(Japan) 10 th August | 2022 | Wednesday | 7:32:40 PM || (Nepal) 4:17:40 PM
 
 

जापानमा 'नर्सिङ' सेवाप्रति नेपालीहरुको सोच किन यति संकिर्ण ?

sangita bista   POSTED ON : Sunday, 24 July, 2022 | Views : 2242

जापानमा 'नर्सिङ' सेवाप्रति नेपालीहरुको सोच किन यति संकिर्ण ?


समाजसेवा गरिररहेको पारिवारिक पृष्ठभुमीमा हुर्केको भएर होला सायद मलाई सानै उमेर देखि नै पशुपन्छी, जनावरको हेरचाह, आफ्नो परिवार, साथीभाई, ईष्टमित्र लगायत छरछिमेकीहरुलाई सामान्य सहयोग गर्न पाउँदा पनि निकै हर्षित हुन्थें ।

आफ्नै देशमा केहि गरौंला भन्ने सोच विचार गर्दागर्दै पनि विभिन्न कारणवश आज परदेशी जीवन विताइरहेकी छु, जुन रहर नभई वाध्यता हो ।

जापान प्रवेशपछि यहाँको भाषा, स्थिती, परिवेस, संस्कृतीहरुको अध्ययन गर्ने क्रममा यहाँ बृद्धबृद्धाहरुको संख्या निकै धेरै भएको अनि बृद्ध आश्रममा बस्ने र यहाँ काम गर्न मान्छेहरुको कमी भएको कुरा थाहा पाएं । 'खाइगो'को अध्ययन गरेमा बृद्धाश्रममा सेवामुलक काम गर्न पाइने जानकारी पाएं । मेरो सानैदेखिको रुचिको क्षेत्रमा काम गर्न पाउने विषयबारे बुझेको दिन म धेरै खुशी भएकी थिएं ।

जापानीज स्कुलको शिक्षक शिक्षिकाले पनि तिम्रो व्यक्तित्व यो कामको लागि धेरै सुहाउँछ भनेर राम्रो सल्लाह दिनुभयो । मलाई पनि ढुंगा खोज्दा देउता पाए झैं लाग्यो यसको अध्ययन गर्ने निर्णय गरेपछि । 

त्यसपछि नारितामा अवस्थित नारिता कोकुसाई फुकुसी सेनमोन गाक्कोउमा खाइगोको पढाई सुरु गरें । खाइगो पढ्ने बताएपछि र पढिरहँदा समेत मलाई गिज्याउने, जिस्काउने, छिछि भन्ने क्रम रोकिएन बरु बढेको जस्तो लाग्थ्यो । मानिसहरुले जे जे भनेपनि मैंले दिमागले भन्दा पनि मनले धेरै सोचेर निर्णय गरेकाले म मेरो निर्णयमा अडिग थिएं त्यसैले मैंले मेहनतका साथ पढिरहें । किनकी खाइगो पढ्नको लागि दिमाग मात्र होईन एउटा सफा मनको पनि जरुरत पर्दछ ।

काम गर्दै पढाईलाई पनि निरन्तरता दिंदै गएं । जापानको महँगो जीवन जसोतसो चलिरहेको थियो ।

कडा मेहेनत अनि संघर्ष गरि २०२१ को जनवरीमा जापानको खाइगोको राष्ट्रिय स्तरको परिक्षा दिएं र सोही बर्ष मार्च २६ को नतिजा राम्रो पनि आयो ।

अहिले जापानको खाइगो फुकुसीसीको पेशाले चिनिन्छु र यसमा आफैंमा गौरवान्वित महसुस गरिरहेको छु । तर यति भनिरहँदा नेपाली समाजमा नेपालीहरुबाटै पटक पटक गिज्याउने, जिस्काउने, छिछि भन्ने र विभिन्न ट्रोलहरुको शिकार नवनेको होइन । मदर टेरेसा, फ्लोरेन्स नाइटिंगेलको जीवनी पढ्दा दंग पर्ने नेपालीबाट 'खाइगो'को अध्ययन र नर्सिङ केयरको सेवाभावको काम गरिरहेका हामीहरुलाई चाहिँ अपहेलना अनि घृणा किन र कहिलेसम्म रु यो कस्तो द्धैद मानसिकता र सोच ?

परदेशमा बसेर खाइगोको काम गरिरहँदा नेपालमा रहेको बृद्धबृद्धाहरुको यादले नसताएको हैन । उचित नीति, नियम, कानुन भएमा म पनि आफ्नो अनुभव नेपालमा रहेका ती बृद्ध आमाबुवाहरुको लागि समर्पित गर्न पाएमा धेरै खुशी मात्र होईन भाग्यमानि सम्झने थिएं ।

'खाइगो'को काम गर्न अनि पढ्ने मानिसहरुलाई घृणा नभई हौसलाको आवश्यकता पर्दछ । खाइगोको काम गर्दा आर्थिक रुपमा सवल भई परदेशमा पनि राम्रै जीवन विताउन सकिन्छ जस्तो लाग्छ मलाई ।

त्यसैले व्यक्तिगत तर्फबाट 'खाइगो' पढ्न अनि काम गर्ने ईच्छा भएका सम्पूर्णमा खाइगो पढ्न हुन विनम्र अनुरोध गर्दछु । किनभने खाइगो अध्ययन एउटा पढाई मात्र होईन, समाजसेवा, आत्म सन्तुष्टिसँगै रोजगारको सुनिश्चितता भएको जापानको सभ्य समाजले सम्मान गर्ने प्रतिष्ठित पेशा हो ।

...

खाइगो फुकुसी सी

संगीता विष्ट 'फुच्ची'