टोकियो, जापान ।
जापानमा रहेका स्याङ्जाली नेपालीहरूबीच आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित स्याङ्जा समाज जापानले “वृहत वनभोज कार्यक्रम २०२६ (Summer BBQ) पार्टी” आयोजना गर्ने भएको छ । समाजले हरेक बर्षजसो आयोजना गर्दै आएको बनभोज कार्यक्रमको आवश्यक तयारी पुरा भएको जनाएको छ ।
समाजका अध्यक्ष वेद कार्कीको नाममा जारी गरिएको निमन्त्रणा पत्रअनुसार कार्यक्रम मे १७, २०२६ आइतबारका दिन आयोजना हुँदैछ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम इचिकावा क्षेत्रमा रहेको साकुरा सुत्सुमी पार्कमा हुने जनाइएको छ । कार्यक्रमस्थल इचिकावा स्टेशन साउथ एक्जिट नजिक पर्ने उल्लेख गरिएको छ ।
स्याङ्जा समाज जापानले विगतदेखि नै जापानमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउने, आपसी सद्भाव बढाउने तथा राहत कोष सहयोगार्थ विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै BBQ वनभोज कार्यक्रम गर्न लागिएको समाजका महासचिव सागर मणि न्यौपानेले जानकारी दिनुभयो ।
समाजले जापानमा रहेका स्याङ्जालीसहित सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई मनोरञ्जन, भेटघाट र आत्मीयता साटासाट गर्न आग्रह गरेको छ । स्याङ्जा पाल्पाको लोकल परिकार चुकाउनि लगायतका स्थानिय परिकार समेत आयोजकले खुवाउने भएको छ । कार्यक्रममा पारिवारिक वातावरणमा खानपिन, मनोरञ्जनात्मक गतिविधि तथा आपसी परिचय आदानप्रदानको अवसर रहने अपेक्षा गरिएको छ ।
समाजका वरिष्ठ उपाध्यक्ष दीपक न्यौपानेले कार्यक्रम सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सबैको उपस्थितिको लागि अनुरोध र निमन्त्रणा गर्नुभएको छ । कार्यक्रममा करिव ३ सय जनाको सहभागीता रहने अपेक्षा गरिएको न्यौपानेले जानकारी दिनुभयो ।