गोकर्ण अधिकारी-टोकियो ।
दुईवटा ट्याक्सिमा होटल हिल्टनबाट हामी प्रिन्स प्यालेस तर्फ लाग्यौं । सबैजना छुट्टै रुपमा बस्ने भएपछि यसअघि ददिवल खड्का दाजुले बुकिगं गराएको ५ वटा कोठा ७ जनाको लागि पुगेन । मेरो र एनआरएनए आईसिसि प्रवक्ता शिव बरुवालको लागि थप दुई वटा कोठा लियौं ।
यात्रा र थकानका बिच राती खाना खाओ सान रोड क्षेत्रमा रहेका सडक किनारका पसलमा खायौं । केही फरक अनुभव भयो खाना, बजार, नाचगान र सांगितिक माहौलको । अनि त्यहिँ किनारमा भेटिनुभयो बर्माबाट आएर बोस्टन नामको थाइ खानाको रेष्टुरेण्ट संचालन गर्दै आउनुभएका नेपाली दाजु । दिनको समयमा नेपाली खाना पनि बनाएर बेच्ने गरेको बताउनुहुने उहाँले रात अबेर भएकाले अहिले भने नसक्ने भनेपछि थाइ खाना घापाओ र अन्य खानाहरु खायौं । त्यस बाहेक बिच्छि सिन्कामा उनेको, सिंगै गोहीको मासुहरु पनि अगाडीका पसलमा विक्रिका लागि राखेको पहिलो पटक देखें । तर खाने मन भने जागेन ।
केही समय खुला बजार क्षेत्रको खानाका स्टल, रेष्टुरेण्टहरुले राखेका डिजे सहितको म्यूजिकको मज्जा लिएर त्यहाँबाट नाना क्वल भन्ने ठाउँ पुगियो ।
नर्तकीहरुको श्लिल र अश्लिल नृत्यहरु हुने त्यस्ता क्लव पहिलो पटक यात्रा गर्दै थिएं, जसले गर्दा मेरो लागि नौलो अनुभव थियो । सपिगं कम्प्लेक्स जस्तो भवन भित्रका दर्जनौं कोठामा हरेकमा त्यस्तै नाच, मदिरा र युवतीहरुले भरिभराउ थिए ।
थकान र रात अबेर भएकाले निन्द्राले गालेर होला हामी केही बेरमा नै त्यहाँबाट निक्लियौं । त्यहाँबाट रातको करिव २ बजेतिर कोठामा पुगियो ।
मध्यान्ह मिलाप सम्मेलनको पत्रकार सम्मेलन साँझ क्रुज पार्टी भनेकाले हतारमा सुतियो ।
बिहान बसेकै होटलमा खाजा खाने समय थियो । ढिलो उठेकाले नुहाइसक्दा ९ बजेर ५५ मिनेट भएको रहेछ । दिपेश खनाल जि ले खाजा खानुभयो भनेर फोन गरेपछि पो थाहा भयो १० बजेसम्म मात्र खाजा खान पाइन्छ ।
हतारमा गएँ । जापानी शैलिको समय पालना खाजा प्लेटमा राख्ने वित्तिक समय सकिएको जनाउ घण्टि बज्यो । धन्न खाजा खाइयो ।
११ बजे ११ नम्वर फ्लोरमा भेटेर सबैजना हिल्टन होटल तर्फ लाग्यौं । ओर्लंदै गर्दा होटलको बाहिर देखें कपडाको फुटपाथे शैलिको पसल । पाँच तारे होटलको ढोकामा यस्तो व्यापार, अनौठो लाग्यो । तर सामान किन्ने वा बजार घुम्ने समय मिलेन ।
हिल्टन पुग्दा बाटामा जापानमा लोकप्रिय रहेको कन्भिनियन्स स्टोर सेभेन इलेभेन जताततै देखें । फेमिलि मार्ट भने ज्यानै कम रहेछन् । तर त्यहाँ पनि उस्तै, पसल बाहिर अन्य सामान विक्रिका पसलहरु । नेपालमा मुख्य चोक क्षेत्रमा रहेका पसलको बाहिर कपडा वा अन्य साना पसलहरु राखेजस्तै ।
अब मिलाप सम्मेलनको समय थियो । कार्यतालिका अनुसार दिनको १ बजेर ३० मिनेटमा होटलको लबिमा आउन र २ बजे पत्रकार सम्मेलन भनेर उल्लेख थियो । सोही अनुसार पत्रकार सम्मेलन हुने भनिएको हलमा जान लबिमा कुरिरहेको थिएं । तर १ बजेनै एनआरएनए एसिया प्यासेफिकका उपसंयोजक ददिवल खड्काले फोन गरेर भन्नुभयो पत्रकार सम्मेलन माथि सुरु भइसक्दो तपाईं कता हो रु
