टोकियो, जापान ।
जापानको कामी आमाकुशा शहरस्थित पहाडी क्षेत्रमा निर्माण भइरहेको “मागाइ नो सातो ओशिमा सेकिबुचु-यामा” नामक विशाल ढुङ्गाका मूर्तिहरूको बगैँचा पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ । कुमामोतो प्रान्तको प्राकृतिक सुन्दरताबीच निर्माण गरिएको यो परियोजनाले जापानमा कला र पर्यटन दुबै क्षेत्रमा नयाँ आकर्षण थपेको छ ।
यो महत्वाकांक्षी परियोजना ९० वर्षीय जापानी व्यवसायी शिजुकी ओशिमाको व्यक्तिगत पहलमा अघि बढाइएको हो। उनले करिब ४० वर्षदेखि आफ्नै लगानीमा यो परियोजना निर्माण गर्दै आएका छन्। ओशिमाले ५० वर्षको उमेरमा चीन र जापानका ऐतिहासिक ढुङ्गाका मूर्तिहरू अवलोकन गरेपछि प्रभावित हुँदै जापानमा पनि यस्तै विशाल कलाकृति निर्माण गर्ने सपना देखेका थिए।
यस परियोजनाको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसको निर्माणमा नेपाली कलाकारहरूको महत्वपूर्ण योगदान हो। बुद्धको जन्मस्थल नेपालबाट दक्ष मूर्तिकारहरू जापान ल्याइएका थिए, जसले यस परियोजनालाई विशेष बनाएको छ। नेपाली मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा काम गर्दै आएको टोलीले सन् २०२३ सम्ममा ६ मिटरदेखि १८.५ मिटर उचाइसम्मका ७ वटा भव्य बुद्धका मूर्तिहरू निर्माण गरिसकेको छ। यी मूर्तिहरूले नेपाली कला र सीपलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्याएका छन्।
हालै, मूर्तिहरूको दायाँतर्फ “विशाल ड्रागन” को आकृति निर्माण सम्पन्न भएपछि अप्रिल २३ देखि २६ सम्म विशेष प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनी सुरु हुनुअघि स्थानीय प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई यस स्थलको भ्रमण गराई कला र संस्कृतिबारे जानकारी दिइएको थियो, जसले स्थानीय स्तरमा पनि उत्साह थपेको छ।
परियोजना पूर्ण रूपमा सम्पन्न हुन अझै केही वर्ष लाग्ने अनुमान गरिएको छ। ओशिमाका अनुसार सन् २०२८ सम्म सम्पूर्ण निर्माण कार्य सकिने अपेक्षा गरिएको छ। निर्माण सम्पन्न भएपछि उनले यस क्षेत्रलाई सार्वजनिक पार्कका रूपमा विकास गरी स्थानीय सरकारलाई निःशुल्क हस्तान्तरण गर्ने योजना बनाएका छन्।
उनको लक्ष्य यो क्षेत्रलाई खुला कला संग्रहालय (ओपन एयर म्युजियम) को रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनु हो। जापानमा नेपाली कलाकारहरूको सीप र योगदानले यस परियोजनालाई अझ विशेष बनाएको छ, जसले नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई पनि थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
जापानमा विशाल बुद्धमुर्ती सँगै नेपाली शिर उँचो बनाउँदै नेपाली युवा (भिडियो सहित)