(Japan) 20 th April | 2026 | Monday | 7:08:33 PM || (Nepal) 3:53:33 PM
 
 


जापानमा भूकम्पको ठूलो धक्का, सुनामीको चेतावनी जारी

  POSTED ON : Monday, 20 April, 2026 | Views : 250

जापानमा भूकम्पको ठूलो धक्का, सुनामीको चेतावनी जारी


टोकियो, जापान ।

जापानको जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज दिउसो करिब ४:५३ बजे सानरिकु तटीय क्षेत्र केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

प्रारम्भिक मापन अनुसार भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड रहेको र यसको गहिराइ करिब १० किलोमिटर मात्र भएकाले धक्का निकै व्यापक रूपमा महसुस गरिएको छ।

भूकम्प लगत्तै जापान मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रहरूका लागि सुनामीको सम्भावित जोखिमबारे चेतावनी जारी गरेको छ। विशेष गरी समुन्द्र किनार आसपास बसोबास गर्ने नागरिकहरूलाई तुरुन्त सुरक्षित तथा अग्लो स्थानमा सर्न आग्रह गरिएको छ।

आपतकालीन भूकम्प चेतावनी प्रणाली मार्फत धेरै क्षेत्रमा समयमै सतर्कता सन्देश प्रसारण गरिएको थियो, जसले जनधनको क्षति कम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

हाल स्थानीय प्रशासन, आपतकालीन सेवा निकाय तथा उद्धार टोलीहरू उच्च सतर्कतामा रहेका छन्। समुन्द्र सतहमा आउने परिवर्तन, सम्भावित सुनामी लहर तथा परकम्पको निरन्तर अनुगमन भइरहेको छ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आधिकारिक सूचना मात्र विश्वास गर्न, अफवाहबाट टाढा रहन र सुरक्षाका उपायहरू कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ।