलब्ध गराउनेगरि उत्पादन थालिएको संचालक शेरचनले जानकारी दिनुभयो ।
यसरी उत्पादन गरिएका मम किनेर लगेर घरमा सिधै पकाएर खान सकिन्छ । ममको गुणस्तरियता र उपभोग्य मिति जापान सरकारले तोके अनुसार उल्लेख हुने भएकाले आफुले चाहेको मम पकाएर बाँकी 'डिपफ्रिज'मा राखेर चाहेको बेलामा पुन पकाएर खान सकिन्छ ।
टोकियो ओकुबोमा रहेको आफ्नै नेपाली, थाई, भियतनामी, ईण्डियन, कोरियन लगायत सात देशका खाना पाइने 'याताइमुरा रेष्टुरेण्ट'मा भेटिनुभएका शेरचनले भन्नुभयो 'ममको व्यावसायिक उत्पादन व्यापार मात्र होइन नेपालको पहिचानलाई ब्राण्डिगं गर्ने विषय पनि भएकाले जापानमा रहनुभएका सबै नेपालीहरुको साथ र सहकार्यको पनि अपेक्षा गरेको छु ।'
व्यावसायिक उत्पादनसँगै बजारमा पठाउन थालेपनि जापानभर 'सुपा' तथा 'कन्भिनियन्स स्टोर'हरुमा उपलब्ध हुन केही समय लाग्न सक्ने भएकाले केही समय धैर्य गर्न र सोधखोज गरेर उपभोग गरि प्रतिक्रिया दिन जापानवासी नेपालीहरुसँग शेरचनले आग्रह गर्नुभयो ।