हामीहरुलाई लाग्न सक्छ यस्तो गर्मि नेपालमा पनि हुन्थ्यो नर्मल हो भनेर, त्यस्तो हैन रहेछ । सोमबार भएकोले ब्रत पनि थियो, खासै केहि खानेकुरा पनि भएन, फेरी कुयाक्सो जानुपर्ने भएकोले पूजा गरेर छिटो नै निस्किएको थिएँ ।
रुमबाट, नाकानो कु को कुयाक्सो प्राय धेरैनै विजि हुन्छ । लगभग २ घण्टा जति लाग्यो, लगभग ११:४५ जति भएको थियो । बाहिर निस्किदा गर्मिपनि धेरै नै थियो, पानि खान मन लागेको थियो । मलाई थाहा छ यो राम्रो होइन तरपनि ब्रतको दिनचाँही कोम्बिनीहरुको पानि खादिन । सकेसम्म घरको धाराको पानि नै खान्छु, त्यहाँ नजिकै पानिको धारो थिएन ।
नाकानो पार्कमा छ छन त, तर कोयाक्सोबाट अलि परनै छ । भयोः अब सबै कामहरु सक्छु अनि घरमा गएर खान्छु भन्दै अरुहरु काम गर्न थाले । सबैकाम सक्दा पनि गर्मि त्यतिकै थियो, अनि सोचे आज विदाको दिन सबैकाम सक्नुपर्छ भनेर होउकोन्ज्यो पनि जानुथियो । होउकोन्ज्यो गएँ, त्यहाँ जादानै आफूलाई अलिअलि अनइजि फिल भएको जस्तो लागेको थियो, सोचेँ केहि नखाएर होला भनेर होउकोन्ज्योको काम पनि सकियो । अब छिटो छिटो घर जान्छु अनि पानि खान्छु भनेर हत्तार हत्तार गरेर हिन्दै थिएँ ।
त्यति सम्म याद छ त्यसपछि ४ बजेतिर आखा खुल्दा टोकियो मेट्रोपोलिटन प्रहरी अस्पताल नाकानोको बेडमा रहेछु । डाक्टर साइडमा हुनुहुँदो रहेछ । उहाँलाई सोधेँ के भएको, कसले यहाँ लेराएको मलाई ? भनेर । उहाँले भन्नुभयो बाटोमा ढलेको देखेर एकजना जापानीले प्रहरीलाई फोन गर्नुभएको थियो अनि एम्बुलेन्समा यहाँ लेराएको भन्नुभयो । फेरि सोधें मलाई भएको चाहिँ के हो ? भनेर ।
उहाँले हिटस्ट्रोक भएको हो भन्नुभयो । मलाई राम्रोसंग थाहापानि थिएन कि हिटस्ट्रोक हुदा के हुन्छ ? अनि के गर्नु पर्छ ? भनेर त्यसपछि उहालाई सब डिटेलमा सोधें । हिटस्ट्रोक के हो ? कस्तो मान्छेलाई हुन्छ र हिटस्ट्रोक हुँदा के गन पर्छ भनेर उहाँले भन्नुभए अनुसार,
हिटस्ट्रोक भन्नाले अधिक तापक्रमको कारणले बातावरण लामो समय सम्म तातो रहेमा विस्तारै विस्तारै शरिरभित्र तरलपदार्थ अनि नुनको सन्तुलन विग्रन जान्छ । शरिरमा तापक्रम नियन्त्रण गर्ने क्षमता कम हुन्छ र तापक्रम नियन्त्रण हुन सक्दैन । जसले गर्दा शरिरमा तापक्रम अत्यधिक मात्रामा गुम्सेर रहनु हो !बाहिर निस्कँदा मात्र नभएर कोठामानै बस्दापनि हिटस्ट्रोक भएर एम्बुलेन्सबाट हस्पिटल लैजानु पर्ने अवस्था वा गम्भीर भएर मान्छेको मृत्यु पनि हुन सक्छ ।
