(Japan) 15 th May | 2026 | Friday | 2:49:47 PM || (Nepal) 11:34:47 AM
 
 


नेपाल फेस्टिभल चिबा २०२६ औपचारिक घोषणा गरिंदै

  POSTED ON : Friday, 15 May, 2026 | Views : 150

नेपाल फेस्टिभल चिबा २०२६ औपचारिक घोषणा गरिंदै


टोकियो, जापान ।

जापानमा रहेका नेपाली समुदायबीच एकता, नेपाली कला–संस्कृतिको प्रवर्द्धन तथा नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले “दोस्रो नेपाल फेस्टिभल चिबा २०२६” आयोजना गरिने भएको छ । साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का नवनिर्वाचित पदाधिकारीहरुलाई विशेष सम्मान कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत चिबा क्षेत्रीय समन्वय परिषद्को आयोजनामा हुने उक्त कार्यक्रम सन् २०२६ सेप्टेम्बर महिनामा जापानको चिबा क्षेत्रमा भव्य रुपमा सम्पन्न गरिने तयारी गरिएको हो । कार्यक्रमको तयारीका लागि घोषणा सभा तथा मूल आयोजक समिति गठन कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।


आयोजकका अनुसार कार्यक्रम २०२६ मे १६ तारिख दिउँसो २ः३० बजेदेखि साँझ ७ बजेसम्म इचिकावा ग्राण्ड होटलमा आयोजना गरिएको घोषणा सभामार्फत औपचारिक रुपमा सार्वजनिक गरिने छ । होटल जेआर ईचिकावा स्टेशनबाट पैदल एक मिनेटको दूरीमा रहेको छ।


नेपाल फेस्टिवलमा नेपाली मौलिक संस्कृति झल्कने झाँकी, लोक तथा आधुनिक सांगीतिक प्रस्तुति, नेपाली परिकार, हस्तकला प्रदर्शनी, पर्यटन प्रवर्द्धन स्टल तथा नेपालका विभिन्न जातीय संस्कृतिको परिचय प्रस्तुत गरिने जनाइएको छ ।

कार्यक्रम मार्फत नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै जापानमा रहेका नेपालीहरुको आपसी सम्बन्ध, सहकार्य र पहिचानलाई थप सशक्त बनाउने लक्ष्य लिइएको छ।

आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सहयोग र ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।

साथै जापानमा रहेका नेपाली व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाको समेत सहभागिता रहने अपेक्षा गरिएको छ ।


त्यसैगरी कार्यक्रममा एनआरएनए आईसिसिका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै जापानस्थित नेपाली समुदायको योगदानको कदर गरिने आयोजकको भनाइ छ ।