(Japan) 15 th January | 2025 | Wednesday | 7:14:17 PM || (Nepal) 3:59:17 PM
 
 


उपप्रधानमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

  POSTED ON : Monday, 06 May, 2024 | Views : 612

उपप्रधानमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता


काठमाडौं, नेपाल ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ ।

नेपालको एक दिने सद्भावना भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री कामिकावाले आईतवार अपरान्ह सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गर्नुभएको हो । दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरुलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको उहाँले बताउनु भयो । उहाँहरुबीच विश्वका विभिन्न परराष्ट्रसँग सम्बन्धित मामिलाबारे पनि छलफल भएको थियो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामीले जापानलाई पुरानो असल मित्रको रुपमा र हाम्रो अत्यन्तै ठूलो विकास साझेदारको रुपमा लिएका छौं । त्यसकारणले हाम्रो सम्बन्धलाई दुई पक्षीय सम्बन्धलाई र यसको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ गरेर बिस्तार गर्ने बारेमा सबै पक्षहरुमा अहिले छलफल भएको छ । यो औपचारिक सद्भावना भ्रमणमा कुनै कुनै एग्रीमेन्ट वा कुनै एमओयूको एजेण्डा छैन । र हामीले हाम्रा बीचका दुई पक्षीय सम्बन्धहरुलाई अझ दह्रो कसरी बनाउने, मतबुत कसरी बनाउने ? जापानमा रहेका नेपाली श्रमिकहरुको बारेमा खासै छलफल भएन । जुन कुरा हाम्रो पहिलादेखि नै छलफलमा जारी छ । त्यो बारेमा हाम्रो छलफल हुने कुरा रहन्छ । तर त्यसमा अहिले ठोस ढंगले निर्णय गर्ने गरेर कुनै छलफल भएको छैन ।’

जापानकी विदेशमन्त्री कामिकावा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिन भ्रमणका क्रममा नेपाल आउनुभएको हो । उहाँ राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आजै स्वदेश फर्कनु हुनेछ ।

त्यसअघि उहाँले आफ्नो सम्मानमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आयोजना गर्नुभएको रात्री भोजमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।