(Japan) 10 th August | 2022 | Wednesday | 8:00:58 PM || (Nepal) 4:45:58 PM
 
 

नेपाल मन पराउने, नेपालीलाई मायाँ गर्ने एक जापानी : जसले ११८ पटक नेपाल यात्रा गरिसके

Gokarna Adhikari   POSTED ON : Friday, 05 August, 2022 | Views : 2316

नेपाल मन पराउने, नेपालीलाई मायाँ गर्ने एक जापानी : जसले ११८ पटक नेपाल यात्रा गरिसके


टोकियो, जापान ।

जापानी सेनाको तर्फबाट युद्धमोर्चामा होमिनुभएका उहाँको पिता दोस्रो बिश्वयुद्धको अन्तिम प्रहरमा नियन्त्रित चिनियाँ भूभागमा रहेर लडिरहेका थिए । विश्वयुद्ध अन्त्य घोषणासँगै जापानी सेना उक्त भाग छाडेर जापानी मूलभुमि फर्कियो ।

पानि जहाँजको कठिन यात्राबाट फर्किरहेको त्यो टोलिमा बुवासँगै उहाँ आमाको पेटभित्र रहेर फर्किए । परिवारै सहित बसेका जापानी सेनाले सैन्य सामग्रीसँगै वन्दोवस्तिका सामान समेत सँगै लेराएकाले पानी जहाँज यति भरिभराउ थियो कि त्यहाँ एकअर्का व्यक्ति टाँसिएर बस्नुको विकल्प थिएन । त्यस्तो भिडको यात्रामा दुईज्युकी महिलाको यात्रा कति कठिन थियो होला, सहजै कल्पना गर्न सकिन्छ ।

'मेरो बुवा आमा हाम्रो पुर्ख्यौलि घर तोत्तोरी प्रान्त आइपुग्नु भएको भोली पल्ट सन् १९४५ सेप्टेम्बर ८ मा म जन्मिएको अरे !' ताकासी ताकेमोतोले भन्नुभयो 'यदि उक्त पानी जहाँजमै रहँदा म जन्मिएको भए मलाई बचाउन सक्ने सम्भावना नै नरहेको बुवा आमा बताउनुहुन्थ्यो ।'

'जापानमा जेठो छोराले मात्र पैतृक सम्पत्ती पाउने भएको र मेरो बुवा माइलो छोरा भएकाले हजुर वुवाको सम्पती नपाउने भएका कारण वुवा कामको खोजिमा आमा र मलाई लिएर राजधानी टोकियो आउनुभएको थियो ।'

ताकेमोतोको रोचक कुरा सुनिरहँदा सोध्न मन लाग्यो 'त्यतिबेलाको जापान अनि राजधानी टोकियो कस्तो थियो ?' ताकेमोतोले छोटकरीमा भन्नुभयो 'सबै याद त छैन, तर ठ्याक्कै अहिलेको नेपाल जस्तै !'


अध्ययन छाडेर ४७ बर्षदेखि अनवरत व्यवसाय

करिव ३ बर्षको उमेरमा टोकियो आउनुभएका ताकेमोतोले विश्वविद्यालय अध्ययन विचैमा छाड्नुभयो तर त्यसलाई आफ्नै व्यापार सुरुवातको कारण जनाउँदै ताकेमोतो भन्नुहुन्छ 'घरजग्गा, नक्सा तयार तथा जाँचपास सम्वन्धि काम गर्ने कार्यालय खोलें जुन ५५ बर्षदेखि अहिलेसम्म संचालन भइरहेको छ ।' ७७ बर्ष उमेरमा पनि व्यावसायिक सक्रियता पूर्ण रुपमा नत्यागिसक्नुभएका ताकेमोतोको व्यवसाय अहिले भने छोरीले सम्हाल्नुभएको छ ।


नेपालसँगको सम्वन्ध सुरुवात

आज भन्दा करिव ६० बर्ष पहिलेको कुरा हो, गुन्मा प्रान्तको एक ठाउँमा हिमाल चढ्ने तालिमको क्रममा ठूलो दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाए । सँगै उक्त ट्रेनिगंमा गएका तीन जना साथिको निधन हुँदा संयोगले पेट दुखेका कारण उक्त दिन तालिममा सहभागी हुन नसक्दा ज्यान जोगिन सफल एक व्यक्ति पछि ताकेमोतोको साथी बने ।

त्यसपछि उक्त घटनाबाट पीडित बनेर जोखिमपूर्ण काम छाडेका ताकेमोतोका साथी वातानाबेले घरजग्गा किनबेचको काम (फुदोसान)को काम थाले । कम्पनी धरासायी भएपछि उनले ताकेमोतोकै कार्यालयमा कामको लागि अनुरोध गर्दा उहाँले सहजै स्विकार गर्नुभयो । काम गरेको करिव ३ बर्षपछि वातानाबेले नेपालमा गएर पुन हिमाल चढ्ने सपना ताकेमोतोलाई सुनाए । 'मैंले उहाँको पहिलाको घटना थाहा पाएर उहाँको सपना सुनेपछि विदा स्विकृत गरें ।' त्यसपछि वातानाबे १ महिना नेपाल गएर हिमाल चढ्ने ट्रेनिगं पुरा गरेर जापान फर्किए ।

