ओकिनावा, जापान ।
जापानको ओकिनावा प्रान्तमा एक २० वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा २५ वर्षीय एक नेपाली युवक पक्राउ परेका छन् । स्थानीय प्रहरीका अनुसार पक्राउ पर्ने युवक नाहा सहरमा बसोबास गर्दै आएका नेपाली विद्यार्थी हुन् ।
प्रहरी अनुसन्धान अनुसार उक्त घटना गत मार्च ६ तारिख बिहान १०:३५ देखि १०:५० बजेको बीचमा ओकिनावाको एक क्षेत्रमा भएको बताइएको छ। आरोपित युवकले युवतीमाथि जबरजस्ती तथा शारीरिक आक्रमण गर्दा ती महिलालाई सामान्य चोट समेत लागेको जनाइएको छ । घटनापछि पीडित पक्षका आफन्तले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। लामो अनुसन्धान र प्रमाण संकलनपछि प्रहरीले मे ११ तारिख युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।
ओकिनावा प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले पक्राउ परेका युवकले आरोप स्वीकार गरेका छन् वा छैनन् भन्ने विषयमा हालसम्म सार्वजनिक रूपमा केही खुलाएको छैन। जापानमा यस्ता संवेदनशील घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धान नसकिँदासम्म विस्तृत विवरण गोप्य राख्ने प्रचलन रहेको छ।
हाल जापानमा नेपाली समुदायको संख्या तीव्र रूपमा बढिरहेको बेला केही आपराधिक घटनाले सम्पूर्ण नेपाली समुदायमाथि नकारात्मक असर पार्ने भन्दै सामाजिक अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले जापानमा बसोबास गर्ने नेपालीहरूलाई स्थानीय कानून, सामाजिक अनुशासन र संस्कृतिको सम्मान गर्दै जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन्।
विशेषगरी नाहा सहित ओकिनावा क्षेत्रमा पछिल्ला वर्षहरूमा यौन हिंसासम्बन्धी घटनाहरूलाई लिएर सुरक्षा र कानूनी कारबाहीका विषय चर्चामा रहँदै आएका छन्। जापानी सञ्चारमाध्यमहरूमा प्रकाशित विभिन्न रिपोर्टहरूमा ओकिनावामा यौन अपराधसम्बन्धी घटनामा कडा अनुसन्धान र कानूनी प्रक्रिया अपनाइने उल्लेख गरिएको छ।