काठमाडौँ, नेपाल ।
जेन–जी अभियन्ता सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ र कारवाही माग गर्दै उनिहरु विरुद्ध प्रहरीकोमा जाहेरी दिन प्रयास गरेका छन ।
सोमबार बेलुकीदेखि ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाउन थालेका उनी जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर पुगेका हुन् ।
तर, प्रहरीले जाहेरी रितपूर्वक नआएको भन्दै दर्ता गर्न नमानेको बताइएको छ । ‘गौरीबहादुर कार्की श्रीमानको नेतृत्वमा भएको आयोगलेसमेत काम गरिरहेका बेला तत्काल दर्ता हुने स्थिति पनि छैन,’ उनले भने,‘यद्यपि,थप छलफल पनि गरिरहेका छौं ।’
२३ र २४ गते भएको जेन–जी आन्दोलनमा प्रहरी प्रशासनले अत्यधिक बल प्रयोग गरेको थियो । घातक हतियारबाट दुई दिनमा २५ सय बढी गोली प्रहार हुँदा भड्किएको स्थितिमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो ।
प्रदर्शनका क्रममा राज्य पक्षबाट भएको बल प्रयोगबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रदर्शनमा तत्कालीन ओली नेतृत्वको सरकारको भूमिकाबारे समेत अध्ययन गरिरहेको छ ।
तर,सुदन गुरुङसहित घाइते परिवारका केही जेन–जी अगुवाहरुले २३ र २४ भदौको घटनामा संलग्न तत्कालीन राज्य पक्षका कतिपयलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै बालुवाटार र गृह मन्त्रालयमा दबाब दिँदै आएका थिए । गृह प्रशासनले चाहिँ आयोगले काम गरिरहेको भन्दै प्रक्रियागत हिसाबमा कारबाही प्रक्रिया अघि बढ्ने बताउँदै आएको थियो ।
आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,पूर्वगृहमन्त्री रमेश लेखक,राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न भन्दै गृह प्रशासनलाई पत्राचार गरेको थियो । उनीहरूलाई आयोगको स्वीकृतिबिना काठमाडौं छाड्न समेत रोक लगाइएको थियो ।