(Japan) 21 st April | 2026 | Tuesday | 10:51:19 PM || (Nepal) 7:36:19 PM
 
 


जापानमा सैन्य अभ्यासका क्रममा विस्फोट : ३ सैनिकको मृत्यु, १ घाइते

  POSTED ON : Wednesday, 22 April, 2026 | Views : 160

जापानमा सैन्य अभ्यासका क्रममा विस्फोट : ३ सैनिकको मृत्यु, १ घाइते


टोकियो, जापान ।

जापानमा सैन्य अभ्यासका क्रममा भएको शक्तिशाली विस्फोटमा तीन जना सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यो घटना जापानको स्थल आत्मरक्षा बलको प्रशिक्षण क्षेत्रमा भएको हो।

रक्षा मन्त्रालयका अनुसार, मंगलबार बिहान ओइता प्रिफेक्चर स्थित हिजुदाई तालिम क्षेत्रमा ट्यांकको गोला–बारुद विस्फोट हुँदा उक्त दुर्घटना भएको हो ।


ट्यांक अभ्यासकै क्रममा दुर्घटना

अधिकारीहरूका अनुसार, चार जना सैनिकहरू नयाँ मोडेलको ट्यांक सञ्चालन गर्दै अभ्यासमा संलग्न थिए। सोही क्रममा गोला–बारुद अचानक विस्फोट भएको थियो ।

हालसम्म प्रशिक्षण क्षेत्र बाहिर कुनै क्षति भएको पुष्टि नभएको रक्षा मन्त्रालयले जनाएको छ ।


जापानका रक्षा मन्त्री कोइजुमि शिन्जिरोले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूको आत्माको शान्तिको कामना गरेका छन्। उनले यस घटनालाई “अत्यन्तै दुःखद” भन्दै यसको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको बताएका छन् ।

उनले भने “विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन, तर रक्षा मन्त्रालय र आत्मरक्षा बलले सत्य तथ्य बाहिर ल्याउन र भविष्यमा यस्तो घटना नदोहरियोस् भन्ने सुनिश्चित गर्न कडा सुरक्षा व्यवस्थापन लागू गर्नेछ।”

उक्त हिजुदाइ प्रशिक्षण क्षेत्र नियमित अभ्यासका साथै अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यासका लागि पनि प्रयोग हुँदै आएको छ ।

स्थानीय नगरपालिका वेबसाइटहरूका अनुसार, मंगलबार पनि उक्त क्षेत्रमा गोली चलाउने अभ्यास (फायरिङ ड्रिल) तय गरिएको थियो।

स्थल सेना प्रमुख आराई मासायोशीले आकस्मिक पत्रकार सम्मेलन गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेका छन्। मृत्यु हुनेहरूमा ४५ वर्षीय हामबे केन्तारो, ३१ वर्षीय ताकायामा सिन्गो र ३० वर्षीय कानाई कोजो रहेका छन्। घाइते भएका अर्का एक सैनिकको हाल अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ। 

प्रारम्भिक रिपोर्ट अनुसार ट्याङ्कको 'टरेट' (turret) भित्रै गोला विष्फोट भएको देखिएको छ। सेना प्रमुखले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै सुरक्षा व्यवस्थामा भएको कमजोरीबारे छानबिन गर्ने बताएका छन्। घटनाको वास्तविक कारण पत्ता लगाउन सेनाले अहिले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

यस घटनाले जापानको सैन्य अभ्यासको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने भए पनि भविष्यमा यस्ता दुर्घटना रोक्न कडा सुरक्षा मापदण्ड आवश्यक रहेको देखिन्छ ।