टोकियो, जापान ।
जापान सरकारले जुलाई १ देखि राहदानी (पासपोर्ट) जारी शुल्कमा ठूलो कटौती गरेपछि देशभर राहदानी आवेदन दिनेहरूको संख्या ह्वात्तै बढेको छ । जापानको परराष्ट्र मन्त्रालयका अनुसार नयाँ शुल्क लागू भएको पहिलो तीन दिनमै करिब १ लाख ५४ हजार ८ सय राहदानी आवेदन परेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.३ गुणा बढी हो ।
सरकारले विदेश यात्रा गर्ने जापानी नागरिकको आर्थिक भार कम गर्ने उद्देश्यले जुलाई १ देखि राहदानी शुल्कमा उल्लेखनीय कमी गरेको हो । नयाँ व्यवस्था अनुसार १८ वर्ष वा सोभन्दा माथिका नागरिकले १० वर्षे राहदानी कार्यालयमा प्रत्यक्ष आवेदन गर्दा १६,३०० येनबाट घटाएर ९,३०० येन मात्र तिर्नुपर्ने भएको छ । अनलाइन मार्फत आवेदन दिनेहरूले अझ कम, ८,९०० येन शुल्क तिर्ने व्यवस्था गरिएको छ ।
यसैबीच, टोकियोमा अनलाइन राहदानी आवेदनको संख्या सामान्य अवस्थाको तुलनामा छ गुणासम्म बढेको बताइएको छ । आवेदनको चाप अत्यधिक बढेपछि जुलाई १ का दिन केही राहदानी कार्यालयमा नागरिकहरूले चार घण्टासम्म पालो कुर्नुपरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार अहिले प्रारम्भिक भीड कम भइसकेको भए पनि आवेदनको संख्या अझै सामान्यभन्दा उच्च रहेको छ ।
छुटको प्रतीक्षाले जून महिनामा घटेको थियो आवेदन
मन्त्रालयका अधिकारीहरूका अनुसार शुल्क घट्ने घोषणा भएपछि धेरै नागरिकले जून महिनामा राहदानी नबनाई जुलाईसम्म कुरेका थिए । त्यसका कारण जून महिनामा राहदानी आवेदन सामान्य अवस्थाको ६० प्रतिशतभन्दा कममा झरेको थियो । शुल्क लागू हुनेबित्तिकै ती सबै आवेदक एकैपटक कार्यालय पुगेपछि असामान्य भीड देखिएको हो ।
राहदानी बनाउन अब एक महिनासम्म लाग्न सक्ने
अचानक बढेको आवेदनका कारण राहदानी जारी प्रक्रियामा पनि केही ढिलाइ हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । सामान्यतया करिब दुई सातामा तयार हुने राहदानी अहिले एक महिनासम्म लाग्न सक्ने भएकाले विदेश यात्रा गर्ने योजना भएका नागरिकलाई पर्याप्त समय अगावै आवेदन दिन आग्रह गरिएको छ ।
विदेश यात्रा प्रोत्साहन गर्ने सरकारको प्रयास
जापान सरकारले डिपार्चर प्रस्थान कर वृद्धि र विदेशी नागरिकका लागि भिसा शुल्क बढाएको छ भने अर्कोतर्फ आफ्नै नागरिकलाई राहत दिन राहदानी शुल्क घटाएको हो । यस कदमले अधिक जापानी नागरिकलाई राहदानी बनाउन र अन्तर्राष्ट्रिय यात्रा गर्न प्रोत्साहन गर्ने सरकारको अपेक्षा रहेको छ ।
परराष्ट्र मन्त्रालयले हाल राहदानी कार्यालयको भीड अधिकांश स्थानमा सामान्य बन्दै गएको जनाएको छ । तथापि, गर्मीयामको बिदा तथा वर्ष अन्त्यको यात्रा योजना बनाइरहेका नागरिकलाई अन्तिम समयसम्म नपर्खी समयमै राहदानी आवेदन दिन मन्त्रालयले पुनः आग्रह गरेको छ ।