(Japan) 2 nd May | 2026 | Saturday | 8:10:24 PM || (Nepal) 4:55:24 PM
 
 


मैंले देखेको 'फिक्का मिलाप सम्मेलन' र थाइल्याण्ड भ्रमण (भाग १)

  POSTED ON : Friday, 02 September, 2022 | Views : 4006

मैंले देखेको 'फिक्का मिलाप सम्मेलन' र थाइल्याण्ड भ्रमण (भाग १)


गोकर्ण अधिकारी, टोकियो ।

सोचेकै जस्तो सबै कुरा हुन्छ र हुनुपर्छ भन्ने छैन । तर लक्ष्य र उद्देश्य अनुरुपका कार्यक्रम भने होला भन्ने अपेक्षा गैर आवासिय नेपाली संघ एनआरएनए एशिया प्यासेफिक नवौं सम्मेलन मिलापबाट मैंले आशा गरेको थिएं ।

पहिलो पटक गैर आवासिय नेपाली संघको क्षेत्रिय सम्मेलनमा सहभागी हुँदै थिएं, आयोजकले नै उपलब्ध गराएको परिचय पत्र अनुसार जापानबाट पत्रकार प्रतिनिधिको रुपमा । साथमा हुनुहुन्थ्यो एशिया प्यासेफिक क्षेत्रका उपसंयोजक ददिवल खड्का, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली अनि कार्यक्रम प्रायोजन गर्नुहुने व्यवसायी रोबिन शेरचन लगायत ।

नारिताबाट बैंकक उड्ने बेलासम्ममा एनआरएनए जापानका उपाध्यक्ष संगिता अधिकारी सुवेदी, महासचिव सिद्धार्थ श्रेष्ठ, व्यवसायी शिवहरी पौडेल, विकास श्रेष्ठ, राम खड्का, श्री गुरुगं, दिपेस खनाल, भिम बिनम्र खत्रीसँगै यात्रामा रहनुभयो ।

थाइ एयरलाइन्सको सिधा उडानबाट करिव साँडे ६ घण्टामा सुवर्णभूमी बिमानस्थल ओर्लियौं । प्रस्थानअघि आयोजक देश तथा आयोजक संस्थाका संयोजकहरुले सबै आगन्तुकलाई बिमानस्थलमा स्वागतसँगै कार्यक्रम आयोजना हुने होटलसम्म गाडीको व्यवस्था गरिएको बताएका थिए । बिमानस्थलमा नै डेस्क राखिएको देखि आउनुअघि खवर गर्न भन्दै जानकारी राखेको देखिन्थ्यो ।

सोही अनुसार हामी सबैको विवरण एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत सहित एशिया प्यासेफिकका संयोजक पारशमणी पोख्रेललाई पठाइसकिएको उससंयोजक खड्काले बताउनुभयो ।

त्यसमाथि कार्यक्रम आयोजनाको लागि मुख्य प्रायोजन गर्नुहुने व्यवसायी सहित अन्य प्रायोजक तथा एनआरएनए जापानको उपाध्यक्ष सहितको टिम रहेकाले बिमानस्थलमा लिन आउनेमा हामी ढुक्क थियौं । सोही अनुसार बिमानस्थल अवतरणपछि करिव एक घण्टा हामीले हामीलाई लिन आउने गाडीको खोजिमै खर्चियौं । तर न आयोजकले सम्पर्कको प्रयासको राम्रोसँग जवाफ नै दिए न त लिन नै आए । हामीहरु त्यसपछि बिमानस्थलमा पाइने ट्याक्सि लिएर मिलेनियम हिल्टन होटल पुग्यौं ।

बिमानस्थल देखि होटलसम्मको करिव आधा घण्टाको यात्रामा थाइल्याण्डको बिकाससँगै राजधानी बैंककले एशियाली देशहरुमा आफुलाई प्रगतितर्फ फड्को मारेको संकेत दियो । गगनचुम्बी भवन, ठूला राजमार्ग, व्यवस्थित सडक, सफा वातावरण, रेल मार्ग अनि सडक किनारका लहरै पसल तर कतै नदेखिने फोहोर व्यवस्थापन लगायतले मैंले सोचे भन्दा विकासको गतिमा थाइल्याण्ड अघि बढिसकेको पाएं ।

ट्याक्सि लिनको लागि बिमानस्थलमा राखिएका डिजिटल बोर्डले पनि यसको छनक देखाएको थियो । अझ बिमानस्थल भित्रको भव्यता हाम्रो त्रिभुवन बिमानस्थलसँग कुनैपनि मानेमा तुलना गर्नै नसकिने खालको थियो ।

ट्याक्सि चालकहरु अधिकाशं बिदेशी भाषा बोल्न नखोज्ने वा बिदेशी भाषा नजानेका हुँदा रहेछन् । हामी चढेको दुवै ट्याक्सि चालक अति सामान्य अँग्रेजी भाषा पनि बुझ्दा रहेनछन् । जापानी, हिन्दी वा नेपाली जुन हामीले जानेका थियौं, त्यसमा न झन् बोल्ने कुरै भएन ।

रोचक कुरा ट्याक्सि यात्राबाट के थाहा पायो भने उनिहरुले हुन्छ, छ, ल, भयो, जस्ता सकारात्मक जवाफ दिन अँग्रेजी ह्याभ र हुन्न, छैन, जाँदैन, मिल्दैन जस्ता जवाफ दिन नो ह्याभ भन्दा रहेछन् । भनेको थाइल्याण्डको चल्तिको अँग्रेजी शब्द ह्याभ र नो ह्याभ रहेछ ।

