सन्चै हुनुहुन्छ नि आमा ?
म सन्चै छु । तपाइ कि छोरी अब ठुली भईसकेकी छे । मेरो चिन्ता नलिनुस है ।
आमा यहाँ आएको केहि समय मै यो बुझे कि, यहाँको जिन्दगी नेपाल जस्तो हुन्न रहेछ ..... ! नेपालमा हुँदा, आफ्नो लाईफ्, आफ्नै मर्जी थियो । चटक्क ब्याग भिरेर स्कूटीमा कलेज गइथ्यो । मन लागेको हेयर कलर्, हेयर स्टाइल्, नेक पोलिस , औसत ब्राण्डेड जुत्ता अनि फिटिङ ड्रेस । साथीहरु सँगको भेटघाट्, घुमफिर्, रमाइलो, सोसल साइटमा बेफिक्री च्याट ।
स्वतन्त्र छोडिदिनु भएको थियो ।
भ्याउदा र इच्छा हुँदा मात्र घरको काम लगाउनुहुन्थ्यो । “पढाइ मै फोकस हो है नानी “ भन्दै जहिल्यै घच्घच्याउनु हुन्थ्यो ।
राती लेट नाइट सुत्दा पनि हुन्थ्यो , कलेज नभएको दिन ढिलै उठ्दा पनि केहि फरक पर्दैनथ्यो । जती सक्दो मेरो फेभरेट तरकारी पकाउने कोसिस गर्नुहुन्थ्यो । मिठो नलागेको दिन बिचैमा छोडेर हिड्दा उल्टै आफ्नै मन खिन्न पार्नुहुन्थ्यो ।
खै के गर्नु आमा , रहर भनौ कि बाध्यता । उहि करीयर बनाउने अनि साथीभाइको देखासिखी अनि लहैलहै मै तेत्तिका लाख खर्च गरी जापान आए ।
न भनेको बुझिन्छ्, न त भन्न नै जानिन्छ । साइकलको पेलाई दिन भरी पढाइ, रात भरी काम कामको थकानले लोलाएका आखा । क्लासमा बस्दा झुप्प...झुप्प... उघिइरहेको हुन्छु आमा ।
रात भरी ठिङ्ग उभिएर काममा जोतिदा पनि यहीका ठालु र नेपाल तिर कै ‘सेम्पाइ’ भनाउदा ठुला बडाको हेपाइ र झर्की-फर्की अनि बडप्पन देख्दा अनि आफ्नो बिगतको रमाइलो पल, घरको लाड्ली छोरी बनेर दङज्ञाएर खाएको क्षणलाई यहाँको घडीको आलार्म अन गरी, सुख्खा पाउरोटी चपाएर दगुर्दै गरेको ब्यस्त जिन्दगीको तुलना गर्दा आमा तपाइलाई सम्झेर धेरै रुने गरेको छु । नेपालको आखाले देखिने सपनाको जापान र यहाँको वास्ताबिक भोगाइको जापान आकाश पातालको फरक रहेछ आमा ।
तर यध्यपी आमा, अब बिस्तारै तपाइको छोरीले आफ्नो जिवनको वास्ताबिक परिभासा बुझ्दै अनि स्ट्रोङ बनाउदै छे आफुलाई । अनि अर्को कुरा नि आमा, बहिनीको मनमा कहिल्यै पनि बिदेशको भुत-सवार हुन नदिनु है । शिक्षकको दरबन्दी खुल्दैछ अरे । कि त्यो , कि त लोकसेवाको तयारी गर्न लगाउनुस है ।
खैर आमा , ३ बजी सकेछ । अब एक घण्टामा उठ्नु पर्छ आफ्नो ख्याल गर्नु है । औषधी समय मै खानु नि ।
गुड नाइट आमा ।