टोकियो, जापान ।
जापानको अबिको शहर मा एक नेपाली छात्रामाथि कुटपिट तथा तोडफोडको घटनामा ३२ वर्षीय नेपाली युवक पक्राउ परेका छन्। प्रहरीले दिएको जानकारी अनुसार आरोपी कावासाकी शहर मा बसोबास गर्दै आएका व्यक्ति हुन्।
घटना अप्रिल १२ को बिहान करिब ३ बजे भएको बताइएको छ। समाचार स्रोतहरूका अनुसार आरोपी ती छात्राको कोठामा पुगेका थिए र त्यहाँ उनले झोलाजस्तो वस्तुले घाँटीमा पटक–पटक प्रहार गरेका थिए।
कुटपिटका क्रममा उनले पीडितको मोबाइल फोन समेत खोसेर भुइँमा पछारी फुटाइदिएको आरोप छ। आक्रमणबाट छात्राको घाँटी र दुवै घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानमा दुवैबीच पहिलेदेखि नै चिनजान रहेको खुलेको छ, जसका कारण व्यक्तिगत विवाद हुनसक्ने आशंका गरिएको छ।
यद्यपि पक्राउ परेका युवकले प्रहरीसमक्ष आफूले यस्तो कार्य नगरेको भन्दै आरोप अस्वीकार गरेका छन्।
चिबा प्रान्तीय प्रहरी ले घटनाको पृष्ठभूमि, सम्बन्ध र विवादको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।