म अलमलमा परें । फेरी तालिका हेरें समय ठिक छ त । हतारमा पुगें, पत्रकार सम्मेलन आधाउधी भइसकेछ । हाजिरि जनाउन पुगेजस्तो भयो । पुग्नेवित्तिकै तीन अध्यक्षले आफ्ना सटिक कुरा राखे, प्रवक्ताले धारणा राखेर आयोजक देशका अध्यक्षले मन्तव्य राखेपछि कार्यक्रम सकियो । अर्थात् पत्रकार सम्मेलन यसअघि तोकिएको समयअघिनै सुरु भएर म बाहेकका अधिकाशं पत्रकार साथिहरुले खवर पाउनु भएर उपस्थिति जनाउनुभएछ । त्यसमा मेरो कमजोरी रह्यो वा आयोजकको थाहा भएन, कार्यक्रम ईभेन्ट पार्टनर रोविन शेरचन लगायत अन्य व्यक्तिहरु म भन्दा पछि आएर ढोकामा उभिनुभएको थियो ।
पछि थाहा पाएं, कार्यक्रम तालिका परिवर्तन गरिसकिएको रहेछ । तर किन सहभागीहरुलाई खवर गरिएन त्यो कुशल व्यवस्थापन गर्ने आयोजकनै जानुन् । पत्रकार सम्मेलनमै एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले त्यहाँको मन्दिरमा गरिन लागिएको सन्ध्याकालिन आरती र क्रुज पार्टी सहित सबै कार्यक्रम समयमै हुने भएकाले समयमै उपस्थित हुन विशेष जोड दिएर अनुरोध गर्नुभयो । लाग्यो थाइल्याण्ड जापान जस्तै समयमै चल्दो रहेछ, जगब लाग्यो यो पक्ष ।
मन्दिर दर्शनको लागि समय भन्दा केही मिनेट ढिलो आयौं हामी, होटल नजिकैको ताकासिमाया सपिगं कम्प्लेक्समा खाना खाएर फर्किंदा । जापानमा पनि रहेको ताकासिमायाको यो सपिगं कम्प्लेक्स यति बिशाल लाग्यो कि, मैंले जापानमा देखेका सपिगं कम्प्लेक्सहरु भन्दा ठूला ।
हामी होटल आइपुग्दा मन्दिर जानको लागि गाडिहरु छुटिसकेछ । तर त्यहिँ रहनुभएका एक दर्जन बढि सम्मेलनका प्रतिनिधिहरु गाडिमा सिट नपुगेको भन्दै आफुहरु नगएको बताइरहनुभएको थियो । हामीले पनि मन्दिर जाने चाहना हुँदाहुँदै आफैं केही मिनेट ढिलो आएकाले जाने तत्परता देखाएनौं र त्यहिँ बस्यौं ।
क्रुज पार्टि साँझ ७ बजेबाट ११ बजेसम्मको तालिका थियो । हामी अरुहरुसँगै समयमै क्रुजमा चढ्यौं । दुई तले क्रुजको व्यवस्थापन भव्यनै मान्नुपर्छ । भव्य यस अर्थमा त्यो आयोजकले आफैं गरेको नभई क्रुज संचालकबाट सम्पूर्ण व्यवस्थापन जिम्मा दिएकाले होला खानपिनको व्यवस्थापन व्यवस्थित देखिन्थ्यो ।
केही औपचारिक अनि अनौपचारिक सम्वोधन सहित, नाचगान लामो समय चलिरह्यो । मसुन्द्रबिचबाट पानी जहाँज गुड्दा दुई किनारका भव्य होटल र मलहरु, नदि माथिका पुल, दर्जनौं ओहोर दोहोर गरिरहेका पानि जहाँजले बैंककको विकास तर्फको लम्काइ र सम्पन्नतालाई प्रतिबिम्बित गरिरहेको थियो ।
