(Japan) 15 th June | 2026 | Monday | 10:16:38 AM || (Nepal) 7:01:38 AM
 
 

लाईन बस्न अनुरोध गर्ने गार्डलाई ‘झुठो मुद्दा’ मा थुन्ने मन्त्रीले थप सुरक्षाकर्मी मागे

  POSTED ON : Monday, 05 September, 2022 | Views : 2634

लाईन बस्न अनुरोध गर्ने गार्डलाई ‘झुठो मुद्दा’ मा थुन्ने मन्त्रीले थप सुरक्षाकर्मी मागे


काठमाडौं, नेपाल ।

सुरक्षा गार्डलाई ‘झुठो मुद्दा’ लगाएर थुनाउने मन्त्रीले आफ्नो लागि असुरक्षा बढेको भन्दै थप सुरक्षाकर्मी मागेका छन् ।

नियमानुसार  ‘लाइनमा बस्न’ भनेकै भरमा सुरक्षा गार्डलाई अभद्र व्यवहारको झुठो मुद्दामा हिरासत पठाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना लागि थप सुरक्षाकर्मी माग गरेका हुन् । आइतबार पर्यटन मन्त्री श्रेष्ठले गृहमन्त्रालयमा सम्पर्क गरी थप सुरक्षा दिन माग गरेका हुन्।

आफ्नो बारेमा सार्वजनिकस्थल तथा सामाजिक सञ्जालमा विरोध भइरहेको जानकारी गराउँदै श्रेष्ठले भौतिक आक्रमण समेत हुनसक्ने भन्दै केही सुरक्षाकर्मी थपिदिन मन्त्री श्रेष्ठले आग्रह गरेका गृहमन्त्रालयका एक अधिकारीले बताए। नियम पालना गराउने सुरक्षा गार्डलाई पक्राउ गरिएपछि मन्त्री श्रेष्ठको सर्वत्र आलोचना भएको छ ।

शेरजंग गुरुङविरुद्ध उजुरी दिएर पक्राउ गराएपछि आम नारिकको आक्रोश र आलोचनाको सिकार बनेका मन्त्रीले आफूमाथि भौतिक आक्रमण समेत हुनसक्ने निष्कर्ष निकाल्दै थप सुरक्षा माग गरेको गृह स्रोतले बताएको हो। अहिले मन्त्री श्रेष्ठसँग दुई जना सुरक्षाकर्मी छन्। उनीहरू सेना र प्रहरीबाट खटिएका अङ्गरक्षक हुन्। मन्त्री श्रेष्ठले केही समयको लागि थप दुईतीनजना सुरक्षाकर्मी मागेको गृह स्रोतले जनाएको छ।

गृहका ती अधिकारीले भने, ‘‘अहिले आफ्नाविरुद्धमा सबै जना विरोधमा उत्रिएकाले गाह्रो परेको मन्त्रीज्यूले बताउनुभयो। चुनावी माहौल तातेकाले भिडभाडमा जानुपर्ने, सभा सम्मेलनमा जानुपर्ने हुँदा असुरक्षा हुनसक्ने आकलन गर्नुभयो। तत्कालका लागि थप दुई, तीनजना सुरक्षाकर्मी माग्नुभएको छ।’’

शुक्रबार बिहान मन्त्री श्रेष्ठ श्रीमती, मन्त्रालयका कर्मचारी, सेना र प्रहरीबाट खटिएका अङ्गरक्षक सहित ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा गएका थिए। जाहेरीमा मन्त्रीमाथि सुरक्षा गार्डले दुर्व्यवहार गरेको भनिए पनि प्रहरी र मन्त्रीका दाबी पुष्टि हुने प्रमाण देखिँदैन।

सरकारी सुरक्षाकर्मीसहितका मन्त्रीलाई एकजना सामान्य सुरक्षागार्डले कसरी दुर्व्यवहार गरे भन्दै आलोचना भइरहेको छ।

मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै भरमा प्रहरीले सुरक्षा गार्डलाई जबरजस्ती झुठो बनावटी मुद्दा बनाएर मुलुकी अपराध संहिताको कानुन लगाएर कारबाही गर्न खोजिएको भन्दै विरोध भइरहेको छ।