टोकियो, जापान ।
जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले राष्ट्रिय झण्डा सार्वजनिक रूपमा तोडफोड गर्ने (च्यात्ने, जलाउने वा अपमान जन्य गतिविधि गर्ने) तथा त्यस्ता गतिविधिका भिडियो वा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई सजाय दिने विधेयकको मस्यौदा स्वीकृत गरेको छ।
प्रस्तावित विधेयक अनुसार राष्ट्रिय झण्डामाथि “गम्भीर असहजता वा घृणा उत्पन्न हुने” किसिमको तोडफोड गरेमा दुई वर्षसम्म कैद वा २ लाख येनसम्म जरिवाना हुन सक्नेछ।
यद्यपि विधेयकमा अभिव्यक्ति स्वतन्त्रतालाई पनि ध्यानमा राखिएको उल्लेख गरिएको छ । मंगा, भिडियो गेम, कृत्रिम बुद्धिमत्ताबाट बनेका सिर्जना, चलचित्र तथा कलात्मक अभिव्यक्तिलाई सामाजिक मान्यताअनुसार यस कानुनको दायराभित्र नराखिने जनाइएको छ ।
बालबालिकाको खानामा सजावटका रूपमा प्रयोग गरिएका झण्डा वा चित्रकलामा प्रयोग भएका झण्डालाई समेत कानुनको दायराबाट बाहिर राखिएको छ ।
एलडिपीले आगामी जुलाई मध्यसम्म संसदको चालु अधिवेशनभित्रै विधेयक पारित गराउने लक्ष्य राखेको जनाएको छ। पार्टीका परियोजना टोली प्रमुख हिरोकाजु मात्सुनोले विपक्षी दलहरूसँग पनि सहमति खोजिने बताएका छन्।