गोकर्ण अधिकारी-टोकियो
माइक पाएपछि बोल्ने, समयको ख्याल नगर्ने नेपाली नेतृत्वको शैलि एशिया प्यासेफिक नवौं सम्मेलनमा पनि देखियो । अधिकाशं वक्ताहरुले अनुरोध गरिएको समय भन्दा धेरै बेरसम्म भाषण गर्न थालेपछि संचालकले समयनै तोकेर बोल्न अनुरोध गरे । तर माइक पाएपछि किन होस रहन्थ्यो र अन्तिम वक्ता मन्त्री शेरबहादुर कुँवरसम्मले त्यो शैलि छाडेनन् ।
स्वागत मन्तव्यको रुपमा एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत र एशिया प्यासेफिक संयोजक डिपी कँडेल भने यसमा अपवाद बने ।
समृद्ध राष्ट्रका लागि एनआरएनएको भूमिका र प्रवासका नेपाली
दिल भुषण पाठक जस्तो सिनियर पत्रकारले मोडरेट गरेको यो कार्यक्रमबाट धेरै अपेक्षा राख्नु सायद नाजायज थिएन ।
तर यसमा भवन भट्टदेखि एमाले सांसद सुर्य पाठक, कुल आचार्य, बद्रि केसी, रबिना थापा, महेश श्रेष्ठले आ आफ्नै व्यापार व्यवसाय, दलिय आवद्धता र संलग्नताको क्षेत्र लक्षित रहेर धारणा राखे । यसअघिनै उद्घाटन सत्रमा खुल्लामञ्चमा चिच्याएर गरिने नेताहरुको भाषण शैलिमा आफ्ना भनाई राखेपखि कर्कस लागेको आवाज डा. सुर्य पाठकले यो सेसनमा पनि नछाड्दा नेता भएपछिको शैलिनै यस्तै हुँदो रहेछ कि क्यो हो भन्दै जापानबाट गएका उनका परिचित व्यक्तिहरुले कार्यक्रमका बिच कुरा गरिरहेका थिए ।
सुरुवातमा जो जसले जे जस्तो धारणा राखे निचोडका संचालक पाठकले विषय अनुसारको केही ठोस धारणा सबै सहभागीबाट लेराउलान् भन्ने हलको अपेक्षा जिवित थियो । तर हात्ति आयो हात्ति आयो फुस्सा हुनेगरि एनआरएनए उपाध्यक्ष रोविन्द्र श्रेष्ठले टोकन अफ लभ बाँडेर सेसन सकियो ।
'पिएनओ'का आवाज र अवस्था सहित पहिचानको माग
मुख्यत दोस्रो विश्व युद्धका समयमा एवं त्यस भन्दा अघि वा केही पछि नेपाल छाडेर थाइल्याण्ड, म्यानमार, सिंगापुर, मलेसिया लगायत देशमा पुगेका नेपालीहरु अहिले करिव ३ लाखको संख्यामा रहेका छन् ।
थाइल्याण्डमा मात्र करिव ८० हजार त्यस्ता नेपाली मूलका थाइ वा बर्मेली नेपालीहरु रहँदै आएको लगायत जानकारी थाई नेपाली संघका संरक्षक कुमार कार्कीले तथ्यगत जानकारी राखे ।
थाइल्याण्डमा नेपालीहरु कसरी पुगे, म्यानमार लगायत देशमा नेपालीको अवस्था, भाषा, संस्कृती र नेपाली पन जोगाउन गर्दै आएको प्रयासहरुको सचित्र वर्णनले यो सेसनको ईज्जत धानिदियो । नेपाल सरकारका मन्त्री मार्फत नेपाल सरकारलाई आफुहरुलाई एनआरएनएलाई जस्तो नागरिकता नभई पहिचानको सामान्य परिचयपत्र मात्र उपलब्ध गराउन गरिएको उनिहरुको अनुरोध जायज छ भन्ने कुरा प्रस्तुत दस्तावेज, खोज रिपोर्ट सहित त्यहाँ देखाइएको भिडियो प्रमाणहरुले पुष्टि गरेको थियो ।
