टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान तथा गोर्खा समाज जापानको संयुक्त आयोजनामा “नेपाल–जापान सम्बन्ध र परदेशी नेपाली एकता” विषयक विशेष कार्यक्रम ‘महासंवाद २०२६’ आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम आगामी मे १० तारिख आइतबार बेलुका ६ बजेदेखि राति ९ बजेसम्म टोकियोस्थित शिन्जुकु संस्कृति केन्द्र (新宿文化センター) मा सञ्चालन गरिनेछ । जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, नेपाल–जापान सम्बन्धको वर्तमान अवस्था तथा प्रवासी नेपालीहरूको भूमिका विषयमा खुला छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।
कार्यक्रममा नेपालका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराष्ट्रसंघीय सल्लाहकार डा. मदन कुमार भट्टराई विशेष वक्ताका रूपमा सहभागी हुनेछन् । त्यस्तै सञ्चारकर्मी तथा कार्यक्रम निर्देशक राजेन्द्र बानियाँले उक्त विशेष महासंवादमा भट्राईसँग संवाद गर्नुका साथै आफ्नो धारणा राख्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महासंवाद कार्यक्रममा नेपाल–जापानबीचको कूटनीतिक सम्बन्ध, आर्थिक तथा सांस्कृतिक सहकार्य, जापानमा रहेका नेपालीहरूको वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा गहन छलफल गरिने बताइएको छ । साथै प्रवासी नेपाली समुदायबीच सहकार्य र एकतालाई अझ मजबुत बनाउने विषयमा पनि अन्तरक्रिया हुने आयोजक पक्षले जनाएको छ ।
एनआरएनए एनसीसी जापान र गोर्खा समाज जापानले जापानमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थिति जनाउन हार्दिक अनुरोध गरेको छ । आयोजकका अनुसार कार्यक्रम नेपाली समुदायका लागि विचार आदान–प्रदान, अनुभव साझेदारी तथा सम्बन्ध विस्तारको महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।