टोकियो, जापान ।
जापान सरकारले आगामी जुलाई १, २०२६ देखि लागू हुने गरी विभिन्न प्रकारका भिसा शुल्कमा उल्लेखनीय वृद्धि गर्ने निर्णय गरेको छ । सन् १९७८ पछि पहिलो पटक भिसा शुल्क पुनरावलोकन सहित करिव पाँच गुणा बृद्धि गरिएको छ ।
बढ्दो प्रशासनिक खर्च, विदेशी नागरिकको संख्या वृद्धि तथा डिजिटल प्रणाली विस्तारका कारण शुल्क बढाइएको जापान सरकारले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार जापान प्रवेशका लागि आवश्यक सिंगल इन्ट्री (एकपटक प्रवेश) भिसा को शुल्क हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्याइएको छ । त्यस्तै मल्टिपल इन्ट्री (बहुपटक प्रवेश) भिसा को शुल्क ६,००० येनबाट बढेर ३०,००० येन बनाइएको छ । यो हालको शुल्कभन्दा करिब पाँच गुणा बढी हो ।
विदेश मन्त्रालयका अनुसार लगभग पाँच दशकदेखि भिसा शुल्कमा कुनै ठूलो संशोधन गरिएको थिएन । यस अवधिमा मुद्रास्फीति, विनिमय दर तथा प्रशासनिक खर्च उल्लेखनीय रूपमा बढेकाले शुल्क समायोजन गर्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् ।
जापानमा बसोबास गर्ने नेपाली सहित सबै विदेशीहरूमाथि आर्थिक भार
जापानमा बसोबास गरिरहेका विदेशी नागरिकका लागि पनि आगामी महिनाहरूमा आवासीय हैसियत (Residence Status) परिवर्तन, भिसा नवीकरण तथा स्थायी बसोबास (Permanent Residence) सम्बन्धी शुल्क बढ्ने तयारी भइरहेको छ ।
हाल ६,००० येन आसपास रहेको भिसा नवीकरण तथा स्टाटस परिवर्तन शुल्क १०,००० देखि ७०,००० येनसम्म पुग्न सक्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै स्थायी बसोबास (PR) आवेदन शुल्क हालको १०,००० येनबाट बढेर अधिकतम २ लाख येनसम्म पुग्न सक्ने सरकारी प्रस्ताव सार्वजनिक भइसकेको छ । यद्यपि यी शुल्कहरू मन्त्रिपरिषद्को अन्तिम निर्णय र कार्यान्वयन मितिपछि मात्र लागू हुनेछन् ।
किन बढाइयो शुल्क ?
जापान सरकारले विदेशी नागरिक सम्बन्धी सेवा विस्तार, अध्यागमन प्रणालीको डिजिटलीकरण, कर्मचारी व्यवस्थापन तथा प्रशासनिक लागत बढेकाले शुल्क वृद्धि आवश्यक भएको जनाएको छ ।
साथै विदेशी नागरिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले पनि नयाँ शुल्क संरचना ल्याइएको बताइएको छ ।
नेपाली समुदायमा पनि प्रभाव
जापानमा रहेका नेपाली विद्यार्थी, कामदार, आश्रित परिवार तथा व्यवसायीहरूलाई भिसा नवीकरण, स्टाटस परिवर्तन वा भविष्यमा स्थायी बसोबास आवेदन गर्दा अतिरिक्त आर्थिक भार पर्ने देखिएको छ । विशेष गरी परिवार सहित जापानमा बसोबास गरिरहेका नेपालीहरूले आगामी शुल्क वृद्धिलाई ध्यानमा राखेर आफ्नो कागजी प्रक्रिया समयमै पूरा गर्नुपर्ने देखिन्छ । साथै खर्च कटौति नै गर्नुपर्ने अवस्था गरि भिषा नविकरण शुल्क बढेकाले त्यसमा समेत बिचार गर्नुपर्ने भएको छ ।
जुलाई १, २०२६ देखि लागू हुने नयाँ भिसा शुल्कले जापान आउने नयाँ विदेशी नागरिकहरूलाई प्रत्यक्ष असर गर्नेछ भने जापान भित्रका आवासीय अनुमति सम्बन्धी शुल्क वृद्धि पनि चरणबद्ध रूपमा लागू गर्ने जापान सरकारले तयारीका कारण जापानमा बसोबास गर्दै आएका नेपालीहरु सहित सबै बिदेशीहरुलाई आर्थिक भार थपिने भएको छ ।