थाइल्याण्ड, म्यानमार, सिंगापुर, मलेसिया लगायत देशमा सम्वन्धित देशले उपलब्ध गराउने राष्ट्रिय कार्डमा गोर्खाज वा नेपाली मुलका नेपाली भनेर लेखिएको पाइनुले पनि उनिहरु नेपाली मुलकै नेपाली हुन् भन्ने प्रमाण बोकेको रहेछ । उनिहरुले बोल्ने मातृ भाषा, धर्म, संस्कृती र संस्कारले पनि त्यसलाई थप पुष्टि गर्दछ ।
पिएनओको खंदिलो प्रस्तुतीले कार्यक्रम संयोजन गरेका ओम गुरुगं, बद्रि केसी, ओम शर्मा, भिम उदास, पुष्पराज तिमिल्सिना, सरोज दाहाल लगायतका सबै धारणालाई एकसाथ प्रस्तुत गरिदिएको थियो । उपाध्यक्ष धर्मराज अधिकारीबाट टोकन अफ लभ बाँड्ने औपचारिकता यहाँ पनि चल्यो ।
समृद्ध नेपालका लागि प्रवासी व्यवसायीको भूमिकाको भूमिका विहिन निस्कर्ष
ठूलो अनुहार देखिएको कार्यक्रमबाट सुरुवातमै ठूलै अपेक्षा राखिंदो रहेछ सायद, त्यहि भएर यो कार्यक्रममा पनि मुख्य व्यक्तिको रुपमा भुषण दाहालबाट त्यस्तै भूमिका र निचोडको अपेक्षा राखिएको थियो ।
वक्ताहरुमा डाक्टर सापहरुको लाइन र चर्चित अनुसार देखेपछि झनै आशा राखिने नै भयो । डा. दिपेन्द्र केसी, बिनोद चापागाईं, मदन रेग्मी, नहकुल केसी, ईन्दिरा तिवारी सहित चन्द्र प्रसाद ढकाल, आरके शर्मा, भुषण घिमिरेको नाम प्यानलिस्टमा देखिन्थ्यो ।
कार्यक्रमबाट देश बिकासको लागि प्रवासी नेपाली यवसायीको भुमिका र त्यसमा एनआरएनएको पहल र योजना आउनुपर्ने थियो । तर एनआरएनएका अगुवाहरुले भूकम्पका बेला गरेको सहयोग, नाकाबन्दीमा उपलब्ध गराएको सहयोगलाई व्यवसायको अर्थमा बुझेकि क्या हो त्यसैमा जोड दिए ।
बरु स्टेज र समयलाई आफ्नो पोल्टामा पार्दै व्यवसायी चन्द्र ढकालले आफ्ना व्यापार व्यवसायको भिडियो सहित योजनाहरु समेत प्रस्तुत गर्न भ्याए । कार्यक्रमको ठूलो समय ढकाल संलग्न कम्पनीहरुको जानकारी प्रस्तुत भइरहँदा लाग्थ्यो यि सबै प्रवासी नेपाली व्यवसायीका लगानी हुन् । तर त्यस्तो केही भएन, न त एनआरएनएले नयाँ कुनै योजनाको बारेमा ठोस जानकारी गराउन सक्यो न त नेपालमा लगानी गरेका व्यवसायीका तथ्यगत विवरणहरुनै प्रस्तुत गर्न । फगत गोलमडोल सहयोगका भाषण दिएर एनआरएनएका अध्यक्षहरु नै फितलो रुपमा प्रस्तुत भए ।
लैङ्गिक समानता, सामाजिक समावेशीकरण र समृद्ध नेपालका लागि देखिएन महिलाको भूमिका
महिलाका विषयमा केन्द्रित रहेर समृद्ध नेपालमा लैंगिक समानता र सामाजिक समावेशीकरणका मुद्दा यस सेसनको विषय थियो । तर भैदियो के भने यो छलफलमा सहभागी अधिकाशं महिला नेतृले आफुले गर्दै आएको काम र अनुभव मात्र प्रस्तुत गरे । अर्थात् समृद्ध नेपालका लागि महिला भूमिकाको विषय छायाँमा परिदियो ।
डा. विष्णु माया परियारको संघर्ष र सफलताका कथा रोचक र आकर्षक त थियो तर त्यो विषयगत छलफलमा कम समय कभर भएर लैंगिक समानता र सामाजिक समावेशीकरणसँगै समृद्ध नेपालमा महिलाको भूमिकामा केन्द्रित रहनु पर्नेमा विषयहरु छरपस्ट प्रस्तुत भए ।