मिलेनियम हिल्टन होटल पुगेर भित्र पस्दा होटलको मुल ढोकामानै बिमानस्थलमा जस्तैगरि सामान मेसिनमा राखेर चेक गरिरहेको पायौं । त्यसमा पनि थाइ प्रहरीहरु बर्दिमै बसेर । होटल सुरक्षामा प्रहरी, हामी आश्चर्यमा पर्यौं । तर पछि फर्कने बेलामा मात्र थाहा पाइयो ओपेक सम्मेलन अन्तर्गतको केही बैठक उक्त होटलमा जारी रहँदा यो कडा सुरक्षा व्यवस्था राखिएको रहेछ । जुन तीनदिन सम्म हामीले अपनायौं ।

होटलको मुल ढोकाबाट भित्र पसेपछि भने मिलाप सम्मेलनको डेस्क राखिएको रहेछ । थोरै राहतको सास फेर्यौं । तर राहतको सास फेर्न नपाउँदै सम्मेलन आयोजकको व्यवस्थापकिय भद्रगोल छताछुल्ल देखा पर्न थाल्यो ।

दुई जना सहयोगी रहेको डेस्कमा आधिकारिक जवाफ वा बिदेशबाट आएका प्रतिनिधिलाई स्वागत गर्ने सम्हालेर नियम र त्यहाँको बारेमा जानकारी दिने कोही थिएनन । हामीले आयोजक प्रमुख ज्यूहरु कता हुनुहुन्छ भन्दा उल्टै हामीलाई केही थाहा भएन, पारस जिहरु एयरपोर्ट जानु भएको छ, भविन्द्र जि हरु अर्को कामको लागि जानु भएको छ । यस्तै यस्तै गोलमडोल जवाफ मात्रै पायौं । उहाँहरुबाट स्वागत त त्यस्तै हो बरु हामीले जापानबाट जाँदा लगेको केही उपहार उहाँहरुलाई दिंदै भविन्द्र जि लाई दिनुहुन अनुरोध गर्यौं ।

बिमानस्थलमा लिन आउने वा स्वागत नपाएपनि होटलमा राम्रो रेस्पोन्स अपेक्षा गरेका दशौं लाखको स्पोन्सर गरेका अतिथिहरु सहित डिआरसी खड्का र अन्य प्रतिनिधिहरुले त्यहिँ असन्तुष्टि पोखे । मँ परबाट यो सबै नियालीरहँदा बजारमा हल्ला र हौवा पिटेर प्रचार गरेजस्तो मिलाप सम्मेलन नहुने छाँटकाट देख्दै थिएं । किनपनि भने नेपालबाट आएको पत्रकारहरुको टोलि, जसलाई थाइल्याण्ड बारे कुनै जानकारी छैन उहाँहरुलाई पनि लिन न गाडि गएको थियो, न स्वागत नै उहाँहरु ट्याक्सि चढेर आफुहरुपनि होटल आउँदै गरेको सोही समय फोनमा बताउनुभयो ।

सहभागीहरु मध्ये प्रायोजकहरु, एनआरएनए विशेष पदाधिकारीहरुको लागि सोही होटलमा कोठा रहेको बताइएको थियो । सोही अनुसार सोधपुछ गर्दा डेस्कमा रहेकाहरुले आफुहरुलाई सो बारेमा थाहा नभएको बताए । केही समयपछि थाइल्याण्ड एनआरएनएका केही पदाधिकारी आउनुभयो, उहाँहरुले पनि छ होला, तर थाहा नभएको भन्दै केही समय आराम गर्न भने । मनमा लाग्यो सबै कुरा थाहा छ चाहिँ कसलाई ?

करिव डेढ घण्टा होटलको रेष्टुरेण्ट क्षेत्रमा बस्यौं र खाजा खाएर थकाई मार्यौं । अनि देखा पर्नुभयो एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत सहित एशिया प्यासेफिक संयोजक पारसमणी पोख्रेल लगायत अन्य व्यक्तिहरु । अनुहार र बोलीमा असन्तुष्टिको भाव झल्किनेगरि हामीसँगै रहनुभएका व्यक्तिहरुले बताएपछि संयोजक पोखरेलले तत्काल प्रतिनिधिको पास मिलाउने देखि होटलको कोठा मिलाउन थाले । तर प्रतिनिधिको रुपमा फर्म भरेरै गएका हामी केहीको नाम समेत लिष्टमा छैन भनिएको थियो, तर पछि पोख्रेलले तत्काल नाम राखेर दिन भन्दैथिए ।

तर कार्यक्रम प्रायोजक, पार्टनर, पत्रकार सबैको एउटै डेलिगेट्स परिचयपत्रमा राखेको पाइएपछि त्यहिँ त्यस्तो कार्ड नलिने भनेपछि केही बरेमा उपलब्ध गराउने भन्दै परिचय पत्र छाप्न लगाउन र पछि उपलब्ध गराउने भन्दै भएकाहरुको कार्ड उपलब्ध गराइयो ।

हामी मध्ये अधिकाशंले पास पायौं तर भनिएको संख्यामा हिल्टनमा कोठा उपलब्ध नगराउने देखिएपछि यसअघिनै हामीले कोठा बुकिगं गराएको प्रिन्स प्यालेस होटलमा थप कोठा लिएर सबैजना उतै बस्ने निधोमा पुग्यौं ।

बाँकी भोलीको अँकमा...