(Japan) 28 th August | 2026 | Friday | 2:16:56 PM || (Nepal) 11:01:56 AM
 
 


नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भने 'यस्तो बाढी कसैले देखेका थिएनन्'

  POSTED ON : Friday, 28 August, 2026 | Views : 62

नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भने 'यस्तो बाढी कसैले देखेका थिएनन्'


काठमाडौं, नेपाल ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विनाशकारी बाढीबाट आफू अत्यन्त दुःखी भएको बताउँदै नेपाललाई आवश्यक पर्ने जुनसुकै प्रकारको सहयोग गर्न अमेरिका तयार रहेको घोषणा गरेका छन् ।

फक्स न्युजले सार्वजनिक गरेको भिडियोमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले नेपालमा आएको बाढी अत्यन्त शक्तिशाली र विनाशकारी रहेको बताएका हुन् । उनले यस्तो प्रकृतिको बाढी आफूले यसअघि नदेखेको उल्लेख गर्दै बाढीले ठूलो जनधनको क्षति पुर्‍याएकोप्रति दुःख व्यक्त गरे ।

ट्रम्पले भने, “हामीले नेपालमा फोन गरेका छौं। हाम्रो नेपालसँग धेरै राम्रो सम्बन्ध रहँदै आएको छ। नेपालमा अत्यन्त क्रुर किसिमको बाढी आएको छ। यस्तो बाढी कसैले देखेका थिएनन्।”

उनले बाढीको तीव्रताबारे चर्चा गर्दै भवनहरू समेत टुथपिकजस्तै बगाएर लगेको उल्लेख गरे । उनका अनुसार अमेरिकी सरकारले नेपालका लागि राहत तथा सहायता सामग्री पठाउन लागेको छ ।


‘जुनसुकै सहयोग आवश्यक परे हामी तयार छौं’

राष्ट्रपति ट्रम्पले नेपालका नेतृत्वसँग सम्पर्क भइरहेको जानकारी दिँदै विपद्को यस कठिन अवस्थामा नेपाललाई आवश्यक पर्ने सहयोगबारे अमेरिकी पक्षलाई जानकारी गराउन आग्रह गरेका छन् ।

“हामी सहायता सामग्री पठाउँदैछौं । त्यहाँको नेतृत्वसँग कुरा गरेका छौं । कुनै प्रकारको सहयोग चाहिन्छ भने हामीलाई जानकारी होस्, हामी तयार छौं,” ट्रम्पले भने ।

उनको यो भनाइले नेपालमा जारी विपद्का बेला अमेरिकाले मानवीय सहायता र उद्धार–राहत प्रयासमा सहयोग बढाउने संकेत गरेको छ ।


अमेरिकी नागरिकको अवस्थाबारे पनि चासो

ट्रम्पले बाढी प्रभावित क्षेत्रमा रहेका केही अमेरिकी नागरिकसमेत सम्पर्कविहीन भएको जानकारी दिएका छन् । उनीहरूको अवस्था पत्ता लगाउन आवश्यक खोजी तथा समन्वय भइरहेको उनले बताए ।

नेपालमा आएको बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सडक, पुल, घर तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ ।

यसैबीच, नेपालको विपद्मा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र ऐक्यबद्धता व्यक्त हुने क्रम बढिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणाले नेपालको उद्धार तथा राहत प्रयासमा अन्तर्राष्ट्रिय सहयोग थप बलियो बन्ने अपेक्षा गरिएको छ ।