(Japan) 27 th March | 2026 | Friday | 5:26:38 PM || (Nepal) 2:11:38 PM
 
 


बालेन शाहको झापा ५ मा सुशासनदेखि शिक्षा–स्वास्थ्यसम्मको वाचा पत्र सार्वजनिक

  POSTED ON : Monday, 23 February, 2026 | Views : 620

बालेन शाहको झापा ५ मा सुशासनदेखि शिक्षा–स्वास्थ्यसम्मको वाचा पत्र सार्वजनिक


काठमाडौं, नेपाल ।

भावी नेपालका प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्र झापा–५ का उम्मेदवार बालेन्द्र शाह बालेनले आफ्नो विस्तृत वाचा पत्र सार्वजनिक गर्दै सुशासन, पारदर्शिता र जनकेन्द्रित विकासलाई प्राथमिकता दिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट उम्मेदवार रहेका पार्टीका बारिष्ठ नेता बालेनले सार्वजनिक दस्तावेजमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, रोजगारी र सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सुधार गर्ने योजना समेटेका छन् ।

शाहले संसदमा भ्रष्टाचार र बेथितिविरुद्ध कडा आवाज उठाउने, राष्ट्रिय नीति तथा बजेटमा काठमाडौं–५ का विकास मुद्दालाई प्राथमिकताका साथ राख्ने तथा स्थानीय समस्यालाई संघीय स्तरमा समाधानका लागि पहल गर्ने बताएका छन्। उनले जनताको करको पारदर्शी उपयोग र नतिजामुखी कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।


संसदमा सक्रिय भूमिका रहने दाबी

वाचा पत्रमा संविधानको प्रभावकारी कार्यान्वयन, नागरिकमैत्री कानुन निर्माण र भ्रष्टाचारविरुद्ध कडा आवाज उठाउने उल्लेख छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै विकास योजनाको प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता जनाइएको छ।


शिक्षा र स्वास्थ्यमा विशेष जोड

सामुदायिक विद्यालय सुधार, डिजिटल शिक्षा विस्तार, विद्यालय छोड्ने दर घटाउने कार्यक्रम तथा प्राविधिक शिक्षामा लगानी बढाउने योजना प्रस्तुत गरिएको छ । स्वास्थ्यतर्फ सबै नागरिकलाई आधारभूत सेवा पहुँच, सरकारी अस्पताल सुदृढीकरण र घर–घर स्वास्थ्य सेवा अवधारणा अघि सारिएको छ।


पूर्वाधार र वातावरण सुधार योजना

सडक, ढल, खानेपानी, डिजिटल नेटवर्क विस्तार र ऐतिहासिक सम्पदा संरक्षणलाई प्राथमिकता दिइएको छ । हरित शहर निर्माण, प्रदूषण नियन्त्रण र नदी–नाला संरक्षण कार्यक्रम लागू गर्ने लक्ष्य पनि राखिएको छ।


कृषि, रोजगारी र अर्थतन्त्र

आधुनिक कृषि प्रवर्द्धन, भण्डारण केन्द्र स्थापना, युवा उद्यमशीलता र स्थानीय उद्योग विकासमार्फत रोजगारी सिर्जना गर्ने योजना उल्लेख गरिएको छ।


महिला, बालबालिका र सामाजिक सुरक्षा

महिला सशक्तीकरण, बाल संरक्षण, सुरक्षित आवास र लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।


सुशासन र पारदर्शिता

डिजिटल सेवा विस्तार, सार्वजनिक खर्चमा पारदर्शिता र नागरिक निगरानी प्रणाली सुदृढ गर्ने योजना वाचा पत्रमा समेटिएको छ।

वाचा पत्रको अन्त्यमा जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग विश्वासको मत मागिएको छ।