टोकियो, जापान ।
जापानमा बसोबास गर्ने विदेशी नागरिकमध्ये झण्डै आधाले कुनै न कुनै प्रकारको विभेद (डिस्क्रिमिनेसन) भोगेको बताएका छन् । यो कुनै बिदेशी व्यक्ति वा संस्थाले भनेको नभई जापानको अध्यागमन सेवा एजेन्सीले मंगलबार सार्वजनिक गरेको सरकारी सर्वेक्षणले नै यस्तो तथ्य बाहिर ल्याएको हो ।
सन् २०२५ को अक्टोबरदेखि नोभेम्बरसम्म गरिएको उक्त सर्वेक्षणमा १८ वर्षभन्दा माथिका २० हजार विदेशी बासिन्दा तथा विशेष स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिलाई समेटिएको थियो। जसमध्ये ८ हजार ८ सय ७४ जनाको वैध प्रतिक्रिया प्राप्त भएको थियो ।
सर्वेक्षणअनुसार ४७ प्रतिशत उत्तरदाताले दैनिक जीवनमा कुनै न कुनै प्रकारको विभेद भोगेको बताएका छन् । भने ५३ प्रतिशतले आफूले विभेद अनुभव नगरेको बताएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले घटेको हो ।
घर भाडामा लिनेदेखि रोजगारीसम्म विभेद
विदेशीहरूले सबैभन्दा बढी विभेद घर खोज्ने क्रममा भोगेको पाइएको छ। १९.४ प्रतिशतले घर भाडामा लिन खोज्दा विभेद भएको बताएका छन् । त्यसपछि कार्यस्थलमा १७.५ प्रतिशत र जागिर खोज्ने क्रममा १३.२ प्रतिशतले विभेद सामना गरेको उल्लेख गरेका छन् ।
उत्तरदाताहरूका अनुसार अपरिचित व्यक्तिहरूबाट सबैभन्दा बढी विभेद हुने गरेको छ । ४४.८ प्रतिशतले अपरिचित व्यक्तिबाट विभेदपूर्ण व्यवहार पाएको बताएका छन् । कार्यस्थलसँग सम्बन्धित व्यक्तिहरूबाट ३५.९ प्रतिशत, घरधनी तथा रियल स्टेट कर्मचारीबाट २३.८ प्रतिशत र पसलका कर्मचारीबाट २२.१ प्रतिशतले विभेद अनुभव गरेको बताएका छन् ।
विदेशीविरुद्ध घृणात्मक अभिव्यक्ति बढ्दो
सर्वेक्षणमा विदेशी नागरिकलाई लक्षित ‘हेट स्पिच’ सम्बन्धी प्रश्न पनि समावेश गरिएको थियो । ४३.९ प्रतिशतले आफूले प्रत्यक्ष रूपमा वा अरूमाथि गरिएको घृणात्मक अभिव्यक्ति देखेको वा सुनेको बताएका छन् ।
१२ प्रतिशत उत्तरदाताले आफू स्वयं हेट स्पिचको सिकार भएको बताएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशतले कम हो ।
हेट स्पिच अनुभव गर्नेहरूमध्ये ७१.४ प्रतिशतले सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत यस्तो अभिव्यक्ति देखेको बताएका छन्। त्यसैगरी लाउडस्पिकर गाडीमार्फत २५.४ प्रतिशत तथा प्रदर्शन र र्यालीमार्फत २२.३ प्रतिशतले यस्तो अनुभव गरेका छन्।
“विदेशीहरू देश छाड”, “आफ्नो देश फर्क” जस्ता नाराहरू सबैभन्दा धेरै प्रयोग हुने घृणात्मक अभिव्यक्ति रहेको सर्वेक्षणमा उल्लेख छ। केहीले “विदेशीलाई समुद्रमा फालिदिनुपर्छ” जस्ता हिंसात्मक अभिव्यक्ति समेत सुन्नुपरेको बताएका छन्।
चुनौतीका बाबजुद बिदेशीहरुको भने जापानप्रति सकारात्मक धारणा
विभेदका घटनाहरू भए पनि अधिकांश विदेशीहरू जापानको जीवनप्रति सन्तुष्ट देखिएका छन् । ५२.८ प्रतिशतले जापानको जीवनप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन् भने ३८.२ प्रतिशतले “केही हदसम्म सन्तुष्ट” रहेको बताएका छन्। यसरी कुल ९१ प्रतिशत विदेशीले जापानको जीवनप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् ।
उत्तरदाताहरूले जापानको सफा वातावरण, सुरक्षित समाज, तथा जापानी संस्कृति र परम्परासँग आफूलाई सहज महसुस हुनु सन्तुष्टिको मुख्य कारण बताएका छन् । साथै ६२.६ प्रतिशतले भविष्यमा पनि जापानमै स्थायी रूपमा बस्न चाहेको बताएका छन् ।
तर असन्तुष्ट व्यक्तिहरूमध्ये ३२.७ प्रतिशतले महँगीलाई मुख्य समस्या बताएका छन् भने २१.८ प्रतिशतले न्यून तलबप्रति गुनासो गरेका छन् । १५.३ प्रतिशतले विदेशीमाथिको विभेदलाई असन्तुष्टिको कारण मानेका छन् ।
जापानमा विदेशी जनसंख्या ऐतिहासिक रूपमा बढ्यो
एजेन्सीका अनुसार सन् २०२५ को अन्त्यसम्म जापानमा विदेशी बासिन्दाको संख्या ९.५ प्रतिशतले बढेर ४१ लाख २० हजार पुगेको छ। यो जापानको इतिहासमै पहिलो पटक विदेशी जनसंख्या ४० लाख नाघेको हो।
सर्वेक्षणमा सहभागी एक विदेशीले लेखेका छन्,
“केही मानिसहरू जापानमा आप्रवासी आवश्यक छैन भन्ने सोच्दछन्, तर हामी सबै मिलेर अझ राम्रो भविष्य बनाउन सक्छौं भन्ने मलाई विश्वास छ।”