(Japan) 5 th June | 2023 | Monday | 2:56:07 AM || (Nepal) 11:41:07 PM
 
 

प्रवासी बालेनहरु ! -सागर रिजाल

  POSTED ON : Monday, 23 May, 2022 | Views : 2746

प्रवासी बालेनहरु  ! -सागर रिजाल


१. प्रवासका नेपाली भोट हाल्दैनन त्यसैले तिनका कुरा किन सुन्ने !?! ……

२. त्यतै बस, पैसा कमाऊ-पठाऊ। मर्ने बेलामा नेपाल फर्क…..

३. प्रवासी भनेका आकाशमा ऊड्दै रमाऊने चाहना बोकेर जमिन छोडेकाहरु हुन। भुगोल(नेपाल) मा जिम्मेवारीको माग नगर…..

४. जसले भुगोलमै बसेर सर्वस्व गुमाएर पनि निरन्तर पार्टीको राजनीतिमा योगदान दिएका छम, त्यसको कदर स्वरप जीम्मेवारी पाएका छौं। प्रशिक्षित पनि हामीनै छौं, सक्षम र दक्ष पनि हामीनै छौं…….

माथि उल्लिखित उद्दरण नेपालका ठुला र स्थापित भनिएका पार्टीका ठुला र स्थापित नेतागणमा सर्वाधिकार रहेका बीचारहरु हुन। 

 प्रवासी जो भोट नै हाल्न नपाएपनि एक ब्यक्तिले कमसेकम आफ्नो परिवारको ५/७ भोट प्रभाव पार्न सक्छ। कत्तिले त ईष्टमित्र छरछिमेक साथीभाई…. कति फरक पर्छ ? 

हिजो आन्दोलन गर्दा, रेलिङ्ग भाच्नुपर्थ्यो। ढुंगा-मुढा, चक्काजाम, तालाबन्दी, स्कूल बन्द, कलेज बन्द,, नेपाल बन्द। कालो झण्डा, मसाल जुलुस…………

आज न्युयोर्कको एऊटा बन्द कोठामा बसेर ट्वीट वा अपडेट मात्रले सरकार हल्लाऊछ। आज गरेको गलत निर्णय सरकार भोली फिर्ता लिन बाध्य हुन्छ। भएका छन। 

हरेक पार्टीका नेतागणले बुझिराखे राम्रो, ७० लाख प्रवासीको शक्ति कत्ति छ भनेर। जुन पार्टीले यो कुरा बुझेर बेलैमा सहि बाटो हिड्छ त्यो पार्टी अस्तित्वमा रहला नत्र नयाँ बैकल्पिक पार्टी जन्मिन सक्छ, जन्मिन्छ। बेलाबेलामा कोशिस भएका पनि छन र अहिले पनि कहिन कहि योजनाहरु बनिरहेकै छन। सबै नेपाली युवा,प्रवासी नेपाली,सक्षम दक्ष नेपालीले बिकल्प खोजिरहेको कुरा जगजाहेर छ। 

सुरुमा डा. बाबुराम भट्टराईले नयाँ शक्ति भनेपनि पुरानै ढर्रा र ऊहि वाक्क दीक्क लाग्ने बीचार जो सिद्धान्तको नाममा जटिलताले गर्दा कसैले पत्याएनन।क्यारिएर पोलिटिक्सलाई मात्र ध्यान दिने नेपाली नेतागणका कारण रुष्ट नेपाली जनता खासगरि युवाहरुको मनोभावनालाई सम्बोधन गर्न नसकेका कारण अपनत्व महशुस भएन।

खासमा राजनीतिक चरित्रमा मात्र ध्यान दिंदा सामान्य जनस्तरमा यसले खासै बिश्वासको बिऊ छर्न सकेन। नयाँ लाई जोड्न नसक्नु पुरानामा एऊटै रोग देखिंनु पनि यो पार्टी कथित नयाँ शक्तिमै सिमित रह्यो र अन्ततः डा. भट्टराई बिसर्जनको बाटो रोज्न बाध्य भए। 

