टोकियो, जापान ।
केहि दिन अघिसम्म औषत नेपालीहरुले समेत कल्पना नगरेका बालेन्द्र शाह बालेन अब नेपालको भावि प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ । झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टिको उम्मेदवार बनेका रास्वपा वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिइरहँदा उनले जित्नेमा कुनै शंका छैन ।
रास्वपाले चुनावी घोषणासँगै जनतामा जानुअघि नै बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो । मतगणनाको देशभरको अवस्था हेर्दा रास्वपाले स्पष्ट बहुमत सहित करिव करिव दुई तिहाई मत ल्याउने देखिएको छ ।
नेपालको मात्र नभई विश्वकै कान्छा प्रधानमन्त्री बन्दै
बालेन शाह अबको एक सातामा नेपालको प्रधानमन्त्री बन्दा दुईवटा रेकर्ड एकसाथ बनाउनेछन् । पहिलो नेपालको युवा प्रधानमन्त्री र दोस्रो अहिलेको विश्वकै कम उमेरको युवा प्रधानमन्त्री ।
सन् १९९० अप्रिल २७ मा जन्मिएका बालेन अहिले मात्र ३५ बर्ष उमेरका छन् । विश्वमा अहिले सबैभन्दा कान्छा प्रधानमन्त्री बुर्किना फासोका इब्राहिम ट्राओरे र आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्ट्रुन मजोल फ्रोस्टाडोटिर दुवै ३७ बर्ष उमेर पुगेका छन् ।
को हुन् बालेन शाह ?
बालेन्द्र शाह नेपालका चर्चित युवा नेता, सिभिल इन्जिनियर, र्याप गायक तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टिका वरिष्ठ नेता हुन् । उनले दुई बर्ष अघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव जितेर नेपाली राजनीतिमा नयाँ सम्भावना र परिवर्तनको सन्देश दिएका थिए ।
बालेन्द्र शाहको जन्म सन् १९९० मा काठमाडौंमा भएको हो । उनी मध्यमवर्गीय परिवारमा हुर्किएका हुन् । सानैदेखि अध्ययनमा राम्रो र सामाजिक विषयमा चासो राख्ने व्यक्तिका रूपमा उनलाई उनका साथिहरुले चिनेको बताउँछन् ।
बाल्यकालदेखि नै उनले समाजका समस्या, शहर व्यवस्थापन र विकासका विषयमा रुचि देखाएका थिए । यही कारणले पछि उनले इन्जिनियरिङ अध्ययन रोजेका थिए ।
बालेन शाहले सिभिल इन्जिनियरिङ स्नातक तह काठमाडौंमै र स्नातकोत्तर तह स्ट्रक्चरल इन्जिनियरिङमा भारतमा अध्ययन गरेका थिए ।
इन्जिनियरिङ अध्ययनले उनलाई शहर विकास, भवन संरचना, सडक, पूर्वाधार र शहरी व्यवस्थापनबारे राम्रो ज्ञान दिएको छ । यही ज्ञान उनले मेयर भएपछि काठमाडौंको विकास योजनामा प्रयोग गर्ने प्रयास गरेका थिए ।
राजनीति अघिनै गायकका रुपमा परिचित
राजनीतिमा आउनु अघि बालेन शाह नेपाली र्याप संगीत क्षेत्रमा परिचित नाम हो ।
उनका गीतहरूमा मुख्यतः भ्रष्टाचार, राजनीतिक विकृति, सामाजिक अन्याय, युवाका समस्याहरुमा केन्द्रित पाईन्छ ।
उनले नेपाली युवाहरूलाई लक्षित गरेर र्याप संगीतमार्फत सामाजिक सन्देश दिने प्रयास गरेका थिए ।
उनका गीतहरू युट्युब र सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका थिए, जसले उनलाई युवापुस्तामा राजनीतिक रुपमा स्थापित हुन सहयोग गर्यो ।
राजनीतिक यात्रा
नेपालमा सन् २०२२ मा भएको स्थानीय तह निर्वाचनमा बालेन शाहले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए।
उनी कुनै ठूलो राजनीतिक दलबाट नभई स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए ।
उनले परम्परागत दलका उम्मेदवारलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरे ।
नेकपा एमालेका केशव स्थापित र नेपाली काँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहकी पत्नि सिर्जना सिंहलाई पराजित गर्दै उनले सनसनीपूर्ण जित निकालेका थिए ।्
उनको जितलाई नेपालमा युवाको परिवर्तनको चाहनाको संकेतका रूपमा हेरिएको थियो ।
मेयर बनेपछि बालेन शाहले काठमाडौंमा धेरै सुधार अभियान सुरु गरेका थिए ।
काठमाडौंमा फुटपाथ, सार्वजनिक स्थान र नदी किनार अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने अभियानबाट उनि झनै लोकप्रिय बने । यद्यपी तत्कालिन कुनैपनि सरकारले उनको काममा साथ दिएको थिएन ।
काठमाडौंको पुरानो समस्या फोहोर व्यवस्थापन सुधार गर्न विभिन्न योजना सुरु गरेपनि सफल हुन सकेनन् ।
फुटपाथ व्यापारी व्यवस्थापन र पैदल यात्रुको अधिकार सुनिश्चित गर्न प्रयास गरेकोमा उनको प्रशंसा गरिन्छ ।
महानगरको सेवा डिजिटल बनाउने, अनलाइन प्रणाली बढाउने र प्रशासनलाई पारदर्शी बनाउने प्रयास पनि उनको अर्को काम थियो ।
यस बाहेक महानगरभित्रका सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने अभियानको सबैले मुक्त कंठले प्रशंसा गर्दछन् ।
बालेन शाहको कामको धेरैले प्रशंसा गरे पनि केही विवादहरू पनि भएका थिए । जस्तै केन्द्र सरकारसँग विवाद र कडा अभिव्यक्ति । सडक किनारका व्यापारिहरुलाई विकल्प नदिएको जस्ता आरोप उनिमाथि लाग्ने गरेको थियो ।
बालेन शाहको नेतृत्व शैली कडा, छिटो निर्णय गर्ने र परिणाममुखी मानिन्छ ।
काठमाडौं महानगरमा अवैध संरचना हटाउने, सार्वजनिक स्थान खाली गराउने र प्रशासनिक सुधार गर्ने जस्ता काम उनले छिटो निर्णय गरेर सुरु गरेका थिए ।
तर परम्परागत नेताहरूको नेतृत्व शैली भने प्रायः सम्झौता, पार्टी संरचना र राजनीतिक सन्तुलनमा आधारित हुने गरेको देखिन्छ ।
त्यसैले उनले अब देशको कार्यकारी प्रधानमन्त्री पद सम्हाल्दा यि दुवै कुरालाई समन्वयात्मक ढंगले अघि बढाउनु पर्ने देखिन्छ ।