फुकुओका, जापान ।
जापानको फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको हत्या भएको घटनामा तीन जना नेपाली पक्राउ परेका छन् । फुकुओका प्रिफेक्चरल प्रहरीले सोमबार, सेप्टेम्बर ८ मा हत्या गरेको आशङ्कामा २० वर्ष उमेर समूहका दुई पुरुष र एक महिलालाई पक्राउ गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना नेपाली नागरिकमाथि राजवंशीको हत्या गर्न आपसमा मिलेमतो गरेको आशङ्का गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार घटना अगस्ट १८ रातिदेखि अगस्ट १९ को बिहानसम्म भएको देखिएको छ ।
जापानी सञ्चारमाध्यम केबिसी र अन्य सञ्चारसंस्थाका अनुसार प्रहरीले सेप्टेम्बर ८ को बिहान करिब ६:३० बजे फुकुओका सहरको हाकाता वडास्थित एक अपार्टमेन्टमा पुगेर तीन जनालाई क्रमशः सोधपुछका लागि साथ लगेको थियो । उनीहरूले प्रहरीको आग्रहमा प्रतिरोध नगरी अनुसन्धानमा सहयोग गरेको बताइएको छ । त्यसपछि प्रमाण र अनुसन्धानका आधारमा हत्या गरेको आशङ्का बलियो भएपछि उनीहरूलाई औपचारिक रूपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्ने तीनै जना नेपाली, लक्ष्मीकै प्रेमिका आशंका गरेका र साथीहरु
टेलिभिजन निशिनिप्पोनले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेहरूमा २८ वर्षीय नेपाली पुरुष, फुकुओका सहर हाकाता वडामा बसोबास गर्ने व्यावसायिक शिक्षालयका विद्यार्थी,
२५ वर्षीया नेपाली महिला, सागा प्रिफेक्चरको तोसु सहर निवासी,
२२ वर्षीय नेपाली पुरुष, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने विद्यार्थी रहेका छन्।
जापानी सञ्चारमाध्यमले उनीहरूको नाम २८ बर्षिया सन्जु तामागं, २५ बर्षिया अस्मिता तामागं र २२ बर्षका प्रबिन लामा भएको उल्लेख गरेका छन् ।
टाउकोमा प्रहार र घाँटीमा डोरीले कसेको आशङ्का
प्रहरी अनुसन्धान अनुसार तीन जनाले मिलेमतो गरी अगस्ट १८ को रातिदेखि १९ को बिहानसम्म लक्ष्मी राजवंशीको निवासमै उनीमाथि आक्रमण गरेको आशङ्का गरिएको छ ।
प्रारम्भिक विवरण अनुसार राजवंशीको टाउकोमा कडा वस्तुले प्रहार गरिएको, घाँटीमा डोरी वा त्यस्तै वस्तुले कसेको र त्यसपछि अपार्टमेन्टको बरण्डाबाट नदीतर्फ खसालेर लगेको वा बोकेर नदीमा पुर्याइएको आशङ्का प्रहरीले गरेको छ।
जापानी सञ्चारमाध्यमका अनुसार पोस्टमार्टम तथा अनुसन्धानबाट मृत्युको कारण डुबेर मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाको सम्पूर्ण परिस्थितिबारे थप अनुसन्धान गरिरहेको छ ।
अगस्ट १९ मा नाका नदीमा भेटिएको थियो शव
२५ वर्षीया नेपाली नागरिक तथा व्यावसायिक शिक्षालयकी विद्यार्थी लक्ष्मी राजवंशीको शव अगस्ट १९ को बिहान फुकुओका सहरको तेन्जिन क्षेत्र हुँदै बग्ने नाका नदीमा फेला परेको थियो ।
शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा उनको टाउको र अनुहारमा कडा वस्तुले प्रहार गरिएजस्ता धेरै चोटहरू देखिएको थियो । शरीर र हातमा समेत चोटहरू थिए ।
उनको हातमा देखिएका घाउहरू आक्रमणका क्रममा आफूलाई जोगाउने प्रयास गर्दा लागेको हुन सक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका थिए । केही चोटहरू गम्भीर प्रकृतिका रहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सुत्ने खाटमा रगतका दाग र ज्यान जोगाउन सङ्घर्ष गरेका चिन्ह
राजवंशी बस्दै आएको अपार्टमेन्ट नदीमा शव भेटिएको स्थानबाट करिब २ किलोमिटर माथिल्लो क्षेत्रमा रहेको थियो ।
प्रहरीले उनको अपार्टमेन्टको अनुसन्धान गर्दा विशेष गरी सुत्ने खाटमा सङ्घर्ष भएको जस्तो चिन्ह र रगतका दाग फेला पारेको थियो ।
यसअघि नै घटनास्थलको अवस्था हेरेर प्रहरीले राजवंशीमाथि उनको निवासमै आक्रमण भएको हुन सक्ने अनुमान गरेको थियो । तर अपार्टमेन्ट बाहिर रगतका स्पष्ट चिन्ह नदेखिएपछि शव कसरी नदीसम्म पुर्याइयो भन्ने विषय अनुसन्धानको महत्त्वपूर्ण पक्ष बनेको थियो । प्रहरीले घटनामा एकभन्दा बढी व्यक्तिको संलग्नता हुन सक्ने सम्भावना समेत सुरुदेखि नै अनुसन्धान गरिरहेको थियो ।
