(Japan) 24 th April | 2026 | Friday | 1:47:37 PM || (Nepal) 10:32:37 AM
 
 


आफ्नो देशलाई हजार ढुंगाको मूर्ति उपहार दिने घोषणा गरेका बराईली जापानको पहरामा बुद्ध बनाउँदै

  POSTED ON : Wednesday, 14 March, 2018 | Views : 3520

आफ्नो देशलाई हजार ढुंगाको मूर्ति उपहार दिने घोषणा गरेका बराईली जापानको पहरामा बुद्ध बनाउँदै


मोरङ ।

मोरङको उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण गरेर राष्ट्रलाई उपहार दिने घोषणा गरेका छन् ।


बराइलीले ०६१ मा १० वर्षभित्र एक हजार मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका थिए। तर ०७१ सालसम्म उनले १५० को हाराहारीमा मात्र मूर्ति निर्माण गर्न सके ।


निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो सपना अब १० वर्षभित्र आफूले पूरा गरेरै छाड्ने अठोट उनले व्यक्त गरेका छन् ।


बराइली हाल विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणका लागि डेढ वर्षअघि देखि जापानमा छन् ।


राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने बराइली २०७२ सालमा ५० हजार रुपैयाँ राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित समेत भएका थिए ।


त्यसपछि उनको कलाको माग जापानमा भयो। जापानको एक विशाल पहरामा डेढ वर्षदेखि बुद्धको मूर्ति कोर्दै आएका बराइलीले केही दिनअघि मात्र आफ्नो घर फर्किएका बेला आफ्नै राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने बताएका हुन् ।


अबको पाँच वर्षभित्र जापानमा बुद्धको मूर्ति निर्माण सकेर नेपाल फर्कने र त्यसपछिको पाँच वर्षमा हजारौं मूर्ति निर्माण गरेर रज्यलाई दिने उनले सुनाए ।


हाल बराइलीसहित चार युवा जापानको कुमामोतो जिल्लाको खामीआमाकुसामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर बुद्धको मूर्ति सिर्जना गरिरहेका छन् ।


मूर्ति निर्माण गरे वापत उनीहरुलाई दैनिक नेपाली १४ हजार आम्दानी हुन्छ ।


बराइलीको नेतृत्वमा काभ्रेपलाञ्चोकका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेशकुमार राई संलग्न मुर्ती निर्माणमा संलग्न छन् ।

साभार:रासस