११ बजेसम्म पानि जहाँजमा रहँदा नेपालबाट आउनुभएका पत्रकार साथिहरु, कलाकार तथा अन्य देशका प्रतिनिधिहरु सहित नेपाली मूलका थाइ नागरिकहरु धेरैसँग कुराकानी गर्ने मौका मिल्यो । क्रुज पार्टि अवधिभर थाई नेपाली संघका अध्यक्ष वाद्सना राई र उहाँको टिमले स्वागतमा कोटमा लगाइदिनुभएको फुलको गुच्छाले सबैको मुहारमा थप चमकता थपेको थियो । क्रुज पार्टिमा रहँदा नेपाली मूलकी थाई नागरिक पनिशा आईचानकुल, आईईसि ग्रुप नेपालका निर्देशक शैलजा अधिकारी, थाइ नेपाली संघका संरक्षक रहनुभएका कुमार कार्की लगायतसँग संक्षिप्त कुराकानी गर्ने मौका पनि जुर्यो ।
क्रुज पार्टि समापनसँगै रात अबेर भएकाले सबैजना आ आफ्नो बासस्थान र साँझको घुमफिर तिर लागे । हामी जापानबाट गएको टोलि मध्ये बिकास श्रेष्ठ, रोविन शेरचन, भिम बिनम्र खत्री पनि ख्लोगं तोई न्यूए एरिया घुमफिरमा गयौं । यो अघिल्लो दिनको जस्तो हामीलाई अश्लिल लाग्ने क्षेत्र भन्दा केही कम थियो, तर हामीलाई सभ्य लाग्ने प्रकृतिको भने थिएन । खुला बार, डान्स, डिस्को, पब हरेक चिज थिए । गाँजाको खुला किनबेच, यौन कर्मीहरु जताततै देखिन्थे । जुन गतिविधिलाई यहाँको कानुनले बैधता दिएको रहेछ ।
रात ३ बजेको सेरोफेरोमा कोठामा पुगेर सुत्यौं । थकानले अगष्ट २७ तारिख बिहान उठ्न गाह्रो बनायो । त्यसमाथि अनिदो । अघिल्लो दिन मन्दिर दर्शन र क्रुज पार्टि समयमै भएकाले आज समयमै पुग्नुथियो । एनआरएनए एशिया प्यासिफिक उपसंयोजक रहनुभएर पनि होला एउटै होटलमा रहनुभएका ददिवल खड्काले छिटो जाउँ भन्दै हामीलाई हतार गराउनुभयो, अन्य साथी विस्तारै आउने भएपनि म चाहिँ उहाँसँगै गएं । ९ बजेबाटै कार्यक्रमको तालिका तय थियो । हामी हलमा पुग्दा ९ बजेर ७ मिनेट गएको थियो । हामी बस्ने होटलबाट पुग्न आधा घण्टा करिव लाग्ने हुनाले हामी ढिलो हुन पुग्यौं ।
तर हलमा पुगेर हेर्छु त आयोजकनै बल्ल व्यवस्थापन गरिरहेका थिए । केही मिनेट बसेपछि पुन होटलको तल लबिमा फर्कियौं । करिव पौने १० बजे सबैलाई कार्यक्रम सुरु भयो जाउँ भनेर बोलाएपछि फेरी हलमा गयौं । तर ताल उस्तै, अर्थात् अझै सुरु हुने लक्षण थिएन । जापान र थाइल्याण्डका आयोजक भएपनि समय पालनामा नेपाली पारा देखियो । कार्यक्रम मुश्किलले साँडे १० बजेबाट सुरु भयो । अर्थात् तोकिएको समय भन्दा डेढ घण्टा ढिलो ।
यो ढिलाइमा कारण समयमै उपस्थित हुन अनुरोध गर्नुभएका एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको रह्यो वा आयोजकको रुपमा सम्पूर्ण हर्ताकर्ता बनिरहनुभएका एनआरएनए एशिया प्यासेफिक संयोजक पारशमणी पोख्रेलको हामी जानकार थिएनौं । एनआरएनए एशिया प्यासिफिकको संयोजककै पदमा रहेपनि देखेको सत्यता भन्नुपर्दा डिपी कँडेल जि को भूमिका त्यहाँ अह्राएको वा खटाएको काम गर्नुबाहेक निर्णयकारी भूमिका कतै देखिएन ।
धन्न कार्यक्रम ढिलो गरि सुरु गरेपनि कार्यक्रम सुरुवातमा थाईल्याण्डका नेपाली मूलका किशोरीहरुको विभिन्न भाषा र भेषभुषामा प्रस्तुत नृत्यले सबैलाई खुशी तुल्यायो । उनिहरुका प्रस्तुती मुक्तकण्ठले प्रशंसा गर्न लायक थियो । यतिञ्जेल सम्ममा भने बल्ल हलमा अधिकाशं सहभागी उपस्थित भएका देखिन्थे ।
...
बाँकी भोलिको अंकमा