शैलजा अधिकारीले महिला सहभागीता मात्र नभई निर्णयगत नेतृत्वमा उपस्थिति सहितका आफ्ना धारणा राख्दा एनआरएनए जापानका उपाध्यक्ष संगिता अधिकारी सुवेदिले संगठनात्मक काम र भूमिका प्रस्तुत गरेकी थिइन् । महिलासँगै समावेशिताको मुद्दामा समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले समावेशी आयोगले आरक्षण हटाउन सिफारिस गरेको भन्ने खवरमा सत्यता नरहेको पस्टोक्ति दिंदैमा समय सकियो भने लिलि थापा, मिर्जा अर्सद बेग, शोभा ढकालले संस्थागत क्षेत्रको अवस्थिति र धारणा राखेका थिए ।
कार्यक्रम युवन उपाध्यक्ष रोशन थापाबाट टोकन अफ लभ बाँडेर निस्कर्ष विहिन टुंगियो ।
स्वयं सहभागीहरुले नै स्टेजबाट झर्न नपाउँदै आफुहरुलाई विषय अनुसार गर्न भनेको तयारी र राखिने विषय वस्तुमा उचित समय उपलब्ध नगराएको भन्दै असन्तुष्टि पोखे ।
यस बिचमा कार्यक्रमको तालिका नेपाली समय परिपालना जस्तो भइसकेको थियो । खाना वा खाजा अघि गरिनुपर्ने कार्यक्रम पर धकेलिंदै गएको थियो । अनावश्यक विषयमा वक्तालाई समय उपलब्ध गराउनु वा बोलिरहँदा रोक्न नसक्नु र कार्यक्रमको विषय अनुसार प्रस्तुत हुन संचालकले डोर्याउन नसक्नु यसमा कमजोरी प्रस्टै झल्किन्थ्यो ।
'स्पिच कन्टेस्ट' आईसिसिलाई हस्तान्तरण नै मिलापको सफलता जस्तो देखियो
हुनलाई २८ तारिख अर्थात् भोली पल्टको कार्यक्रम पनि छँदै थियो । तर कोभिडको समयमा एनआरएनए एशिया प्यासेफिकले आयोजना गरेको स्पिच कन्टेष्ट प्रतियोगिता आईसिसीले गर्नेगरि सम्झौता सो अवसरमा भयो ।
सफल मानिएको कार्यक्रम क्षेत्रिय समितिले केन्द्रलाई हस्तान्तरण गर्नु राम्रो कदम त थियो तर यसलाई यस्तो रुपमा प्रस्तुत गरियो कि गत एनआरएनए एशिया प्यासेफिकको एकमात्र उपलब्धि उक्त कार्यक्रम थियो अनि मिलाप सम्मेलनको ठूलो उपलब्धि यो कार्यक्रम केन्द्रलाई हस्तान्तरण गर्नु थियो भन्ने अर्थमा प्रस्तुत गर्ने प्रयास गरियो ।
यसअघिनै आईसिसीलाई हस्तान्तरण गर्ने निर्णय भएर खवरमा आइसकेको विषय एशिया प्यासेफिकको ठूलो फोरममा केवल एउटा किस्सा मात्र थियो भन्ने सत्यता आयोजकले स्विकार्न नसकेको यसलाई अति बढाईचढाई गरेर स्टेजमा प्रस्तुत गरिएका शब्द र तामझामले देखाउँथ्यो । जसमा हस्ताक्षर गरेर आईसिसिलाई एशिया प्यासेफिक संयोजक पारशमणी पोखरेल र डिपि कँडेलले सुम्पँदा रोशन थापा र राज रेग्मिले आईसिसीको तर्फबाट कार्यक्रमको अपनत्व लिएको बुझबुझारथ गरे ।
...
बाँकी आगामी अंकमा प्रकाशित हुनेछ
...
'फिक्का' मिलाप सम्मेलन, उद्घाटनमा थाइ नेपाली किशोरीले नाक जोगाइदिए
मैंले देखेको 'फिक्का मिलाप सम्मेलन' र थाइल्याण्ड भ्रमण (भाग १)