टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानतथा गोरखा समाज जापानको संयुक्त आयोजनामा “नेपाल–जापान सम्बन्ध र परदेशी नेपाली एकता” विषयक महासंवाद २०२६ कार्यक्रम टोकियोमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ । मे १० मा आयोजित उक्त कार्यक्रममा जापानभर रहेका नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपाल र जापानबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कूटनीतिक सहकार्य, सांस्कृतिक आदानप्रदान, शिक्षा, श्रम, व्यवसाय तथा प्रवासी नेपाली समुदायको भूमिकाका विषयमा गम्भीर तथा सारगर्भित छलफल भएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल–जापान सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित नरही जनस्तरमा पनि थप मजबुत हुँदै गएको धारणा व्यक्त गरेका थिए।
महासंवादमा जापानस्थित नेपाली समुदायका बुद्धिजीवी, समाजसेवी, पत्रकार, व्यवसायी, युवा तथा महिला प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रममा विशेषगरी विदेशमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य, जिम्मेवारीबोध तथा राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउने विषयमा केन्द्रित बहस र विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता डा. मदन कुमार भट्टराईले नेपाल–जापान सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, कूटनीतिक आयाम, आर्थिक तथा शैक्षिक सहकार्यका सम्भावना र बदलिँदो विश्व परिवेशमा प्रवासी नेपालीहरूको भूमिकाबारे विस्तृत विश्लेषण प्रस्तुत गर्नुभएको थियो । उहाँले जापानमा रहेका नेपालीहरूले नेपालको छवि निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै भविष्यमा नेपाल–जापान सहकार्यका नयाँ आयामहरू खुल्ने विश्वास व्यक्त गर्नुभयो ।< /span>
त्यसैगरी वरिष्ठ सञ्चारकर्मी तथा कार्यक्रम निर्देशक राजेन्द्र बानियाँले प्रवासी नेपाली समुदायमा वैचारिक एकता, जिम्मेवार अभिव्यक्ति तथा सशक्त सञ्चार संस्कृतिको आवश्यकतामाथि जोड दिनुभयो । उहाँले विदेशमा रहेका नेपाली समुदायबीच सकारात्मक संवाद र सहकार्यको वातावरण निर्माण गर्न यस्ता कार्यक्रमहरू अत्यन्त प्रभावकारी हुने धारणा राख्नुभयो।
कार्यक्रमभर सौहार्दपूर्ण, बौद्धिक तथा मर्यादित वातावरण कायम रहनुका साथै सहभागीहरूबीच खुला अन्तरक्रिया र विचार आदानप्रदान भएको थियो ।
सहभागीहरूले यस्ता विमर्शमूलक कार्यक्रमहरूले विदेशमा रहेका नेपाली समुदायलाई भावनात्मक, सामाजिक तथा राष्ट्रिय रूपमा अझ नजिक ल्याउने विश्वास व्यक्त गरेका थिए ।
आयोजक संस्था एनआरएनए जापान तथा गोरखा समाज जापानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथिवर्ग, वक्ता, पत्रकार, स्वयंसेवक, सहयोगी संस्था तथा सहभागीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि नेपाल–जापान सम्बन्ध, प्रवासी नेपाली समुदायको एकता तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर यस्ता उच्चस्तरीय संवाद तथा बौद्धिक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।