चिबा, जापान ।
टोकियो नजिकै रहेको चिडियाखानामा चर्चित जापानी बाँदर ‘पन्च’को घेराभित्र अनधिकृत रूपमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएका दुई अमेरिकी नागरिकलाई जनही ३ लाख येन जरिवाना गरिएको छ ।
चिबा जिल्ला सरकारी वकिल कार्यालयका अनुसार शुक्रबार दुवैलाई चिडियाखानाको सञ्चालनमा अवरोध पुर्याएको आरोपमा संक्षिप्त अभियोग दर्ता गरिएको थियो । यो प्रक्रिया अन्तर्गत औपचारिक अदालत सुनुवाइ बिना नै जरिवानाको आदेश जारी गर्न सकिन्छ । दुवैले तोकिएको जरिवाना रकम तिरेका छन् ।
गत जुलाईमा जन्मिएको ‘पन्च’ आफ्नी आमाबाट त्यागिएको थियो । त्यसपछि चिडियाखानाका कर्मचारीहरूले उसको लागि विकल्प स्वरूप ओराङउटान आकारको खेलौना उपलब्ध गराएका थिए । उक्त खेलौनालाई अँगालो मारिरहेको पन्चको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उसले व्यापक चर्चा कमाएको थियो । चिडियाखानाले उसको विकास र गतिविधिबारे नियमित अपडेट सार्वजनिक गर्दै आएको छ, जसले धेरै आगन्तुकलाई आकर्षित गरेको छ।
अभियोग अनुसार घटना मे १७ मा चिबा प्रिफेक्चरस्थित इचिकावा सिटी चिडियाखानामा भएको थियो। दुवै जनाले मिलेमतोमा बाँदर राखिएको क्षेत्रमा रहेको बार नाघेर प्रवेश गरेका थिए।
प्रहरीका अनुसार एक व्यक्ति कार्टुनको एक पात्रको पोशाक लगाएर बार चढेर भित्र प्रवेश गरेका थिए भने अर्का व्यक्तिले बाहिरबाट स्मार्टफोन प्रयोग गरी भिडियो खिचिरहेका थिए।
यस घटनापछि चिडियाखानाको सुरक्षाबारे पनि चर्चा सुरु भएको छ।