टोकियो, जापान ।
जापानको खानागावा स्थित योकोहामा शहरमा एक ४५ वर्षीया महिलामाथि सडकमै यौनजन्य अभद्र व्यवहार गरेको आरोपमा ४८ वर्षीय नेपाली पुरुष पक्राउ परेका छन् । जापानी सञ्चारमाध्यमहरूका अनुसार घटना मे २१ तारिख बिहीबार साँझ करिब ७ बजेतिर खानागावा वार्ड अन्तर्गतको सडक क्षेत्रमा भएको हो ।
खानागावा प्रिफेक्चरल प्रहरीका अनुसार ती महिला सडकमा पैदल हिँडिरहेको बेला आरोपी नेपाली पुरुष अचानक नजिक गएर अभद्र व्यवहार गरेका थिए । महिलाले आफुलाई छोएपछि तत्काल आरोपीको हात हटाएर प्रतिकार गरेपछि उनी घटनास्थलबाट भागेका थिए ।
घटनापछि महिलासँगै रहेका साथीले तुरुन्तै प्रहरीको आपतकालीन नम्बर ११० मा फोन गरेर जानकारी दिएका थिए । सूचनापछि प्रहरी टोलीले आसपास क्षेत्रमा खोजी अभियान चलाएको थियो । त्यसक्रममा घटनास्थल नजिकैको सडकबाट आरोपी नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको जापानी समाचार च्यानलहरूले जनाएका छन् ।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले आफूलाई घटनाबारे “केही याद नभएको” भन्दै आरोप अस्वीकार गरेका छन् । उनले घटनाको समयमा मादक पदार्थ सेवन गरेको हुनसक्ने ठानिएको छ । प्रहरीले घटनाको पृष्ठभूमि, आरोपी र पीडितबीच कुनै चिनजान थियो वा थिएन भन्ने विषयसहित थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
हाल जापानमा बसोबास गर्ने नेपाली समुदायबीच पनि यस्ता घटनाहरुले चासो पैदा गरेको छ । जापानी कानुनअनुसार महिलामाथि हुने दुर्व्यवहार तथा सार्वजनिक स्थानमा गरिने अभद्र व्यवहारलाई गम्भीर अपराधका रूपमा लिइने भएकाले प्रहरीले कडा अनुसन्धान गरिरहेको बताइएको छ।