टोकियो, जापान ।
जापानमा मृत्युपछि आफ्नो सम्पत्ति परोपकारी कार्यमा दान गर्ने ‘लिगेसी डोनेसन’ गर्नेहरूको संख्या तीव्र रूपमा बढ्न थालेको छ। पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०२३ भित्र यस्ता दाताको संख्या १,१४२ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।
दान रकम पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०२३ मा मात्रै करिब ६४।३ अर्ब येन बराबरको सम्पत्ति समाजसेवामा दान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो।
विशेषगरी अविवाहित तथा सन्तान नभएका वृद्धवृद्धाहरूले आफ्नो सम्पत्तिलाई “अन्तिम योगदान” का रूपमा समाजमा फिर्ता गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसलाई उनीहरूले जीवनको अन्तिम चरणमा अर्थपूर्ण कार्यका रूपमा लिन थालेका छन्।
एक सर्वेक्षण अनुसार ६३ प्रतिशतभन्दा बढी जापानी नागरिक यस्तो दानबारे जानकार छन्। धेरैले आफू जन्मे–हुर्केको क्षेत्रको विकास र स्थानीय समुदायलाई सहयोग गर्न इच्छा व्यक्त गरेका छन्।
जापानमा घट्दो जन्मदर र वृद्ध जनसंख्या बढ्दै जाँदा सम्पत्ति सीमित वर्गमा केन्द्रित भइरहेको अवस्थामा, ‘लिगेसी डोनेसन’ को बढ्दो अभ्यासले स्थानीय विकास र सामाजिक कल्याणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।