७० जनाको विशेष अनुसन्धान टोली परिचालन
घटनाको प्रकृति गम्भीर देखिएपछि फुकुओका प्रिफेक्चरल प्रहरीले अगस्ट २० मा करिब ७० सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेको थियो ।
अनुसन्धान टोलीले राजवंशीको अन्तिम पटक देखिएको स्थान, मोबाइल फोन र सम्पर्कहरू, अपार्टमेन्ट आसपासका निगरानी क्यामेरा, उनको परिचित तथा साथीभाइ, विद्यालय र कार्यस्थलसँग सम्बन्धित गतिविधि, लगायतका विषयमा विस्तृत अनुसन्धान गरेको थियो ।
राजवंशीको मोबाइल फोनसमेत फेला नपरेको जानकारी यसअघि सार्वजनिक भएको थियो, जसलाई प्रहरीले घटनाको अनुसन्धानमा महत्त्वपूर्ण प्रमाणका रूपमा हेरेको थियो ।
काम सकेर फर्किएपछि सम्पर्कविहीन
अनुसन्धानका अनुसार राजवंशी अगस्ट १८ को रात आफ्नो आशिंक काम (आरुबाईतो) सकेर फर्किएकी थिइन् । उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन् ।
जापानी सञ्चारमाध्यमका अनुसार उनी राति करिब १०:३० बजे कामबाट निस्किएको देखिएको थियो। त्यसपछि उनको गतिविधि र कस-कससँग भेटघाट भयो भन्ने विषय प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरेको थियो ।
प्रेम सम्बन्धसम्बन्धी विवादको सम्भावना उच्च
घटनामा पक्राउ परेकाहरू र मृतकबीचको सम्बन्धबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जापानी मिडियाहरुमा प्रकाशित पछिल्लो विवरण अनुसार राजवंशीको प्रेम सम्बन्धसँग जोडिएको विवाद हुन सक्ने सम्भावना देखिएपछि यो कोणबाट विशोष अनुसन्धान भइरहेको छ । सञ्चारमाध्यमको विवरण अनुसार राजवंशीसँग सम्बन्धमा रहेका प्रविन र पक्राउ परेकी अस्मिता सँगै बस्ने गरेको बताइएको छ ।
यद्यपि, घटनाको वास्तविक उद्देश्य वा हत्या हुनुको निश्चित कारणबारे प्रहरीले अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन । त्यसैले प्रेम सम्बन्ध सम्बन्धी विवादलाई अनुसन्धानको एउटा सम्भावित कोणका रूपमा हेरिएको छ।
सन् २०२३ मा जापान आएकी थिइन् लक्ष्मी
लक्ष्मी राजवंशी सन् २०२३ मा अध्ययनका लागि जापान आएकी थिइन् । उनी फुकुओकाको व्यावसायिक शिक्षालयमा अन्तर्राष्ट्रिय व्यवसायल गायतका विषय अध्ययन गर्दै आएकी थिइन्।
पढाइसँगै उनले एक रेस्टुरेन्टमा आंशिक समय कामसमेत गर्दै आएकी थिइन् ।
उनलाई चिन्ने सहपाठी र परिचितहरूले राजवंशीलाई मेहनती, मिलनसार र अध्ययनप्रति गम्भीर विद्यार्थीका रूपमा सम्झिएका छन् । जापानी सञ्चारमाध्यमका अनुसार उनी नियमित रूपमा विद्यालय जाने र पढाइलाई प्राथमिकता दिने विद्यार्थी थिइन्।
परिवारमा गहिरो शोक
नेपालमा रहेका राजवंशीका परिवारका सदस्यले छोरीको असामयिक मृत्युले आफूहरू गहिरो शोकमा परेको बताएका छन् ।
यसअघि जापानी टेलिभिजन तथा नेपाली संचार माध्यमहरुसँगको कुराकानीमा परिवारले लक्ष्मीको मृत्यु भएको समाचार विश्वास गर्नसमेत कठिन भएको बताएका थिए । परिवारले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही गर्न जापानी प्रहरीसँग आग्रह गरेको थियो ।
लक्ष्मीले जापानमा पढाइ पूरा गरी काम गर्ने र भविष्यमा परिवारलाई सहयोग गर्ने सपना देखेको परिवारजनले बताएका छन् ।
अनुसन्धान जारी
पक्राउ परेका तीनै जना हाल हत्या गरेको आशङ्कामा अनुसन्धानको दायरामा छन् । जापानी कानुन अनुसार अनुसन्धान र अदालती प्रक्रियापछि मात्र उनीहरूको दोष वा निर्दोषताको अन्तिम कानुनी फैसला हुनेछ ।
फुकुओका प्रिफेक्चरल प्रहरीले तीन जनाबीचको सम्बन्ध, मृतकसँगको सम्पर्क, घटनाको कारण तथा अपराधको सम्पूर्ण घटनाक्रमबारे विस्तृत अनुसन्धान जारी राखेको छ।
यो समाचार सेप्टेम्बर ८ मा जापानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका पछिल्ला विवरणका आधारमा प्रकाशित गरिएको हो । प्रहरी अनुसन्धान जारी रहेकाले आगामी दिनमा थप तथ्य तथा विवरण सार्वजनिक हुन सक्नेछन् जसलाई जापानसमाचारडटकमले प्राथमिकताका साथ प्रकाशित गर्नेछ ।