(Japan) 17 th August | 2026 | Monday | 11:16:43 AM || (Nepal) 8:01:43 AM
 
 


जापानसँग ऋण लिएर कोटेश्वरमा अन्डरपास र फ्लाईओभर बन्ने

  POSTED ON : Wednesday, 03 December, 2025 | Views : 694

जापानसँग ऋण लिएर कोटेश्वरमा अन्डरपास र फ्लाईओभर बन्ने


टोकियो, जापान ।

जापान सरकारसँग ऋण लिएर नेपालले राजधानीको व्यस्त सवारी आवागमन मध्येको एक कोटेश्वरमा अन्टरसेक्सन सुधारको काम गर्ने भएको छ ।

कोटेश्वर इन्टरसेक्सन सुधार परियोजनाका लागि नेपाल सरकार र जापान सरकारबिच अर्थ मन्त्रालयमा ऋण सम्झौता भएको छ । सम्झौता हस्ताक्षर समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थिति थियो ।

परियोजना अन्तर्गत जापानसँगको ऋणबाट प्राप्त रकमले कोटेश्वर र जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ । यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी राजमार्गतर्फ आउने–जाने यातायात सहज बनाउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। परियोजनाको कार्यान्वयन सडक विभागले गर्नेछ।

आयोजनाका लागि जापानले ३४ अर्ब ५९ करोड जापानी येन अर्थात् झन्डै ३१ अर्ब ७६ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउनेछ । जाइकामार्फत प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहने छ ।

आयोजना अन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाईओभर निर्माण गरिनेछ । यसबाट अहिले कोटेश्वर चोकमा रहेको ट्राफिक जामको समस्या कम हुने सरकारको विश्वास छ ।

सम्झौता प्रक्रियाअन्तर्गत सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपालस्थित जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरे। त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा र जेआइसिए नेपालका प्रमुख मित्सुजाकी मात्सुकीले हस्ताक्षर गरेका छन्।