ऊज्वल थापा र रबिन्द्र मिश्रको प्रयास सुरु सुरुमा सहिनै देखिन्थ्यो तर दीर्घकालीन राजनीति भन्दा अल्पकालिन अभियानको रुपमा मात्र चल्यो।पहिलो सर्त सकारात्मक सोच र ईमान्दारिता भएपनि त्यत्ति मात्रले पुग्दैनथियो।

खास समस्याको पहिचान, समाधानको खोजी र सहि भिजन सहित नेपालका पुराना दल बिरुद्ध अर्थपूर्ण संघर्ष गरि सफलतम बिन्दुसम्म पुर्याऊने योजना थियो भने ति राजनीतिक दलभित्रका सञ्जाललाई राम्रो संग अध्ययन गरेर बुझेर समस्या खोतल्दै समाधान दिन सकेको भए नतिजा अर्कै हुनेथियो होला। तर त्यस्तो अनुभवी, कुशल संगठकको रुपमा न मिश्र स्वयम देखिए न कोही कुशल पात्र ऊभ्याऊन नै सके। कमजोर धरातल बुझेर सुधार तर्फ लाग्नुको साटो बैचारीक बिचलन र अस्थिरताले गर्दा बैकल्पिक शक्तिको सर्वनाश गर्यो।

मिश्रले केही राम्रा ब्यक्तिलाई लिएर त हिडें तर सबका सब आफूलाई मात्र बुझ्ने, सबका आ-आफना भिजन बीच द्वन्दमात्रमा सिमित भए। अझ भनौ यो पार्टीमा ब्यक्त अब्यक्त सबैको बीचारलाई समेटेर एऊटै बीचार बनाऊन सक्ने सक्षम लिडर भएनन। यसैको लडाईमै समय खर्च गरेपनि संगठन निर्माण बिस्तार तथा स्कूलिङ्गमा जानै सकेनन। 

रञ्जु दर्शना, किशोर थापा जस्ता केही आशा लाग्दा पात्र त जन्मिए तर जोगाऊन सकेनन। अहिले केही बालेनहरु जन्मिएका छन। यि पात्रको खोजी जसले गरेको भएपनि र यत्ति ठुलो सफलतामा शतप्रतिशत भूमिका र सहयोग नभएपनि प्रवासीहरुको प्रभाव र शक्ति स्वरुप भरपुर मिलेको देखिन्छ।

जुन जसबाट अलिक बढि आशा भने गरिएको छ। तर यिनलाई टिकाऊन र जोगाऊन सकिन्छ या सकिन्न यसै अहिले नै भन्न चाँहि सकिन्न, आशा गरौं जनताले चाहेको खोजेको ब्यक्ति यिनै होऊन। अथवा वास्तविक नायक कहि कतै लुकेर शान्त बसेको छ भने पनि जागोस र अगाडी आओस। 

जुन जोगी आए पनि कानै चिरेको भनेझै बेलाबेलामा एक्कैछिन खैलाबैला मच्चाऊन त धेरै आए तर गए। सबै उही ड्याङ्गका मुला जस्तै भए। राजनीतिक बिरासत बोकेका पार्टीका नेताहरुको हालीमुहाली देखेर डाहमा छट्पटिदै आऊनेले आएपछि बुझें होलान, केहो राजनीति !

 जो साच्चै ईमान्दार पनि छ, समस्याको अध्ययन पनि गरेको छ, समाधानको खोजी पनि गरेको छ र भिजनका साथ अगाडी आऊछ भने पक्कै जनताले साथ र समर्थन दिनेछन र बेलाबेलामा यसको संकेत दिईरहेकै छन।

यद्यपी, राजनीतिमा निरन्तरता, धैर्यता र जुझारुपनका अतिरिक्त संघर्ष पनि चाहिन्छ। कहिलेकाहि एकैपटकमा सफलता हात नलागिहाल्न पनि सक्छ।एऊटै प्रयास असफल हुँदा हतास भै मैदाननै छाड्ने प्रवृत्ति र रोग हाम्रो समाजमा अलि बढिनै छ। यो रोगको औषधी बालेन होलान ? 

-सागर रिजाल, टोकियो जापान