(Japan) 30 th July | 2026 | Thursday | 12:10:23 PM || (Nepal) 8:55:23 AM
 
 

जापान कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या १७ पुग्यो - ६ को अवस्था चिन्ताजनक १ जना अझै बेपत्ता

  POSTED ON : Thursday, 30 July, 2026 | Views : 186

जापान कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या १७ पुग्यो - ६ को अवस्था चिन्ताजनक १ जना अझै बेपत्ता


टोकियो, जापान ।

जापानको कुमामोतोमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । कुमामोतो प्रिफेक्चरले बिहीबार जुलाई ३० बिहान ९:३० बजे बसेको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा पछिल्लो क्षतिको विवरण सार्वजनिक गरेको हो ।

प्रिफेक्चरका अनुसार भूकम्पमा ६ जनाको अझै चिन्ताजकन अवस्थामा उपचार प्रयास भइरहेको छ । उनीहरूलाई बचाउने तथा उद्धार गर्ने प्रयास जारी रहे पनि अवस्था अत्यन्त गम्भीर रहेको छ । यसबाहेक कम्तीमा एक जना व्यक्तिको अवस्था अझै अज्ञात रहेको जनाइएको छ ।


भूकम्पपछि लगातार उद्धार अभियान

जुलाई २८ को साँझ कुमामोतो क्षेत्रमा अधिकतम ७ स्तरको कम्पन महसुस हुने गरी शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि लगातार परकम्पहरू आइरहेका छन् । स्थानीय अधिकारी, प्रहरी, दमकल तथा जापान सेल्फ–डिफेन्स फोर्सले भग्नावशेषमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई तीव्र बनाएका छन् ।

भूकम्पका कारण घर तथा भवनमा क्षति पुग्नुका साथै सडक, पुल, रेलमार्ग र अन्य पूर्वाधारमा पनि असर परेको छ । विद्युत आपूर्ति अवरुद्ध भएका क्षेत्रमा पुनःस्थापना कार्य जारी छ । कुमामोतो क्षेत्रका केही स्थानमा भूकम्पपछि २०० भन्दा बढी पराकम्प समेत रेकर्ड भएको स्थानीय रिपोर्टहरूले जनाएका छन् ।


इयोन मलमा विस्फोटपछि उद्धारमा थप चुनौती

भूकम्पपछि कुमामोतोको इयोन मल कुमामोतोमा विस्फोट भएको घटनाले पनि उद्धार कार्यलाई थप जटिल बनाएको छ । भवनको दोस्रो तल्लाको केही भाग भत्किएको र केही मानिसभित्र फसेको आशंका गरिएको थियो । घटनापछि कर्मचारीसहित केही व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार टोली परिचालन गरिएको थियो ।


८ हजारभन्दा बढी मानिस आश्रयस्थलमा

भूकम्पबाट प्रभावित हजारौँ मानिस घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् । पछिल्लो रिपोर्ट अनुसार ८ हजारभन्दा बढी मानिसले विभिन्न आश्रयस्थलमा शरण लिएका छन् । प्रशासनले जोखिमयुक्त भवनमा नफर्किन र पराकम्पको सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ ।

कुमामोतो प्रिफेक्चरले क्षतिको विस्तृत विवरण संकलन तथा बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राखेको छ । मृतकको संख्या अझै बढ्न सक्ने भएकाले अधिकारीहरूले उद्धार तथा खोजी अभियानलाई निरन्तरता दिएका छन् ।

कुमामोतो भूकम्पसम्बन्धी थप विवरण तथा आधिकारिक अपडेटहरू प्राप्त भएपछि जापानसमाचारडटकममा निरन्तर अपडेट गरिनेछ ।