काठमाडौं, नेपाल ।
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन भूमिका खेलेको आरोप लगाउँदै सरकारले अघोषित नजरबन्दमा राखेको छ ।
सरकारको ठाडो निर्देशनमा शुक्रबार रातिदेखि नै पूर्वराजाको निवास र वरिपरिको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै बाहिर निस्कन नदिने गरी अघोषित नजरबन्दमा राखिएको छ । त्यहाँ भेटघाटका लागि जानेहरूलाई समेत निगरानीमा राखिएको छ । सरकारले शुक्रबारबाटै उनका गतिविधिमा निगरानी बढाएको हो । सरकारले पूर्वराजाको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको बताएपनि सम्भावित हिंसा भड्कन सक्ने भएका कारण यसलाई भने सरकारले टुंगो लगाइसकेको छैन । उनलाई मुलुकबाहिर जान नदिने नीति अपनाएको सरकारले देशभित्र समेत भ्रमणमा कडा नीति अपनाएर रोक्ने वा केहि समयका लागि भ्रमण व्यवस्थामा सहयोग नगर्ने देखिएको छ ।
सरकारले पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी कटौती गरिदिएको छ। सशस्त्र प्रहरीले शुक्रबार राति ११ः३० मा सरकारको निर्देशनमा पूर्वराजाको १० सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो ।
डिएसपी जगदीशचन्द्र हमाल नेतृत्वको २५ जनाको सुरक्षा टोलीलाई फिर्ता गरी त्यसमा १० जना कटौती गरेर डिएसपी प्रमोदप्रकाश पाठकको नेतृत्वमा १५ जनालाई मात्र त्यहाँ पठाइएको छ । ‘फौज अदलीबदलीका क्रममा थपघट गरिएको हो । केही दिनमा अर्को निर्णय हुनेछ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भनेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गरेपछि राजावादी समूहहरूले उत्साहित भएर राजतन्त्र पूर्नस्थापना अभियान भन्दै देशभर प्रदर्शन थालेका थिए ।
हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं,’ पूर्वराजाले त्यसबेला भनेको थिए, ‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, तयार छौं। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्छौं।’
यही अभिव्यक्तिपछि राजावादीको एक समूहले ज्ञानेन्द्रकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलनका लागि समिति बनाएको थियो । पछि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आन्दोलनको कमान्डर बनाइए । शुक्रबार प्रदर्शन गर्नुअघि पूर्वराजा ज्ञानेन्द्रको निर्देशन लिन बिहीबार उनीहरू निर्मल निवास समेत पुगेका थिए ।
निर्मल निवासबाट फर्केर आएपछि पत्रकार सम्मेलन गरेको सो समूहको सभा हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो । सोही विषयलाई लिएर सरकारले राज्यविरुद्धको कसुरमा पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अनुसन्धान गर्ने बताएको छ । तर कुनैपनि अनुसन्धान प्रक्रिया अघि बढाएको भने छैन ।
यसैगरी सरकारले पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिएका सबै सुविधा कटौती गर्ने तयारी गरेको बेला सशस्त्र प्रहरीको टोली घटाइएको हो । नारायणहिटी राजदरबारबाट हटेपछि पूर्वराजपरिवारलाई सरकारले आवास सहितको सुविधा दिइरहेको छ । पूर्वराजपरिवारले प्रयोग गर्दै आएको नागार्जुन दरबार सरकारले आवास सुविधा अन्तर्गत उपलब्ध गराएको हो। निर्मल निवास भने पूर्वराजा ज्ञानेन्द्रको निजी निवास हो।
पूर्वराजपरिवारका सबै सदस्यको सुरक्षाका लागि भन्दै सरकारले सशस्त्र प्रहरीका एक सय ५५ जना सुरक्षाकर्मी खटाएको थियो। यस्तै इन्धनसहित तीनवटा सवारीसाधन समेत उपलब्ध गराउँदै आएको छ । तीमध्ये सशस्त्रका २५ जना ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका थिए । परिवारका सदस्यहरूलाई खटाइएको टोलीलाई पनि फिर्ता गरिएको छ ।
‘परिवारका सदस्यलाई दिएको सुरक्षा दुई दिनभित्र सशस्त्रको कार्यदलमा हाजिर हुनेछन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई असीमित रूपमा जति पनि प्रयोग गर्न पाउने इन्धनको सुविधा, पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाहलाई उनलाई चालक, एक सय २० लिटर पेट्रोल–मोबिलसहित मर्मत खर्च र पछुवा गाडीलाई समेत पेट्रोल या डिजेलसहितको इन्धन सुविधा दिइएको छ।
उनलाई नागार्जुन दरबारमा दिइएको आवास सुविधा थप ८५ हजार रूपैयाँ घर भाडाबापतको रकम पनि दिने गरिएको थियो। ८५ हजार रकम भने ६ वर्षदेखि रोकिएको छ।
पूर्वराजा ज्ञानेन्द्रले पाएका दुईवटा सवारीसाधन र नागार्जुन दरबार प्रयोग गर्न दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।
ज्ञोन्द्र शाहलाई अघोषित नजरबन्दमा राखेको सरकारले नवराज सुवेदीलाई भने घोषित रूपमा नजरबन्दमा राखेको छ । दुर्गा प्रसाई अहिलेसम्म फरार छन्। उनको सामाजिक सञ्जाल फेसबुक भने खुला रहेको देखिएको छ। उनले शनिबार दिउँसो मात्रै आइतबारबाट पुनः आन्दोलन गर्न आग्रह गरिरहेका छन्।
राजा ल्याउने अभियानको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं आफैं सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणमा उत्रिएका थिए। सुरक्षाकर्मीलाई मिच्ने गरी उनी उत्रेपछि उत्तेजित बनेको भिड ढुुंगामुढा गर्नतिर लागेको थियो। भिड अनियन्त्रित बनेपछि ‘सभाका नायक’ बनेका नवराज सुवेदी भागेका थिए भने प्रसाईं पनि गाडी लिएर हिँडेका थिए।
आन्दोलनका नाममा भिडलाई उक्साउनेहरू हिँडेपछि अराजक व्यक्तिहरूले निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आठवटा गाडीमा आजगनी गरे। आक्रामक देखिएको भिडले ट्राफिक बिट पनि भत्कायो। पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड भयो। हिंसात्मक गतिविधि गर्दै हिँडेका उनीहरूले नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट मच्चाउनुका साथै तोडफोडसमेत गरेका थिए।
उक्त हिंसात्मक आन्दोलनका कमाण्डर रहेका प्रसाईलाई प्रहरीले पक्राउ गर्न खोजिरहे पनि उनी फरार छन् ।