(Japan) 4 th June | 2026 | Thursday | 2:28:12 PM || (Nepal) 11:13:12 AM
 
 

विदेशबाट नेपाल जाने श्रमिकले भन्सार नतिरि के के लैजान पाउँछन् ? बुझिराख्नुहोला

  POSTED ON : Thursday, 04 June, 2026 | Views : 170

विदेशबाट नेपाल जाने श्रमिकले भन्सार नतिरि के के लैजान पाउँछन् ? बुझिराख्नुहोला


टोकियो, जापान ।

नेपाल सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुले आफ्नो साथमा भन्सार नतिरि ल्याउनरलैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ  ।

अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै १५ जेठदेखि लागू हुने गरी भन्सार सुविधाको विस्तृत व्यवस्था सार्वजनिक गरेको हो ।

नयाँ व्यवस्था अनुसार नेपालमा स्थायी बसोवास गर्ने नेपाली नागरिक विदेशबाट फर्कंदा व्यक्तिगत प्रयोगका लागि ल्याउने विभिन्न वस्तुमा पूर्ण भन्सार छुट पाउनेछन् । यसअन्तर्गत आफूले प्रयोग गरेका लुगाफाटा, ओछ्यान तथा घरगृहस्थीका पुराना सामग्री, उपचारपछि फर्किने बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक सामग्री, कानुनले तोकेको परिमाणसम्मको सुन तथा चाँदीका गहना, एक–एक थान ल्यापटप वा ट्याबलेट वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा तथा मोबाइल फोनमा पूर्ण छुट दिइएको छ ।


वैदेशिक रोजगारीमा गएका नेपालीका लागि भने थप सुविधा दिइएको छ । श्रम स्वीकृति लिएर लगातार कम्तीमा ६ महिना विदेशमा काम गरेर फर्केका नेपालीले आफूले प्रयोग गर्ने मोबाइल बाहेक थप एक थान नयाँ मोबाइल पनि भन्सार छुटसहित ल्याउन पाउनेछन् । यस्तै, लगातार कम्तीमा १२ महिना वैदेशिक रोजगारी गरेर फर्केका नेपालीले ६५ इन्चसम्मको एक थान टेलिभिजन पनि पूर्ण भन्सार छुटमा ल्याउन सक्ने व्यवस्था गरिएको छ । तर, यस्तो सुविधा अभिलेख राखेर एकपटक मात्र प्रदान गरिनेछ । 


लगातार कम्तीमा ६ महिना विदेश बसेर फर्किने नेपालीले आफू आउने समयभन्दा अघि वा पछि कार्गो, हुलाक वा अन्य माध्यमबाट पठाएका घरायसी पुराना सामानमा पनि भन्सार छुट पाउनेछन् । तर, ती सामान आफैँ उपस्थित भएर भन्सार जाँचपास गराउनुपर्नेछ ।


सरकारले महसुल तिरेर ल्याउन पाइने वस्तुको सूची पनि निर्धारण गरेको छ । विदेशबाट फर्किने नेपालीले टेलिभिजन, म्युजिक सिस्टम, फ्रिज, वासिङ मेसिन, पंखा, रेडियो, घडी र मोबाइल फोन एक–एक थान, लुगाफाटा, जुत्ता र कस्मेटिक्स पाँच–पाँच थानसम्म, मिक्सर, जुसर, सिलाइ मेसिन, इस्त्री, राइसकुकर जस्ता विद्युतीय उपकरण दुई–दुई थानसम्म ल्याउन सक्नेछन्  । खाद्य सामग्री १० किलोग्रामसम्म ल्याउन पाइनेछ भने चिकित्सक, इन्जिनियर र खेलाडीले आवश्यक सामग्री दुई–दुई थानसम्म ल्याउन पाउनेछन् ।


