टोकियो, जापान ।
सुदूरपश्चिमेली नेपाली समाज जापानले जापानमा निधन भएका नेपाली नागरिकको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको अपिल गरेको छ ।
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला घर भई हाल जापानको टोकियोमा बसोबास गर्दै आएका रमेश बहादुर चन्दको दिमागको नसासम्बन्धी समस्या देखिएपछि अस्पताल लैजाने क्रममा हृदयघातका कारण दुःखद निधन भएको समाजले जनाएको छ ।
समाजका अनुसार चन्द करिब १८ महिना अघि पारिवारिक भिसामा जापान आएका थिए । उनी टोकियोको अदाची सिटी क्षेत्रमा श्रीमतीसँग बस्दै आएका थिए। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ।
यस घटनापछि परिवार शोकमा डुबेको छ भने पार्थिव शरीर नेपाल पठाउन तथा अन्तिम संस्कार व्यवस्थापनका लागि आर्थिक कठिनाइ उत्पन्न भएको जनाइएको छ। मृतकका परिवारजनको अनुरोध अनुसार सुदूरपश्चिमेली नेपाली समाज जापानले सहयोग संकलन अभियान सुरु गरेको हो ।
समाजले जापानमा रहेका सम्पूर्ण नेपाली संघसंस्था, सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरू साथै विश्वभर रहेका नेपाली समुदायलाई सहयोग गर्न हार्दिक अपिल गरेको छ। सहयोग अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ।
समाजका पदाधिकारीहरूले “विदेशमा नेपालीले भोग्नुपर्ने कठिन परिस्थितिमा एकअर्काको साथ र सहयोग अत्यन्त आवश्यक हुने” भन्दै मानवीय सहयोगका लागि सबैलाई अनुरोध गरेका छन्। उनीहरूले संकलित रकम पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया तथा मृतककी श्रीमतीलाई आवश्यक सहयोगका लागि प्रयोग गरिने बताएका छन्।
सहयोगका लागि जापान पोस्ट बैंकमा रहेको सुदूरपश्चिमेली समाज जापानको खातामा रकम जम्मा गर्न सकिने जानकारी दिइएको छ।
सहयोगका लागि जापान पोस्ट बैंक:
बैंक नं.: 10100-91282921
खातावालाको नाम:
パル ワイスタン ネパール ソサイティ ジャパン