(Japan) 23 rd April | 2026 | Thursday | 7:06:25 PM || (Nepal) 3:51:25 PM
 
 


पूर्वराजालाई करीव ८ लाख रुपैयाँ जरीवाना तिर्न काठमाडौं महानगरको पत्र

  POSTED ON : Sunday, 30 March, 2025 | Views : 1004

पूर्वराजालाई करीव ८ लाख रुपैयाँ जरीवाना तिर्न काठमाडौं महानगरको पत्र


काठमाडौं, नेपाल । 

काठमाण्डौ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको छ । 


हिजो तीनकुने क्षेत्रको प्रदर्शनमा सार्वजनिक स्थानका सामाग्री तोडफोड र फोहोर गरेवापत महानगरले आठ वटा शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको हो । 


ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाण्डौका नाममा महानगरका आठ जना नगर प्रहरीले आठ वटा बेग्लाबेल्लै पत्र काटेका हुन् । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । 


प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए ।


यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डौ आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पुर्‍याएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरीवाना तोकेको थियो । 


सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरीवाना तिरेका थिए । त्यसअघि महानगरले दरबारमार्गमा कार्यक्रम गरेको नेकपा (एमाले)लाई पनि एक लाख रुपैयाँ जरीवाना तोकेको थियो । तर नेकपा एमालेले अहिलेसम्म अटेरी गरेर जरिवाना तिरेको छैन ।