सियोल, टोकियो ।
किम जोङ उनको प्रत्यक्ष निगरानीमा उत्तर कोरियाले एकैपटक पाँचवटा छोटो दूरीका ‘उच्च–सटीक’ ब्यालिस्टिक मिसाइल परीक्षण गरेको पुष्टि भएको छ । सरकारी समाचार एजेन्सी केसिएनएले सोमबार सार्वजनिक गरेको विवरण अनुसार आइतबार गरिएको परीक्षणले लक्षित क्षेत्रमा अत्यन्त उच्च घनत्वमा प्रहार गर्दै नयाँ क्षमताको प्रदर्शन गरेको हो ।
रिपोर्टका अनुसार करिब १३६ किलोमिटर टाढाको टापु आसपासको क्षेत्रमा प्रहार गरिएका ती मिसाइलहरूले १२.५ देखि १३ हेक्टर क्षेत्रफलमा सटीक रूपमा आक्रमण गरेका थिए। यो परीक्षण विशेष गरी सुधारिएको सतह–देखि–सतह ब्यालिस्टिक मिसाइल ह्वास्वोगंपो ११ आरए को वारहेड ९विस्फोटक क्षमता० मूल्याङ्कनका लागि गरिएको जनाइएको छ।
किमले परीक्षणको नतिजाप्रति “अत्यन्त सन्तुष्टि” व्यक्त गर्दै नयाँ क्लस्टर बम वारहेड विकासले लक्षित क्षेत्रमा उच्च घनत्वमा प्रहार गर्ने क्षमता अझ मजबुत बनाउने बताएका छन् । परीक्षणका क्रममा उनी आफ्नी छोरी किम जु एसहित उपस्थित थिए, जसले उत्तर कोरियाको सैन्य गतिविधिमा पारिवारिक उपस्थितिको संकेत पनि दिएको छ ।
दक्षिण कोरियाको सेनाले बिहान करिब ६स्१० बजे सिन्पो क्षेत्रबाट प्रक्षेपण गरिएका मिसाइलहरू जापान तर्फको पूर्वी सागर तर्फ गएको पुष्टि गरेको छ। ती मिसाइलहरूले करिब १४० किलोमिटर दूरी तय गरेका थिए र तिनको प्राविधिक विवरणबारे दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका गुप्तचर निकायहरूले संयुक्त रूपमा अध्ययन गरिरहेका छन्।
दक्षिण कोरियाले यस घटनापछि आपतकालीन सुरक्षा बैठक आयोजना गर्दै अमेरिकासँगको संयुक्त रक्षा प्रणाली अझ मजबुत बनाउने र कुनै पनि उक्साहटको “कडा जवाफ” दिने चेतावनी दिएको छ।
विश्लेषकहरूका अनुसार पछिल्ला परीक्षणहरूले उत्तर कोरियाले सियोलसँग सम्बन्ध सुधार गर्ने प्रयासलाई अस्वीकार गरेको स्पष्ट संकेत दिएका छन्। यसअघि ड्रोन घुसपैठको विषयमा दक्षिण कोरियाले व्यक्त गरेको खेदप्रति केही सकारात्मक प्रतिक्रिया देखिए पनि हालै उत्तर कोरियाले दक्षिणलाई “सबैभन्दा शत्रुतापूर्ण देश” को संज्ञा दिएको छ।
संयुक्त राष्ट्रसंघका विभिन्न प्रतिबन्धहरूको बाबजुद उत्तर कोरियाले लगातार ब्यालिस्टिक मिसाइल परीक्षण गर्दै आएको छ, जसले अन्तर्राष्ट्रिय समुदायको चिन्ता बढाएको छ। रक्षा विश्लेषकहरूले यो गतिविधि क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन्।