विदेशमा लामो समय बसेर फर्किने नेपालीका लागि थप राहत दिइएको छ । ६ महिनाभन्दा बढी तर एक वर्षभन्दा कम समय विदेश बसेर फर्किनेले १५ हजार रुपैयाँसम्म मूल्यका वस्तुमा भन्सार छुट पाउनेछन् । एक वर्षभन्दा बढी बसेर फर्किनेले २५ हजार रुपैयाँसम्मका वस्तुमा पूर्ण छुट पाउने व्यवस्था गरिएको छ । १६ वर्षभन्दा कम उमेरका यात्रुले भने उक्त सीमाको ५० प्रतिशत मात्र सुविधा पाउनेछन् ।


विदेशमा रहेका आफन्तले नेपालमा रहेका परिवार वा आफन्तलाई ५०० अमेरिकी डलरसम्म मूल्यका वस्तु पठाउन सक्ने व्यवस्था पनि गरिएको छ । त्यस्ता वस्तुमा लाग्ने भन्सार महसुल तिरेर जाँचपास गर्न सकिनेछ । 


भारतीय सेना वा प्रहरीबाट पेन्सन पाउने गरी अवकाशप्राप्त नेपालीले प्रमाण पेस गरेमा एकपटकका लागि ५० हजार रुपैयाँसम्मका निजी घरायसी सामग्रीमा पूर्ण भन्सार छुट पाउनेछन् । विदेश बसाइका क्रममा मृत्यु भएका नेपालीका परिवारले मृतक तथा परिवारका पुराना निजी सामग्री स्वदेश फर्काउँदा पनि सम्पूर्ण भन्सार छुट पाउने व्यवस्था गरिएको छ ।


गैरआवासीय नेपाली (एनआरएन)ले आफू एनआरएन भएको प्रमाण पेस गरेमा नेपाली नागरिक सरहका अधिकांश सुविधा प्राप्त गर्नेछन् । स्थलमार्गबाट भारत वा अन्य सीमावर्ती क्षेत्रतर्फ आवतजावत गर्ने व्यक्तिलाई भने राजपत्रमा उल्लेखित अधिकांश सुविधा नदिइने भएको छ । तर, ५०० रुपैयाँसम्म मूल्यका निजी प्रयोगका सामग्रीमा भन्सार नलाग्ने व्यवस्था गरिएको छ । 


नेपाली नागरिकले विदेशबाट फर्कँदा भन्सार छुट पाउने वस्तुहरू 

आफूले प्रयोग गरेका लुगाफाटा, ओछ्यान तथा घरगृहस्थीका पुराना सामग्री, उपचारपछि फर्किने बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक सामग्री, कानुनले तोकेको परिमाणसम्मको सुन तथा चाँदीका गहना, एक–एक थान ल्यापटप वा ट्याबलेट वा डेस्कटप कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा तथा मोबाइल फोनमा पूर्ण छुट, बच्चा बोक्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, चिकित्सकले ब्लडप्रेसर नाप्ने यन्त्र र स्टेथोस्कोप, खेलाडीले फुटबल, भलिबल, ब्याडमिन्टन वा क्रिकेट सामग्री तथा गायक–संगीतकारले गितार, हार्मोनियम, तबलालगायतका उपकरण ल्याउन सक्नेछन् ।

यसैगरी, सात किलोग्रामसम्म खाद्य सामग्री र एक लिटरसम्म मदिरा पनि भन्सार छुटमा ल्याउन पाइने ।


वैदेशिक रोजगारीमा गएका नेपालीलाई थप सुविधा 

कम्तीमा ६ महिना रोजगार गरेर फर्किएका नेपालीले आफूले प्रयोग गर्नेबाहेक थप एक थान नयाँ मोबाइल भन्सार छुटमा ल्याउन पाउने ।

आफू आउने समयभन्दा अघि वा पछि कार्गो, हुलाक वा अन्य माध्यमबाट पठाएका घरायसी पुराना सामानमा पनि भन्सार छुट पाउने । तर, ती सामान आफैँ उपस्थित भएर जाँचपास गराउनुपर्ने । लगातार कम्तीमा १२ महिना रोजगारी गरेर फर्केका नेपालीले ६५ इन्चसम्मको एक थान टेलिभिजन पनि पूर्ण भन्सार छुटमा एक पटक मात्र ल्याउन पाउने ।