उनै वातानाबेले नेपाल यात्राका क्रममा भेटेका दुई नेपालीलाई जापान बोलाए र ताकेमोतोसँग पनि भेट गराए । पछि ताकेमोतोले ति दुई नेपालीलाई जापानमा रहन भिषा लगायत प्रक्रियामा निस्वार्थ सहयोग गरे । रोचक कुरा पछि तिनै नेपालीले नेपाल घुम्न आउन धेरै आग्रह गरेपछि ताकेमोतोले सन् १९९२ मा पहिलो पटक नेपाल टेकेका थिए ।

नेपालको सुन्दरता, नेपालीहरुको मिलनसार व्यवहार, कला संस्कृतीबाट लोभिएका ताकेमोतोलाई पहिलो नेपाल भ्रमणले नै मोहनी लगायो ।

त्यसमाथि बौद्ध धर्मको अन्तिम उपदेशमा आधारित 'सिन्योन मार्ग'सँग आवद्ध रहेका कारण ताकेमोतो बुद्ध जन्मभूमि नेपालसँग झनै नजिकिन पुगे ।

'मैंले नेपालको पूर्व देखि पश्चिमसम्मको ८० भन्दा बढी ठाउँहरु भ्रमण गरेको छु । नेपालको पर्यटकिय स्थानहरु प्राय पुगेको छु । ताकेमोतोले भन्नुभयो नेपाल भ्रमण गरेर म कहिले पनि थाक्दिन र अघाउँदिन ।'


व्यक्तिगत प्रयासमै नेपालमा करोडौं सहयोग, जापानमा सयौंलाई साथ

जापानमा बस्ने सयौं नेपालीहरुले चिनेजानेको आधारमा भिषा देखि व्यक्तिगत समस्या, पारिवारिक हेरचाह र प्रशासनिक समस्या पर्दा ताकेमोतोलाई सम्झने गर्छन् । 'नाम त भन्न मिल्दैन तर मैंले सयौं नेपालीहरुलाई कानुनी सहित प्रशासनिक, भिषा जस्ता धेरै कुरामा सहयोग गरेको छु ।' ताकेमोतोले भन्नुभयो ।

'नेपालमा चाहिँ धेरै नेपालीहरुले विभिन्न समस्या देखाएर पैसा माग्ने गर्नुहुन्छ । पढ्न चाहन्छु, यस्तो रोग लाग्यो उपचार गर्न पैसा छैन, मलाई जापान लगिदिनुहोस् भन्नुहुन्छ । म पनि त्यस्तो धनि मान्छे होइन । मैंले अहिलेसम्म कमाएको र मेरो तलबहरु प्राय सबै नेपालको लागि र नेपालीहरुको लागि खर्च गर्ने गरेको छु । सबैले माग्दा मैंले दिनै सक्दिन, तर म सक्दिन भन्न पनि सक्दिन । त्यसैले भएको जे जस्तो छ सबैलाई सकेसम्म सहयोग गर्नेगर्छु ।'


दुई देशको सम्वन्ध विस्तारमा जापान नेपाल फ्रेण्डसिप काउन्सिल मार्फत पहल

नेपाल र जापान यात्रा गरिरहँदा धेरै नेपालीहरुबिच चिनजान भएपछि मलाई धेरै जनाले दुई देशको सम्वन्ध विस्तारमा काम गर्न आग्रह गर्नुभयो ।

त्यसपछि जापान नेपाल फ्रेण्डसिप काउन्सिल एनपिओ गठन गरेर हामीले दुई देशका राजदूत, कुटनीतिक व्यक्तिहरु, सरकारी अधिकारी सहित संघसंस्थाहरुको तहमा समन्वयात्मक, छलफल र आपसी कुराकानी आदान प्रदानको काम र सहयोग गर्दै आएका ताकेमोतोले जानकारी दिनुभयो ।

'कोभिड महामारिपछि हामीले संस्थालाई गति दिन सकेका छैनौं, म धेरै सक्रिय हुन नसक्ने भएकालेपनि सक्रियता घटेको छ । अब नयाँ पुस्तालाई संस्थाको जिम्मेवारी सुम्पने बिचार गरेको छु ।' जापान नेपाल फ्रेण्डसिप काउन्सिलका अध्यक्ष रहनुभएका ताकासी ताकेमोतोले भन्नुभयो 'नेपालमा सरकारी स्कुलमा पढ्न खासै पैसा लाग्दैन । तर विद्यालयमा लगाउने कपडा, झोला र किताब पनि किन्न नसक्ने धेरै जना हुनुहुन्छ । हामीले तिनै व्यक्तिहरुमध्ये बर्षेनि ३ सय जना जतिलाई बर्षको ३,००० येन उपलब्ध गराएर सहयोग गर्दै आएका छौं ।'