हिट स्ट्रोक एक गम्भीर गर्मीको रोग हो, जसलाई शरीरको तापक्रम ४० डिग्री भन्दा बढी हुनुको कारण हाइपरथर्मिया भनेर परिभाषित गरिएको छ । किनभने थर्मोरेगुलेसनको कमीको साथ वातावरणीय तापको जोखिम उच्च हुन्छ । शरिरको तापक्रम उच्च हुन पुगेपनि यो ज्वरो भन्दा फरक छ । जहाँ तापक्रम निश्चित बिन्दुमा पुगेपछि शारीरिक रुपमा वृद्धि हुन्छ ।
मोटोपना, शरिरमा पानीको कमी, निन्द्राको कमी, पुरानो रोग, भर्खरै बिरामी भएको वा शरिरमा कुनै रोग देखापरेका, औषधि सेवन गर्दै आएका व्यक्तिहरुमा हिट स्ट्रोक हुने सबैभन्दा धेरै सम्भावना रहने चिकित्सकहरुले सम्झाए । यस बाहेक बाहिरी वातावरण उच्च गर्मी रहेको अवस्थामा जो कोहीलाई उच्च थकान वा शारिरिक कसरत पर्दा हिट स्ट्रोक हुनसक्छ ।
यि कुराहरु बुझाइसकेपछि उहाँहरुले हिटस्ट्रोकका लक्षणहरुबारे पनि जानकारी दिनुभयो ।
जस अनुसार अलिधेरै समय सम्म एकैठाउँमा बसेर उठ्दा रिङ्गटा लाग्ने, हात खुट्टा निदाउने र वाउडिने, टाउको दुख्ने, कमजोर भएको जस्तो अनुभव हुने, वान्ता हुने, सामान्य अवस्थामा भन्दा धेरै थकाइ लाग्ने, शरिर अत्यधिक मात्रामा तातो हुने, बेहोस हुने जस्ता घटना हिट स्ट्रोकले गराउँछ ।
यि सबै कुराहरु बताइसकेपछि उहाँहरुले मलाई हिट स्ट्रोक बाट बच्ने उपाएहरु पनि बताउनुभयो । जुन म जस्तै अन्जानमा नसोचेको घटनामा पर्नसक्ने जोखिममा रहनुभएकाहरुको लागि धेरै उपयोगी हुने लागेर यहाँ समेटेको छु ।
घरमा बस्दा पंखा वा एयर कन्डिसन वातानुकुलित अर्थात् शितल प्रदान गर्नेगरि मिलाउने । घामको प्रकाश रुममा सिधा पर्न नदिने, पातलो खालको पर्दा लगाउने । रुमको तापक्रम बेलवेलामा चेक गर्ने, घरबाट बाहिर निस्कदा घाम छेक्ने खालको छाता वा क्याप लगाउने ।
घाम लागेको दिनमा सकेसम्म दिउसो काम विशेष बाहेक बाहिर ननिस्कने । आफ्नो शरिरमा लामो समयसम्म उच्च तापक्रम हुन नदिन हावा छिर्ने, पसिना सोस्ने तथा छिटो सुक्ने खालको पहिरन लगाउने । गर्मिमा बाहिर निस्कदा बेलवेलामा रुमालमा पानिराखेर निधार, घाँटि अनि टाउकोमा लगाउने , प्यास नलागेपनि सकेसम्म पानि तथा अन्य चिसो पेय पदार्थहरु छिनछिनमा पिउने । यति गरेमा हिट स्ट्रोक हुनसक्ने सम्भावनाबाट धेरै हदसम्म बच्न सकिन्छ । हिट स्ट्रोक हेर्दा सामान्य लागेपनि म जस्तैगरि कुनैपनि समयमा बेहोस भएर ढलेको अवस्थामा सामान्य छिटो अस्पताल पुर्याउन सकिएन भने ज्यानै जान सक्छ ।
धन्न म सडकमा सबैले देख्ने ठाउँमा ढल्न पुगें र मैंले तत्काल उपचार पाएं । यदि घरमा, एकान्त ठाउँमा हिँडिरहेको अवस्थामा वा कतिपय बेला सुतेको अवस्थामा समेत हिट स्ट्रोक भएर अचेत भयो भने समयमै उपचार नपाई ज्यान समेत जान सक्छ । त्यसैले हिट स्ट्रोक बारेमा सबैले बुझौं र अरुलाई पनि बुझाएर सचेत बनौं ।