टोकियो, जापान ।
जापानी सम्राट नारुहितोले यहाँको प्रटिष्ठित पदक ‘अर्डर अफ दि राइजिङ सन’ विभूषण नेपालका पूर्वपरराष्ट्र सचिव तथा जापानका लागि पूर्वराजदूत भट्टराईलाई प्रदान गर्नुभएको छ ।
मंगलबार टोकियोस्थित राजदरवार प्यालेसमा एक कार्यक्रमका बिच जापानी सम्राट नारुहितोले प्रतिष्ठित ‘अर्डर अफ दि राइजिङ सन’ विभूषण प्रदान गर्नुभएको हो । जापानी विदेश मन्त्रालयले ६ मेमा नेपाल–जापान सम्बन्धलाई सुदृढ बनाउन भट्टराईले पुर्याएको दीर्घकालीन र उल्लेखनीय योगदानको कदरस्वरूप यो सम्मान दिइएको जनाएको थियो ।
भट्टराई आफ्नो दुई दशक लामो कूटनीतिक यात्रामा नेपाल र जापानबीचको मित्रता, सहयोग र आपसी समझदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। विशेषगरी जापानका लागि नेपाली राजदूतको रूपमा कार्य गर्दासमेत उनले द्विपक्षीय व्यापार प्रवर्द्धन, विकास सहायता, शैक्षिक आदान–प्रदान र सांस्कृतिक सम्बन्ध सुदृढ पार्न गरेका प्रयास जापान र नेपालबीच सम्बन्ध संस्थागत रूपमा मजबुत बनाउन उनको भूमिका प्रभावकारी मानिन्छ।
उनको कूटनीतिक अनुभव केवल जापानमा मात्र सीमित थिएन। उनले अन्य विभिन्न मुलुकसँग नेपालको सम्बन्धलाई पनि सशक्त बनाउने दिशामा उल्लेखनीय नेतृत्व गरेका थिए। सन् २००१ देखि २००२ सम्म उनले परराष्ट्र सचिवको रूपमा नेपाल सरकारको विदेश नीति निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलेका थिए। त्यसपछि उनी बेलायती संयुक्त अधिराज्य ९युनाइटेड किंगडम० र फ्रान्समा समेत नेपालका राजदूत थिए।
‘अर्डर अफ दि राइजिङ सन’ जापानको सबैभन्दा पुरानो र प्रतिष्ठित राजकीय विभूषणमध्ये एक हो। यो विभूषण सन् १८७५ मा तत्कालीन सम्राट मेइजीद्वारा स्थापना गरिएको थियो। जापान सरकारको तर्फबाट प्रत्येक वर्ष वसन्त र शरद ऋतुमा ३० भन्दा बढी मुलुकका नागरिकलाई यो सम्मान प्रदान गरिन्छ। विज्ञान, शिक्षा, अनुसन्धान, स्वास्थ्य, संस्कृति, खेलकुद र समाज सेवाजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिन्छ।
यस वर्षको ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ अन्तर्गत नै अर्को नेपाली नागरिक सरस्वती चौलागाईं पनि ‘अर्डर अफ दि सेक्रेड ट्रेजर’बाट सम्मानित भएकी छन्। उनले जापानस्थित नेपाली समुदायमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएको जापानी सरकारले जनाएको छ।
यस सम्मानले नेपाल–जापान सम्बन्धमा योगदान दिने नेपाली व्यक्तित्वको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ भने दुई देशबीचको मित्रता अझ गहिरो हुँदै जाने संकेत पनि दिएको छ।
...
पूर्वपरराष्ट्र सचिव भट्टराईलाई जापानको ‘अर्डर अफ दि राइजिङ सन’ सम्मान, नेपाल–जापान सम्बन्धमा योगदानको कदर