यो पैसा जापान नेपाल फ्रेण्डसिप काउन्सिलको सदस्य बन्ने व्यक्तिबाट उठाएर सहयोग गर्ने गरेकामा कोभिड महामारिपछि यो काम पनि प्रभावित भइरहेको छ ।

'एक पटक चिबा प्रान्तमा नेपाल गएर धेरै जनासँग राम्रो सम्बन्ध बनाएको आफ्नो छोराको असामयिक निधन भएका एक जना व्यक्तिले छोराको सम्झनाको लागि नेपालमा विशेष सहयोग गर्न चाहनुभयो र हाम्रो जापान नेपाल फ्रेण्डसिप काउन्सिलमा सम्पर्क गर्नुभयो ।

उहाँले काभ्रेमा एक विद्यालय निर्माण गर्न दुई चरणमा पहिलो पटक ५०० मान जापानी येन र दोस्रो पटक २०० मान गरेर त्यतिबेलाको झण्डै ८० लाख नेपाली रुपैयाँ सहयोग गर्नुभयो । उक्त रकमबाट दुईवटा विद्यालय भवन बनेर अहिले करिव ४०० जना विद्यार्थी पढिरहनुभएको सुनेको छु ।'

यसैगरि म आवद्ध भएको सिन्यो येन मार्गमा रहनुभएकी एक महिलाले आफ्नो परिवारको सदस्य वित्नु भएपछि नेपालमा सहयोग गर्न चाहनुभयो र पटक पटक गरेर ठूलो रकम सहयोग गर्नुभयो । तर उहाँले कहिले पनि आफ्नो सहयोग भने खुलाउन चाहनु भएन ।

सप्तकोशी बाढि पिडितहरुको लागि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहँदा मैंले सिन्यो येनकै तर्फबाट ४० लाख जापानी येन सहयोग उपलब्ध गराउन सफल भएको थिएं ।

गोरखा भूकम्पका समयमा नेपालमा भएको बिनासमा विभिन्न राहत सहयोगसँगै मुग्लिन नजिकै ३० वटा अस्थायी आवास निर्माण सहयोग गरिएको थियो ।

'यस बाहेक ३ वटा एम्बुलेन्स गोरखा, काठमाडौं र ललितपुरका अस्पताललाई उपलब्ध गराउन सफल भएको छु ।

रोचक कुरा भनौं तपाईंलाई नेपालका पहिलाका प्रधान सेनापती रुक्मागंत कटुवालसँध धेरैपटक भेटघाट र सामाजिक काममा सहकार्य गर्ने अवसर पाएको छु । उहाँले त मेरो नेपाली नाम समेत राखिदिनुभएको छ बल बहादुर राई ।'


२५ बर्षमा ११८ पटक नेपाल यात्रा

मैंले पहिलो पटक ४६ बर्षको उमेरमा सन् १९९२ मा पहिलो पटक नेपाल यात्रा गरेको थिएं । त्यसपछि कुन कुन बर्ष गएं सबै भन्न त सक्दिन तर अहिलेसम्म ११८ पटक नेपाल पुग्ने सौभाग्य पाएको छु ।

कहिलेकाहिँ बर्षको तीन पटकसम्म र कहिले एक दुई पटक गएं । अहिले चाहिँ कोरोना महामारीको कारण नेपाल जान पाएको थिइन अब यहि अगष्ट अन्तिम तिर नेपाल जाने तयारी गरिरहेको छु । यस पटक धेरै लामो समयपछि जान लागेको भएर होला म धेरै उत्साहि छु । किनभने मलाई नेपालको धेरै नियास्रो लागेको छ ।


नेपालको अवस्था बारेको बुझाई

नेपाल धेरै सुन्दर छ । नेपालीहरु धेरै राम्रो हुनुहुन्छ । तर बिकास धेरै भएको छैन ।

सरकारले राम्रोसँग योजना बनाएर जनताको लागि काम नगर्दा यस्तो भएको हो जस्तो लाग्छ ।

मैंले सुनेको 'सरकारले अनि माथि भएका मान्छे, नेताहरुले स्वार्थले काम गर्ने गर्छन् । त्यस्तो हो भने नेपालमा विकास हुन जापान जस्तो हुन अझै धेरै धेरै समय लाग्छ ।

मेरो बिचारमा जनतालाई सोचेर राम्रो योजना बनाएर काम गरेमा नेपालमा पैसाको खाँचो छैन, धेरै छिटो नेपालमा ठूलो विकास गर्न सकिन्छ ।

मान्छेहरु खाली स्वार्थी, स्वार्थी, स्वार्थी बन्दा यस्तो बनेको हो, आफुले अलिकति दुख पाएपनि अरुलाई खुशी र सुखी बनाउन सबैले राम्रो मन लिएर काम गर्यो भने सबै कुरा राम्रो हुन्छ ।

मलाई थाहा छ हामी जिवित छँदै त्यस्तो हुँदैन तर गर्नुपर्छ, हामी मरेर गएपनि हाम्रो सन्तानले राम्रो अवस्था देख्न र भोग्न पाउँछन् ।'